टोकियो (जापान) । जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) नेतृत्वको गठबन्धनले संसद्मा आफ्नो बहुमत गुमाएको छ।
सत्ता गठबन्धन दल एलडीपी र कोमेइटोले आइतवार सम्पन्न आमचुनावमा २१५ सिट जितेका छन्, जुन संसदको बहुमतभन्दा १८ सिट कम हो । ४६५ सदस्यीय तल्लो सदनमा बहुमतका लागि २३३ सिट आवश्यक पर्छ । गत निर्वाचनमा भने एलडीपी एक्लैले २४७ सिट जितेको थियो ।
चुनावी परिणाम आएपछि प्रधानमन्त्रीसमेत रहेका एलडीपीका नवनियुक्त नेता शिगेरु इशिबाले राष्ट्रिय प्रसारण संस्था एनएचकेसँग भनेका छन्, ‘मतदाताले हामीलाई कठोर फैसला दिएका छन् । र, हामीले यो नतिजालाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ ।’
उनले अहिले नै गठबन्धन विस्तार गर्ने कुनै योजना नरहेको बताए । प्रधानमन्त्रीका रूपमा शपथ लिनुभन्दा केही दिनअघि नै चुनाव घोषणा गरेका इशिबाले एलडीपीले संसदीय बहुमत गुमाए पनि पदमै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चुनावअघि जापानी सञ्चारमाध्यमले एलडीपीले संसदीय बहुमत गुमाएमा इशिबाले पद छोड्न सक्ने र युद्धपछिको समयमा जापानको सबैभन्दा छोटो प्रधानमन्त्री बन्ने बताएका थिए ।
सन् २००९ पछि एलडीपीले संसदीय बहुमत गुमाएको यो पहिलो पटक हो । सन् १९५५ मा स्थापना भएदेखि नै यो पार्टीले लगभग निरन्तर शासन गर्दै आएको छ ।
संसदको सबैभन्दा ठूलो विपक्षी दल कन्स्टिच्युसन डेमोक्र्याटिक पार्टी (सीडीपी)ले १४८ सिट (दिउँसो २ बजेसम्मको मतपरिणाम अनुसार) जितेको एनएचकेले जनाएको छ ।
सीडीपीका नेता योशिहिको नोडाले सोमवार अन्य दलसँग मिलेर काम गर्ने योजना रहेको बताएका छन् ।
सन् २०२१ देखि प्रधानमन्त्री रहेका फुमियो किशिदाले गत अगष्टमा राजीनामा दिने निर्णय गरेपछि एलडीपीले इशिबालाई प्रधानमन्त्रीको जिम्मेवारी दिएको थियो ।
एलडीपीले जनतामाझ आफ्नो बिग्रिएको छवि पुनःस्थापित गर्न आतुर रहेको बेला चुनावको घोषणा गर्ने कदम चालेको हो । तर, चुनावी परिणामले एलडीपीको साख घटाएको देखाएको छ । यसको कारण हो- पार्टीका शृङ्खलाबद्ध काण्ड । यसमा प्रमुख विवादास्पद युनिफिकेसन चर्चसँग पार्टीको सम्बन्ध हुनु हो ।
पार्टीको साखमा आँच पुर्याउने अर्काे काण्ड हो, सांसदहरूमाथि लागेको राजनीतिक चन्दा भ्रष्टाचार काण्ड । एलडीपीका दर्जनौं सांसदहरूमाथि राजनीतिक चन्दा संकलन कार्यक्रमबाट प्राप्त रकम हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
यीबाहेक सत्तारुढ दलप्रति जनताको निराशाका कारण चुनावमा एलडीपीको सिट घटेको जानकार बताउँछन् । पछिल्लो दुई वर्षमा तीव्र स्तरमा मूल्यवृद्धि हुनु, तीन दशकदेखि ज्यालामा परिवर्तन नआउनुलगायत कारणले सत्तारुढ दलप्रति जनतामा निराशा छाएको जानकारको भनाइ छ ।
यो महीना जापानमा खाद्य पदार्थका साथै फार्मास्युटिकल्स, बिजुली र ग्याँस जस्ता दैनिक उपभोग्य वस्तुहरूको मूल्य वृद्धि भएको छ । काम गरेर गुजारा चलाउनेहरूले मूल्य वृद्धि अनुसार ज्याला नबढेको गुनासो गर्छन् ।
पेन्सनर ची शिमिजुलाई अहिले गुजारा चलाउन पार्ट टाइम काम गनुपर्ने बाध्यता छ । ‘हाम्रो प्रतिघण्टाको ज्याला केही बढेको छ । तर, यो मूल्यसँग मेल खाँदैन,’ उरावा स्टेसनको स्ट्यान्डबाट केही खानेकुरा टिप्दै उनले बीबीसीलाई भनिन्, ‘म यस्ता ठाउँहरूमा सस्तो र राम्रो कुरा खोज्न आउँछु किनभने अन्य स्थानका पसलहरूमा सबै कुरा महँगो हुन्छ ।’ बीबीसी
जापानमा आमचुनाव : मतदान सम्पन्न, सत्तारुढ गठबन्धनले बहुमत गुमाउने प्रक्षेपण !