काठमाडौं । बीमित जनसंख्या बढाउँदै लैजाने सरकारी नीति रहे पनि गत आर्थिक वर्ष (आव) २०८०/८१ मा बीमित जनसंख्याको अनुपात अघिल्लो वर्षको तुलनामा घटेको छ । सरोकारवालाहरू देशको समग्र आर्थिक गतिविधिमा आएको कमीको असर बीमाको पहुँचमा पनि देखिएको बताउँछन् ।
नेपाल बीमा प्राधिकरणका अनुसार २०८१ असारमा म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमासहित ४३ दशमलव २७ प्रतिशत सर्वसाधारण बीमाको पहुँचमा समेटिएका छन् । एक वर्षअघि २०८० असारमा ४४ दशमलव ३८ प्रतिशत सर्वसाधारण बीमाको पहुँचमा समेटिएका थिए ।
प्राधिकरणका प्रवक्ता सुुशीलदेव सुवेदी देशको समग्र आर्थिक गतिविधिमा कमी आउँदा बीमाको पहुँच पनि घटेको बताउँछन् । ‘आर्थिक गतिविधिमा देखिएको मन्दीको असर बीमाको विस्तारमा पनि परेको छ,’ उनले भने, ‘बीमालेखको संख्या घटे पनि बीमाशुल्क संकलन भने वृद्धि भएको छ ।’ प्राधिकरणका अनुसार आव २०७९/८० मा बीमा सेवाप्रदायक कम्पनीहरूले १ करोड ४१ लाख ३७ हजार जीवन बीमालेख जारी गरेकोमा आव २०८०/८१ मा उक्त संख्या १ दशमलव ८१ प्रतिशतले घटेर १ करोड ३८ लाख ८१ हजारमा सीमित भएको छ ।
तर, कम्पनीहरूको बीमाशुल्क संकलन भने ९ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरूले आव २०७९/८० मा १ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेकोमा आव २०८०/८१ मा बढेर १ खर्ब ५६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । बीमालेखको संख्या घटे पनि बीमाशुल्क संकलन वृद्धिबाट बढी रकमको बीमा गर्नेको संख्या बढेको अनुमान गर्न सकिने प्राधिकरणका प्रवक्ता सुवेदीले बताए ।
जीवन बीमक संघ, नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले केही दिनअघि आर्थिक अभियानसँगको अन्तरवार्तामा अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव बीमा कम्पनीहरूको व्यवसायमा पनि परेको बताएका थिए । ‘आर्थिक गतिविधि बढेमा सर्वसाधारणको आम्दानी वृद्धि भई बीमा कम्पनीहरूको व्यवसाय पनि विस्तार हुन्छ,’ उनले भनेका थिए, ‘आर्थिक गतिविधि मन्द भएका बेला अहिलेको विस्तारलाई पनि राम्रो मान्नुपर्छ ।’ आर्थिक मन्दीका कारण बीमालेखको समर्पण दर बढेको र यसबाट कम्पनीहरूको व्यवसाय विस्तारमा प्रभाव परेको उनको भनाइ छ ।
गत आवमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा भने सामान्य वृद्धि देखिएको छ । आव २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरूले २९ लाख ७७ हजार ओटा बीमालेख विक्रीबाट ४१ अर्ब ४६ करोड रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा कम्पनीहरूको बीमाशुल्क ३ दशमलव ११ प्रतिशतले बढी हो । कम्पनीहरूले आव २०७९ /८० मा २७ लाख ९२ हजार ओटा बीमालेख विक्रीबाट ४० अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । प्राधिकरणका अनुसार अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीहरूको कार्यालय संख्या ६ दशमलव ५३ प्रतिशतले वृद्धि भई २ हजार ९४८ पुगेको छ । यस्तै कर्मचारी संख्या पनि ४ दशमलव २८ प्रतिशतले बढेर ११ हजार ६८५ जना पुगेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।