टोकियो (जापान) । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नेता सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् ।
प्रधानमन्त्री चयन गर्न सोमवार बोलाइएको संसद्को विशेष अधिवेशनअन्तर्गत भएको मतदानमा उनले कन्स्टिच्युसन डेमोक्र्याटिक पार्टी (सीडीपी)का योशिहिको नोडालाई पराजित गरे । उक्त मतदानमा इशिबाले २२१ मत पाए भने नोडाले १६० मत ल्याए ।
प्रधानमन्त्री बन्नका लागि कुनै पनि नेताले संसद्मा आवश्यक समर्थन पाउन नसकेपछि विशेष अधिवेशनबाट प्रधानमन्त्री चयन गरिएको हो ।
यही कात्तिक ११ गते भएको चुनावमा एलडीपी र कोमेइटोको गठबन्धनले २१५ सिट मात्रै जितेको छ, जुन संसदको बहुमतभन्दा १८ सिट कम हो । ४६५ सदस्यीय संसद्मा बहुमतका लागि २३३ सिट आवश्यक पर्छ । गत निर्वाचनमा भने एलडीपी एक्लैले २४७ सिट जितेको थियो । यो चुनावमा सीडीपीले भने १४८ सिट जितेको छ ।
सन् २०२१ देखि प्रधानमन्त्री रहेका फुमियो किशिदाले गत अगष्टमा राजीनामा दिने निर्णय गरेपछि एलडीपीले इशिबालाई प्रधानमन्त्रीको जिम्मेवारी दिएको थियो । त्यसको केही दिनमै संसदको तल्लो सदनको चुनाव भएको हो । एजेन्सीको सहयोगमा