काठमाडौं । इलामको माईखोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनर्निर्माण सकिएको छ । गत असोज १२ गते माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेंसीमा ४ ओटा टावरमा क्षति पुर्याएको थियो ।
नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत आयोजनाहरूले संयुक्त रुपमा पुनर्निर्माण तथा पुनस्थापना गरी सोमबार देखि प्रसारण लाइन सञ्चालनमा ल्याएका हुन् ।
काम शुरू गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिएका मोहन कार्कीले बताए । प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूले विद्युत् उत्पादन शुरू गरेका छन् । आयोजनाहरूबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो ।
प्राधिकरण र निजी क्षेत्रले संयुक्त रुपमा नमुनाका रुपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरू लगायतका सामाग्रीहरू उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत आयोजनाहरूले श्रम लागतलगायतका खर्च बेहोरेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए ।
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमक खण्डको धोद्रेबेंसीमा ५०,५१,५२ र ५३ नम्बर टावर क्षतिग्रस्त बनेका थिए । त्यस स्थानबाट प्रसारण लाइनलाई माईखोला पार गराइएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।
चारओटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रुपमा क्षति पुर्याएको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको छ । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो भने ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो ।
५३ नम्बर टावरको क्रसआर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको छ । प्रसारण लाइन पुनर्निर्माणमा स्थानीय जनप्रतिधिहरूले पूर्ण सहयोग गरेका थिए ।