काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक स्थिर भएर बन्द भएको छ । दिनभरको उतारचढावपछि अन्तिम प्रहरमा नेप्से झिनो अंकले बढेको हो ।
यस दिन नेप्से परिसूचक शून्य दशमलव ०७ अंक बढेर १ हजार ९८० दशमलव ३४ विन्दुमा कायम भएको हो । आइतवार भने नेप्से १४ दशमलव ३३ अंक बढेको थियो ।
लगानी नीति सहज बनाउन सरकारले अध्यादेशमार्फत कानून संशोधन गरेको खबर सार्वजनिक हुँदा बजारमा पनि उत्साह देखिएको अनुमान छ ।
बजारमा लगानीकर्ताको मनोबल बढाउन नीतिगत परिवर्तनबाहेक अरु विकल्प नदेखिएको जानकार बताउँछन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा पनि हुँदैछ । समीक्षामार्फत राष्ट्र बैंकले सुधारका कदम अघि बढाउने लगानीकर्ताले अपेक्षा गरेका छन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३२ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ११ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५७ प्रतिशत वृद्धि भएको छ ।
३१७ धितोपत्रको ७३ लाख ४१ हजार १ सय ७७ कित्ता शेयर ४६ हजार ५११ पटकमा रू. २ अर्ब ९५ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । पोखरा फाइनान्स र जानकी फाइनान्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । पोखरा फाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ७३१ दशमलव ५० र जानकी फाइनान्सको रू.५१७ पुगेको छ । त्यस्तै नेपाल फाइनान्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. ५३८ दशमलव ७० पुगेको हो ।
सोमवार सबैभन्दा बढी पिपुल्स पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६२९ दशमलव ८० कायम भएको छ । त्यस्तै दोस्रोमा इष्टर्न हाइड्रोपावरको शेयर मूल्य ३ दशमलव ८१ प्रतिशत घटेर रू. ४५२ दशमलव १० मा झरेको हो ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा पोखरा फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १७ करोड ५४ लाख बराबरको कारोबार भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नेपाल फाइनान्सको रू. १४ करोड ७० लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ४ दशमलव १७ प्रतिशत वृद्धि भएको छ । यस समूहका अधिकांश कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएसँगै समूहगत सूचक बढेको हो । त्यस्तै विकास बैंक समूहको सूचक १ दशमलव ६६ प्रतिशत वृद्धि भएको छ ।