काठमाडौं । ढलपाइप बिछ्याउनका लागि काठमाडौंको बागेंमुढा–ज्याठा सडक खनिएको एक महीनाभन्दा बढी भइसक्यो । तर, अहिलेसम्म उक्त निर्माण पूरा भएको छैन । ( हेर्नुस् तस्वीर)
सडकमा खनिएको लाइनसमेत नपुरिँदा यात्रुसँगै व्यापारी पनि मर्कामा छन् । सडकमा माटोको ढिस्को थुप्रिँदा यात्रुलाई आवतजावतमा समस्या भएको छ । यात्रुको आवतजावत नभएपछि कारोबार घटेको व्यापारीको दुखेसो छ ।
यस्तै अवस्था छ असन–कमलाछि सडकखण्डको पनि । उक्त सडकखण्डमा पनि ढलपाइप बिछ्याउनका लागि खनिएको दुई हप्ताभन्दा बढी भइसक्यो । तर, निर्माण पूरा हुन त परै जाओस्, सडकमा खनिएको लाइन पनि पुरिएको छैन । ( हेर्नुस् तस्वीर)
काठमाडौंका भित्री सडक अस्तव्यस्त भएका यी उदाहरण हुन् । निर्माणमा ढिलासुस्ती भएको स्थानीयको गुनासो छ । जसका कारण सडकखण्डको दायाँबायाँ क्षेत्रमा सटर भाडामा लिएर बसेका व्यापारी समस्यामा परेका छन् । यस्ता सडकको काम जतिसक्दो चाडो सक्नुपर्ने स्थानीय व्यापारीको माग छ ।