काठमाडौं । काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयू) परिसरमा निर्माण भएको हाइड्रोजन रिफ्युलिङ सेन्टरको आज (शुक्रवार) शुभारम्भ गरिएको छ ।
केयूले नेपाल हाइड्रोजन इनिसिएटिभ्स परियोजनामार्फत निर्माण गरेको नेपालकै पहिलो उक्त रिफ्युलिङ सेन्टरको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले हाइड्रोजनबाट चल्ने गाडीमासमेत यात्रा गर्नुभएको थियो ।
परियोजना प्रमुख प्राडा विराजसिंह थापाले रिफ्युलिङ सेन्टर आवबाट औपचारिकरूपमा सञ्चालनमा आएको जानकारी दिए । यसअघि करीब ५ महीनअघि उक्त स्टेशनबाट हाइड्रोजन इन्धन रिफ्युलिङको सफल परिक्षण गरिएको थियो । ‘परीक्षणको रूपमा हामीले तीन–चार महीना लगायौं । परीक्षण गर्दै गर्दै गयौं । आजबाट औपचारिकता भयो,’ उनले भने ।
अब सो सेन्टरबाट हाइड्रोजनबाट चल्ने गाडीमा रिफ्युलिङ गर्न (इन्धन भर्न) सकिनेछ । परियोजना प्रमुख थापाले उक्त सेन्टरबाट १ गाडीलाई मात्रै पुग्ने इन्धन भर्न सकिने बताए । उनका अनुसार ‘पाइलट प्रोजेक्ट’का रूपमा यो सेन्टर निर्माण गरिएकाले अहिले दैनिक १ गाडीमा मात्रै इन्धन रिफ्युलिङ गर्न सकिनेछ ।
यसो त नेपालमा अहिले हाइड्रोजनबाट चल्ने गाडी १ ओटा (केयूले परीक्षणका लागि कोरियाबाट ल्याएको) मात्रै रहेको बताइएको छ ।
परियोजना प्रमुख थापाले १० करोड रुपैयाँ जति लगानी गरे ठूलो हाइड्रोजन रिफ्युलिङ सेन्टर बनाउन सकिने बताए ।
उनले उक्त परियोजनाले देशमा हाइड्रोजन गाडी चल्ने आशा जगाएको बताए । ‘अहिले विद्युतीय गाडी धमाधम भित्रिरहेका छन्, भविष्यमा हाइड्रोजन गाडी पनि भित्रिएलान् । आजबाट यातायात संशाधनमा हाइड्रोजनको पनि प्रयोग हुन्छ भन्ने विश्वास भयो । अब विश्वविद्यालयको हाताबाट समाजमा जान्छ, जानुपर्छ । प्रधानमन्त्रीले उदघाट्न गरेपछि यो व्यावसायिक हुन्छ भन्ने हाम्रो आशा हो,’ उनले भने ।
उक्त रिफ्युलिङ सेन्टर बनाउन नेपाल आयल निगमले केयूलाई ५ करोड रुपैयाँ उपलब्ध गराएको थियो, जसमध्ये साढे दुई करोड रुपैयाँ रिफ्युलिङ सेन्टर निर्माण र करीब ४० लाख रुपैयाँ गाडी खरीदमा खर्च भएको परियोजना प्रमुख थापाले जानकारी दिए । बाँकी रकम भवन र ल्याब बनाउन खर्च भएको उनको भनाइ छ ।
केयूले आफूले उत्पादन गरेको ग्रिन हाइड्रोजन परीक्षणका लागि कोरियाबाट ल्याएको गाडीको करीब ५ महीनाअघि (गत चैतमा) पनि सफलतापूर्वक परीक्षण गरेको थियो ।
हाइड्रोजन इन्धन रिफ्युलिङको परीक्षण, नेपालमा व्यावसायिक उत्पादन सम्भव छ ?