काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७१ दशमलव ५१ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. ४ करोड ४६ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. १ करोड २७ लाखमा सीमित भएको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा नाफा घटेको हो ।
कम्पनीले गत आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १ करोड ३३ लाख छुट्याएकोमा चालू आवमा रू. १३ करोड २० लाख छुट्याएको छ । कम्पनीको निष्क्रिय कर्जा गत आवमा ७ दशमलव ७१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ११ दशमलव ९४ प्रतिशत पुगेको छ ।
त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा ६ दशमलव १७ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ९ करोड २१ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. ८ करोड ६४ लाखमा सीमित भएको छ ।
चुक्ता पूँजी रू. ६ करोड ८५ लाख रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. १९ करोड ८० लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीले रू. १३ करोड १९ लाख सापटी लिएर, रू. ८४ करोड ५७ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब ४६ करोडभन्दा बढी कर्जा लगानी गरेको हो ।