काठमाडौं । उपत्यकामा सोमवार साँझबाट झरी निरन्तर परिरहेको छ । मंगलवार साँझसम्म पनि वर्षा रोकिएको छैन ।
वर्षा परेपछि सडकमा यात्रुहरू छाता ओढेर वा रेनकोट लगाएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् ।
झरीका बेला उपत्यकाका सडकमा सवारीसाधनको जाम हुने गरेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खाल्डाखुल्डी भएका सडकमा वर्षाको पानी जम्न थालेपछि सवारी आवागमनमा समस्या हुने गरेको छ, जसका कारण यो बेला ट्राफिक जाम हुने गरेको ट्राफिक प्रहरी बताउँछन् ।
वर्षाको पानी निकास गर्ने ठाउँ नहुँदा खाल्डाखुल्डी परेका सडकमा पानी जम्ने गरेको छ । सिंहदरबार, माइतीघर, थापाथली, गोङ्गबु, लैनचौर, कोटेश्वर, चक्रपथलगायत क्षेत्रमा ठूलो वर्षाका बेला ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको ट्राफिक प्रहरी बताउँछन् ।उक्त समस्या कार्यालय समयमा बढी हुने गरेको उनीहरूको भनाइ छ ।