नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा ग्राहकले खाता खोल्दा ‘नो योर कष्टमर’ (केवाईसी) सम्बन्धी व्यवस्थाअनुरूप पेश गर्नुपर्ने कागजातमा केही सरलीकरण गरेको छ । तर, पतिपत्नी, बाबुआमा, बाजेबज्यै, छोराछोरी, बुहारी, ससुरा आदिको नाम, थर तथा नागरिकतासम्बन्धी विवरण अनिवार्य रूपमा भर्नुपर्ने व्यवस्थालाई कायमै राखिएको छ । बैङ्क स्वयम् र बैङ्कमा खाता खोल्ने ग्राहकलाई यसले कुनै सहजता ल्याएको देखिँदैन । न त बैङ्क खाता खोल्दा पेश गर्नुपर्ने कागजातको संख्या घटेको छ, न त फारम भर्नुपर्ने स्पेश नै कम भएको छ ।
केवाईसी भनेको ‘नो योर कष्टमर’ होइन, ‘किल योर कष्टमर’ भनेर बैङ्करहरूले व्यङ्ग्य गर्न थालेका छन् । केवाईसीको मुख्य उद्देश्य वित्तीय कारोबार गर्ने संस्थाले आफ्ना ग्राहकका बारेमा विस्तृत जानकारी लिनु वा ग्राहक चिन्नु हो । बैङ्क खाता हुने कुनै व्यक्तिले अवैध सम्पत्ति शुद्धीकरण नगरोस्, अर्थात् वैध नबनाओस् र उसबाट आतङ्कवादी क्रियाकलापमा लगानी नहोस् भन्ने उद्देश्यले यो व्यवस्था विश्वभरि नै लागू गरिएको छ । तर, यसको अर्थ कुनै ग्राहकको पुस्ता दरपुस्ताको विवरण बैङ्कले सङ्कलन गर्नुपर्छ भन्ने होइन । आज केवाईसी निर्देशिकाअनुरूप बाजेबज्यैसम्मको नागरिकता मागिएको छ, भोलि केवाईसीकै परिष्कृत ग्राहक पहिचान पद्धति (इनहान्स्ड कष्टमर ड्यू डेलिजेन्स– सीडीडी) अपनाउनुपर्ने ग्राहकबाट आफ्ना पुस्ता दरपुस्तासम्मको विवरण मागिने त होइन, शङ्का छ ।
(सम्पादकीयबाट)
वर्ष ८, अंक १४५, सोमवार, २८ माघ, २०६९