जेठको अन्तिम साता तमोर इनर्जी प्रालिले २८५ मेगावाट क्षमताको माथिल्लो तमोर अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा लगानी जुटायो । नेपाली निजीक्षेत्रका लगानीकर्ताले स्वदेशी पूँजी जुटाएर यो परियोजना बनाउन लागेका हुन् । यो निजीक्षेत्रले बनाउन लागेको ठूलामध्येको परियोजना हो । कुनै बेला सरकारी कम्पनीले विदेशी ऋण लगानीमा मात्रै जलविद्युत् आयोजना बनाउने गरेकामा अहिले निजीक्षेत्रले नै यति ठूला परियोजना बनाउन आँट्नु भनेको निजीक्षेत्रको अनुभव र आत्मविश्वास बढ्नु हो । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार अहिले कुल ऊर्जा माग ५० हजार २१९ मेगावाट आवर रहेको छ जसमा २७ हजार २८६ मेगावाट आवर निजीक्षेत्रले आपूर्ति गरिरहेको छ । प्राधिकरणले ८ हजार ५८९ र उसअन्तर्गतका कम्पनीले १२ हजार ९२४ मेगावाट आवर आपूर्ति गरिरहेका छन् । त्यसैले अहिले सरकारी कम्पनीले भन्दा बढी निजीक्षेत्रले विद्युत् उत्पादन गरिरहेका छन् । सरकारले विद्युत् उत्पादन थालेको सय वर्ष नाघिसकेको छ भने निजीक्षेत्र यसमा लागेको करीब ३ दशकमात्रै भएको छ । यति छोटो अवधिमा निजीक्षेत्रले यति ठूलो प्रगति गर्न सकेकै कारण आज नेपालमा लोडशेडिङ हट्न सम्भव भएको हो । यद्यपि अझै सुक्खायाममा भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्याता भने अझै छ ।
यति ठूला परियोजना बनाउन निजीक्षेत्रको आत्मविश्वास अकस्मात् पलाएको होइन । पहिला केही किलोवाटको जलविद्युत् आयोजना बनाउन थालेर बिस्तारै निजीक्षेत्रले साना साना परियोजना बनाउन शुरू गरेको हो । स्वदेशी लगानीमा बनेको सबैभन्दा ठूलो माथिल्लो तामाकोशी आयोजना (४५६ मेगावाट) हो । अहिले तीभन्दा ठूला परियोजना पनि स्वदेशी लगानीमा बन्ने क्रममा छन् । निजीक्षेत्रले पनि ठूलाठूला परियोजनामा लगानी गर्न थालेको छ । बैंकहरूले सहवित्तीयकरणका माध्यमबाट जलविद्युत् क्षेत्रमा अर्बौं अर्ब लगानी गरिरहेका छन् । जलविद्युत्मा गरिने लगानी दीर्घकालीन प्रकृतिको हुन्छ । त्यसो हुँदा बैंकहरू यसमा लगानी गर्न हिचकिचाएका देखिन्छन् । राष्ट्र बैंकले कुल कर्जाको निश्चित प्रतिशत जलविद्युत्मा लगानी गर्न अनिवार्य गरेपछि यस क्षेत्रमा लगानी बढेको हो ।
सरकारले निजीक्षेत्रलाई उत्पादनमात्र होइन, प्रसारण लाइन र विक्रीवितरणको काम पनि दिनु आवश्यक छ । निजी कम्पनीहरूलाई भारतमा विद्युत् विक्री गर्ने बाटो खुला गरिदिनुपर्छ ।
एकातिर बैंकहरूमा तरलता फालाफाल छ भने अर्कातिर नेपालमा जलविद्युत्का सयौं आयोजना निर्माणको पर्खाइमा छन् । विदेशी प्रविधि ल्याएर स्वदेशी पूँजीबाट यी आयोजना निर्माण गर्न सकिन्छ । तर, जलविद्युत्को विकासमा अहिले प्राधिकरण नै अवरोध बनेको छ । उसले आयोजनाको अध्ययन गरेका कम्पनीहरूसँग विद्युत् खरीद सम्झौता (पीपीए) गर्न आनाकानी गरिरहेको छ । कहिले ‘पे अर टेक’ को नीति लिएको छ भने ‘टेक एन्ड पे’ नीति लिइरहेको छ । पछिल्लो समय बजारको सुनिश्चिता नभएको भनेर पीपीए गर्न मानेको छैन । पीपीए नभई बैंकले लगानी गर्दैनन् । अनि वित्तीय व्यवस्थापन गर्न नसकेको भनेर अनुमतिपत्र नै रद्द गरिदिने पनि गरेको छ । विनाबजार पीपीए गर्दा प्राधिकरण डुब्नसक्ने सम्भावना त रहन्छ । तर, भारत निर्यातका साथै स्वदेशमै विद्युत् खपत बढाउन निर्णायक कदम आवश्यक देखिन्छ । विद्युत चार्जिङ स्टेशनको विस्तार, भान्साका खाना पकाउने ग्यासको सट्टा विद्युुतीय चूल्होको प्रयोग र उद्योगलाई सहज विद्युत् उपलब्धता आवश्यक देखिन्छ । त्यसो भए विद्युत् प्राधिकरण पनि पीपीए गर्नबाट पछि नहट्ला ।
प्राधिकरणले बलियो प्रसारण लाइन बनाउन नसक्दा झ्याप्पझ्याप्प बत्ती जानेको गरेको छ । केन्द्रीय प्रसारण लाइनसँग जोडिने प्रसारण लाइन बनाउन नसक्दा उत्पादन भएको बिजुली खेरसमेत गइरहेको छ । ठूलो परिमाणमा बिजुली खपत गर्ने सिमेन्ट, आइरन रडजस्ता उद्योगमा प्राधिकरणले भारतलाई बेचेको भन्दा निकै बढीमा मूल्यमा समेत विक्री गर्न सकेको छैन किनभने उद्योग भएका ठाउँसम्म उच्च क्षमताको प्रसारण लाइन छैन । प्राधिकरणले काम थालेका ठाउँमा वन मन्त्रालयले रूख काट्न नदिँदा काम रोकिएको अवस्थासमेत छ । सरकारले यस्ता अवरोध हटाइहाल्नुपर्छ । त्यसैले सरकारले निजीक्षेत्रलाई उत्पादनमात्र होइन, प्रसारण लाइन र विक्रीवितरणको काम पनि दिनु आवश्यक छ । भारतमा निजी कम्पनीहरूले नेपालका निजी कम्पनीहरूसँग विद्युत् खरीद गर्न चाहिरहेका छन् तर सरकारले त्यसका लागि आवश्यक कानूनी व्यवस्था गर्न सकेको छैन । यी तमाम अवरोध खुला गरिदिने हो भने सरकारले भनेको १५ हजार मेगावाट बिजुली सहजै उत्पादन गर्न सकिन्छ ।