काठमाडौ । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा जीवन बीमा कम्पनीहरूको व्यवसाय करीब १० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सो वर्ष जीवन बीमा कम्पनीहरूले १ करोड ३७ लाख ७४ हजार बीमालेख विक्री/नवीकरणबाट १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ९ दशमलव ८२ प्रतिशतले बढी हो । आव २०७९/८० मा उनीहरूले १ करोड ४१ लाख ३७ हजार बीमालेख विक्री/नवीकरणबाट १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क उठाएका थिए ।
कम्पनीहरूको व्यवसाय विस्तारमा बीमालेख नवीकरणको अंश उल्लेख्य छ । गत आवमा उनीहरूले १ खर्ब २१ अर्ब बीमाशुल्क बीमालेख नवीकरणबाट मात्र उठाएका छन् । उनीहरूको पहिलो बीमाशुल्क संकलन भने ३४ अर्ब ३४ करोड छ । अघिल्लो वर्ष उनीहरूले १ खर्ब ११ अर्ब बीमालेख नवीकरणबाट र पहिलो बीमाशुल्क ३१ अर्ब २३ करोड रुपैयाँ उठाएका थिए ।
बीमाशुल्क संकलनका आधारमा नेपाल लाइफ इस्योरेन्स कम्पनी अगाडि छ । यसले अघिल्लो आव २०७९/८० मा ३७ अर्ब १७ करोड बीमाशुल्क संकलन गरेकोमा गतवर्ष ४० अर्ब ८५ करोड रुपैयाँ उठाएको छ । यसैगरी गत आवमा सबैभन्दा कम सन नेपाल लाइफ इस्योरेन्सले ३ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क उठाएको छ । आव २०७९/८० मा सन नेपालको बीमाशुल्क संकलन ३ अर्ब ७८ करोड रुपैयाँ थियो ।
लघु जीवन बीमा कम्पनीको समेत जोड्दा गत वर्ष कुल बीमाशुल्क संकलन अघिल्लो वर्षको तुलनामा ९ दशमलव ९४ प्रतिशतले बढेको छ । लघु जीवन बीमा कम्पनीसमेतको जोड्दा अघिल्लो आवमा १ खर्ब ४२ अर्ब ३५ करोड बीमाशुल्क संकलन भएकोमा गत वर्ष बढेर १ खर्ब ५६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।
लघुबीमा कम्पनीमध्ये सबैभन्दा बढी बीमाशुल्क संकलन क्रेष्ट माइक्रो लाइफको छ । क्रेष्टले गत आवसम्ममा ५८ हजार ८६६ बीमालेख विक्रीबाट ९ अर्ब ७६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
जीवन बीमक संघ, नेपालका अध्यक्ष तथा सिटिजस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव बीमा कम्पनीहरूको व्यवसायमा पनि परेकाले गत आवमा व्यवसाय वृद्धि सामान्य भएको बताउँछन् ।
‘आर्थिक गतिविधि बढेमा सर्वसाधारणको आम्दानी वृद्धि भई बीमा कम्पनीहरूको व्यवसाय पनि विस्तार हुन्छ,’ उनले भने, ‘आर्थिक गतिविधि मन्द भएका बेला अहिलेको विस्तारलाई पनि राम्रो मान्नुपर्छ ।’ आर्थिक मन्दीका कारण बीमालेखको समर्पण दर बढेको र यसबाट कम्पनीहरूको व्यवसाय विस्तारमा प्रभाव परेको उनको भनाइ छ ।