आज विश्वमा जलवायु परिवर्तन मुख्य समस्याका रूपमा आइरहेको छ । विकसित देशको विकासका नाममा तीव्र विनाशले हाम्रो जस्ता साना मुलुकसमेत यसको चपेटामा परिरहेका छन् । हिमपहिरो, पानीको मुहान सुक्दै जाने, अल्पवृष्टि, अनावृष्टि, खडेरी, जमीनको मरुभूमीकरण, बाढीपहिरो, विनाशकारी एवम् बेमौसमी आँधी र बाढी आउने, नदीनालाको सतह घटबढ हुँदै जाने आदि वातावरण विनाशबाट उत्पन्न परिणाम हुन् ।
मलिलो उर्वर खेतीबाली घडेरीको मोहमा कंक्रिटको जंगल भई कृषियोग्य जमीन नाश भएको छ । यसको उदाहरणका रूपमा मध्यपुर ठिमीको प्रसिद्ध तरकारी तथा धानखेती क्षेत्र मनोहरा फाँटलाई लिन सकिन्छ ।
इन्टरनेशनल फेडरेशन अफ रेड क्रश र रेड क्रिसेन्ट सोसाइटी मातहतमा रहेको क्लाइमेट सेन्टरले गरेको अध्ययन प्रतिवेदनको निचोडअनुसार जलवायु परिवर्तनका कारण विश्वमा कम्तीमा ५ करोड १६ लाख मानिस प्रभावित भएका छन् । उक्त प्रतिवेदनमा उल्लेख गरेअनुसार सन् २०२० पछिमात्र जलवायु परिवर्तनका कारण हालसम्म १३२ ओटा बाढी, पहिरो, समुद्री आँधी, खडेरी र बेमौसमी प्रकोपजस्ता घटना भएका छन् । भारत र बंगलादेश सबैभन्दा बढी प्रभावित भएका छन् । विश्वका आठ औद्योगिक तथा विकसित देशहरू जसलाई ‘जी एट’ पनि भनिन्छ तिनले वायुप्रदूषण तथा फोहोरजन्य उत्पादनमा झन्डै ८१ प्रतिशत अंश ओगट्छन् । विश्व बैंकद्वारा कात्तिक १४ गते सार्वजनिक नेपाल डेभलपमेन्टले जलवायु परिवर्तनका कारण नेपाली अर्थतन्त्रका कृषि, पूर्वाधार, संरचना तथा श्रम उत्पादकत्व क्षेत्र प्रभावित हुने बताएको छ । जलवायु परिवर्तनका कारण कृषिक्षेत्रमा पर्ने प्रभाव स्वरूप सन् २०३० अर्थात् १ दशकभन्दा कमको अवधिमा कुल आर्थिक वृद्धिदर शून्य दशमलव ७ देखि शून्य दशमलव ८ प्रतिशतले संकुचन आउनेछ । यो दु:खको कुरा हो । यो प्रतिवेदनमा आगामी ५० वर्षमा तापमानमा १ दशमलव ५ प्रतिशतले वृद्धि हुँदा पनि ५ प्रतिशत भौतिक पूर्वाधारका संरचना नष्ट हुने उल्लेख गरिएकोे छ । विश्व बैंकको प्रतिवेदनले आंैल्याएको महत्त्वपूर्ण विषय नेपालको जलविद्युत्को सम्भावना हो । बैंकले जलविद्युत् उत्पादनलाई बढावा दिई त्यसको खपत सकेसम्म स्वदेशमै गरेर नेपाली अर्थतन्त्रलाई बहुआयामिक सुधार गर्न सहायक सिद्ध हुने तथ्य आंैल्याएको छ । यस विषयलाई कार्यान्वयन गर्नेतर्फ सम्बद्ध पक्ष लाग्नुपर्छ ।
वातावरण संरक्षण हावा, पानी, माटो आदि जैविक वस्तुहरूको अस्तित्वका लागि अति आवश्यक हुन्छ । यी जैविक वस्तुमा भएको वातावरण विनाशको मात्राले पनि बृहत् प्रभाव पार्छ । मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्छ । मानिसको अस्तित्वका लागि वन, जंगल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । मानिसले आफ्नो अस्तित्वका लागि प्रकृतिबाट धेरै वस्तु ग्रहण गर्छ, जुन वातावरणीय विकासबाट ग्रहण गर्नु राम्रो हुन्छ न कि वातावरणीय विनाशबाट ।
प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी आउँदो पुस्तालाई यो प्राकृतिक छटा जस्ताको त्यस्तै हस्तान्तरण गर्नु आजको आवश्यकता हो । खडेरी दिगो विकासका लागि सबैभन्दा ठूलो खतरा हो । सन् २०५० सम्ममा यसले विश्वको तीन चौथाइ जनसंख्यालाई असर गर्न सक्छ भन्ने अध्ययनले देखाएको छ । अघिल्लो २ दशकको तुलनामा २००० यता खडेरीको संख्या र अवधि २९ प्रतिशतले बढेको छ । विश्वभरि २ दशमलव ३ बिलियनभन्दा बढी मानिस पानीको संकटमा हुन्छन् । यो डरलाग्दो विपद् हो ।
प्राकृतिक विनाशका कारण मौसम परिवर्तन र भूमिमा उत्पादन घट्न गई जमीन मरुभूमिमा परिणत हुन्छ र यसले गरिबी बढाउँछ । प्राकृतिक स्रोत दोहनका कारण विश्व मानचित्रमा सबै देश ढिलोचाँडो खडेरी र मरुभूमीकरणकोे जोखिममा छन् भने हाम्रो देश पनि प्राकृतिक स्रोतको अविवेकी उत्खननले अझै जोखिममा छ । मलिलो उर्वर खेतीबाली कंक्रिटको जंगल भई घडेरीको मोहमा कृषियोग्य जमीन नाश भएको छ । यसको उदाहरणका रूपमा मध्यपुर ठिमीको प्रसिद्ध तरकारी तथा धानखेती क्षेत्र मनोहरा फाँटलाई लिन सकिन्छ ।
भूमिको वास्तविक प्रयोग कृषि उपज उत्पादन गर्नु हो । नेपाल एक कृषि प्रधान देश हो । यहाँ जैविक विविधता एवम् प्राकृतिक छटाहरूको उद्गमस्थल रहेको छ । समुद्री सतहबाट ६० मिटरदेखि सर्वोच्च उचाइमा अवस्थित हाम्रो देश साँच्चै गर्व गर्नलायक छ । ६६ प्रतिशत जनसंख्या पूर्णरूपमा कृषिमा निर्भर रहेको छ । देशको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान करीब ३३ दशमलव ६ प्रतिशत रहेको मानिन्छ ।
विश्व मानचित्रमा भूमाफिया र रियल इस्टेट व्यापारको वृद्धिसँगै भूमिमाथिको गलत व्याख्याले विश्वभरमा ८१ करोडभन्दा बढी मान्छे खाद्यान्न संकटमा छन् । हाम्रो देश नेपालमा २ दशकमा अनुचित भूमि प्रयोग तथा प्राकृतिक स्रोत उत्खननले कृषिमा कमी, पानीको संकट र प्लटिङ गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने, जग्गामा बाटो, नदीनाला तथा पोखरी, ताल, रमणीय प्राकृतिक स्रोत एवं अन्न उत्पादन हुने उर्वरा भूमिको बली चढाएका छौं । अत: प्राकृतिक स्रोत विनाश नहुनेगरी भूउपयोग गर्नुपर्छ । माटोलाई खनीखोस्री कृषि कर्मका लागि खाद्य उत्पादनमा ध्यान दिनुका साथै मरुभूमि होइन, हरियाली बनाउने वातावरणको आवश्यकता छ ।
जहाँ प्राकृतिक स्रोत संरक्षण हुन्छ, त्यहाँ कृषि उपज भई सबैको आर्थिक स्थिति सबल हुन्छ । त्यसैले प्राकृतिक स्रोत संरक्षण गरी खडेरी तथा मरुभूमि हुन रोक्नु आजको आवश्यकता हो । नेपालको सन्दर्भमा यस कार्यका लागि स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ । यसै सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसी) का पक्षराष्ट्रको २७औं सम्मेलन (कोप–२७) यही कात्तिक २० देखि मङ्सिर २ सम्म इजिप्टको सार्म एल सेख शहरमा हुँदै छ । उक्त सम्मेलनमा नेपालबाट मन्त्रिस्तरीय प्रतिनिधिमण्डलले भाग लिने बताइएको छ । नेपालले यसपटक जलवायु परिवर्तनबाट भएका हानि नोक्सानी, जलवायु वित्त, जलवायु अनुकूलनजस्ता विषय प्रस्तुत गर्ने जानकारी पाइएको छ । जलवायु परिवर्तन अहिलेको वैश्विक रूपमै पेचिलो विषय भएकाले बहुक्षेत्रगत तहमा समन्वय, सहकार्य र सहभागिताले मात्रै यसले निम्त्याउने समस्यासँग जुध्न सहयोग पुग्ने भएकाले कोप–२७ मा जलवायु परिवर्तनबाट नेपालमा परेको असरलाई आकलन गरी प्रस्तुत हुन आवश्यक छ ।
डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।