वर्षासँगै आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति हुँदा १ हजार १०० मेगावाट विद्युत् उत्पादन रोकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार बाढीपहिरोका कारण अधिकांश विद्युत् गृहको उत्पादन बन्द भएको छ भने ११ ओटा सञ्चालनमा रहेका र १५ ओटा निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति भएको छ ।
तीमध्ये सञ्चालनमा रहेका जलविद्युत् आयोजनाको कुल जडित विद्युत् क्षमता ६२५.९६ मेगावाट छ भने निर्माणाधीन आयोजनाको कुल जडितक्षमता १ हजार १०.२९ मेगावाट छ । गतवर्ष पनि बाढीपहिरोबाट दर्जनौं जलविद्युत् आयोजनामा क्षति पुगेको थियो । संख्या केही घटीबढी मात्र हो, हरेक वर्ष जलविद्युत् आयोजनामा क्षति पुग्ने गरेको पाइन्छ । यसले नेपालका जलविद्युत् आयोजनालाई दिगो बनाउन नयाँ रणनीति लिन आवश्यक देखिएको छ भने यस सम्बन्धमा बेग्लै अनुसन्धान पनि गराउनुपर्ने देखिएको छ ।
निजीक्षेत्रको लगानी पहिला सानासाना खोलामा सीमित थियो । निजीक्षेत्रको आत्मविश्वास र क्षमता बढेसँगै ठूला हिमनदीमा समेत निजीक्षेत्रले आयोजना बनाउन थालेको छ । सरकारले पनि आफ्नै लगानीमा ठूला आयोजना बनाएको छ । अहिले सुक्खा मौसममा बाहेक अन्य समयमा विद्युत् निकासी गर्न सक्ने अवस्थामा नेपाल पुगेको छ जुन गर्व गर्नलायक विषय नै हो । विगतमा १८घण्टासम्म लोडशेडिङ भोग्नु परेको तीतो यथार्थ पनि बिर्सनु हुँदैन ।
अहिले सरकारले भन्दा निजी क्षेत्रले बढी बिजुली निकाल्न थालेको छ । त्यही भएर माग र आपूर्तिको सन्तुलन मिलाउन सकिएको छ । अपुग बिजुली भारतबाट आयात गर्ने गरिएको छ । मुलुकभित्र पनि विद्युत् खपत दिनप्रतिदिन बढ्दो छ । नदीप्रवाही मात्र होइन, जलाशययुक्त आयोजना पनि आफै बनाउने प्रक्रियामा नेपाल लागेको छ । तर, यो प्रगतिमा हरेक वर्ष आउने बाढीपहिरो एउटा ठूलो चुनौती बन्ने गरेको छ ।
जलवायु परिवर्तनका कारण अहिले वर्षाको प्याटर्न परिवर्तन भइरहेको छ । यद्यपि प्रविधिको विकासका कारण तुलनात्मक रूपमा बढी सही भविष्यवाणी गर्न सकिने अवस्था आएको छ । अघिल्लो वर्ष हिमाली क्षेत्रमा बढी विनाशकारी बाढी आयो जसले गर्दा विद्युत् आयोजनाहरूमा बढी क्षति पुर्यायो ।
यसपटकको वर्षा अलिक फरक खालको आएको छ । यसले पनि विद्युत् आयोजनाहरूमा क्षति पुर्याएको छ । प्रारम्भिक अनुमानअनुसार यस वर्ष रु. साढे दुई अर्बको क्षति भएको छ । गतवर्ष ३० आयोजनामा क्षति पुगेको थियो भने झन्डै ८ अर्ब रुपैयाँ बराबरको नोक्सान भएको थियो । यसरी क्षति हुन थालेपछि लगानीकर्ताहरू लगानी गर्न हिचकिचाउनु स्वाभाविक हो । यद्यपि आयोजनाहरूको बीमा गरिएकाले लगानीकर्तालाई केही राहत भने हुने गरेको छ । ऊर्जा व्यवसायीहरूले गतवर्षदेखि बाढीपहिरोबाट क्षति पुगेका आयोजनाहरूको मर्मतका लागि आयात गरिएको सामानमा भन्सार छूटलगायत सुविधाको माग गरेका थिए । ती मागको सुनुवाइ भएको छैन र अहिले थप आयोजनामा क्षति पुगेको छ ।
त्यसैले नेपालको भौगोलिक अवस्थितिअनुसार जलविद्युत् आयोजा निर्माणमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । जलविद्युत्बाट समृद्धि देखिरहेको सन्दर्भमा यसको भविष्य सुनिश्चित गर्न कसरी आयोजनाहरूमा क्षति पुग्न नदिने भन्ने विषयमा विशेष अनुसन्धान गर्नु आवश्यक छ । यसै पनि नेपालमा यस्ता विषयका लागि अनुसन्धान गर्ने संस्थाहरू छैनन् । अन्य देशको अभ्यास हेर्ने हो भने पुल, बाँधजस्ता पूर्वाधारको अनुसन्धानका लागि अलग निकाय भएको पनि पाइन्छ । ती निकायले यस्ता विषयमा विशेष अध्यापन पनि गराएको पाइन्छ जुन नेपालमा छैन भन्दा पनि हुन्छ । जलविद्युत् विषयमा पढाइ भए पनि नेपालको भौगोलिक अवस्थाको अनुसन्धान गरी कसरी आयोजनाहरूलाई सुरक्षित पार्न सकिन्छ भन्नेमा यस्ता संस्थाले काम गरेको पाइँदैन ।
त्यसैले जलविद्युत् आयोजनालाई दिगो बनाउन र बाढीपहिरोजस्ता प्राकृतिक विपत्बाट जोगाउन थप अध्ययन अनुसन्धान अपेक्षित छ । साथै भारतका केही प्रान्तको भौगोलिक बनोट समान खालको भएकाले उससँग अनुभव साटासाट गर्ने र संयुक्त रूपमा अनुसन्धान गर्ने काम पनि गर्न सकिन्छ ।