काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा तथा अन्य सम्भावित जोखिम व्यवस्था (प्रोभिजन) बापत छुट्ट्याउनुपर्ने रकम थप गर्न लगाएपछि एन.आई.सी. एशिया बैंकको सञ्चित घाटा बढेको छ ।
बैंकले आर्थिक वर्ष (आव) २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणमा २ अर्ब ८४ करोड रुपैयाँ प्रोभिजन गरेको थियो । त्यसमा राष्ट्र बैंकले १ अर्ब ४ करोड रुपैयाँ थप गर्न लगाएपछि बैंकको प्रोभिजन ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले एन.आई.सी. एशियालाई ३६ दशमलव ६१ प्रतिशतले थप प्रोभिजन गर्न लगाएको हो । बैंकको कर्जा तथा गैरबैंकिङ सम्पत्तिमा देखिएको कैफियतका आधारमा थप प्रोभिजन गर्न निर्देशन दिइएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
बैंकले प्रकाशित गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार आव २०८०/८१ मा सञ्चित नोक्सानी २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ पुगेको छ । एन.आई.सी.ले अपरिष्कृत वित्तीय विवरणमा पनि सञ्चित नोक्सानी २ अर्ब ३० करोड रुपैयाँ मात्र देखाएको थियो । तर, राष्ट्र बैंकले थप रकम प्रोभिजनिङ गनुपर्ने भनेपछि सञ्चित नोक्सानी बढेको हो । यो बैंक आव २०७९/८० मा ३ अर्ब ५३ करोड ४२ लाख रुपैयाँले नाफामा थियो । चालू आव २०८१/८२ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको सञ्चित नोक्सानी २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ छ ।
बाह्य लेखापरीक्षणमा बैंकको खुद नाफा पनि घटेको छ । बैंकले गत आवमा १ अर्ब ३८ करोड रुपैयाँ नाफा गरेको अपरिष्कृत वित्तीय प्रतिवेदन प्रकाशित गरेको थियो । तर, बाह्य लेखापरीक्षणमा नाफा ४९ दशमलव २७ प्रतिशतले घटेर ७० करोड १४ लाख रुपैयाँ कायम भएको छ ।
- आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणमा सञ्चित नोक्सानी २ अर्ब ३० करोड रुपैयाँ
- बैंकले प्रकाशित गरेको लेखापरीक्षण प्रतिवेदनअनुसार २०८०/८१ मा सञ्चित नोक्सानी २ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ
- अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा १ अर्ब ३८ करोड रुपैयाँ
- बाह्य लेखापरीक्षणपछि खुद नाफा ७० करोड १४ लाख रुपैयाँ
पछिल्लो समय बैंकको वित्तीय सूचकहरू खराब हुँदै गएका छन् । आक्रामक कर्जा प्रवाह गरी व्यवसाय विस्तार गरेको बैंकले असुली गर्न नसक्दा खराब कर्जा बढ्दै गएको हो । आव २०७९/८० मा शून्य दशमलव ८८ प्रतिशत खराब कर्जा रहेकोमा २०८०/८१ मा बढेर ३ दशमलव ४५ प्रतिशत पुगेको छ । चालू वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खराब कर्जा ४ दशमलव ६१ प्रतिशत पुगेको छ ।
बैंकको सूचकहरू खराब हुँदा लगानीकर्ताको हात पनि खाली हुँदै आएको छ । बैंकले आव २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने प्रस्तावसहितको साधारणसभा फागुन २२ गते गर्दै छ । यसअघि राष्ट्र बैंकले तोकेअनुसार प्राथमिक पूँजीकोष कायम गर्न नसक्दा बैंकले आव २०७७/७८ र २०७८/७९ मा पनि लाभांश बाड्न पाएको थिएन ।
प्राथमिक पूँजीकोषमा परेको दबाब कम गर्न बैंकले साधारणसभामा ५ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ । चालू आवको असोजमा बैंकको प्राथमिक पूँजीकोष अनुपात ८ दशमलव ८१ प्रतिशत रहेको छ ।
बैंकहरूले प्राथमिक पूँजीकोष अनुपात न्यूनतम ८ दशमलव ५ प्रतिशत कायम गर्नुपर्छ । पूँजीकोष अनुपात तोकिएभन्दा कम भए राष्ट्र बैंकले त्यस्ता बैंकलाई लाभांश वितरण गर्न दिँदैन ।
राष्ट्र बैंकको अनुगमनमा एन.आई.सी. एशियाले राष्ट्र बैंकको कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी, पूँजीकोष तथा जोखिमभार, ब्याजदर एवं संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशन पालना नगरेको पाइएको छ । यस्तै बैंकले सञ्चालक तथा परिवारका सदस्य एवं सम्बद्घ संस्थालाई प्रकाशित ब्याजदरभन्दा बढी ब्याज दिएको समेत भेटिएको छ ।
राष्ट्र बैंकले चालू वर्षको दोस्रो त्रैमासमा बैंकका सञ्चालक, तिनका परिवारका सदस्य एवं सम्बद्घ संस्थाहरूको मुद्दती निक्षेप खाता खोल्दा कतिपयमा पुरानो मिति कायम गरेको भेटेपछि ब्याज फिर्ता गराउनुका साथै आगामी दिनमा यस प्रकारका काम नगर्ने गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालकद्वय त्रिलोकचन्द्र अग्रवाल तथा रामचन्द्र संघाईलाई नेपाल राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा २ (क) बमोजिम नसिहत दिएको थियो । यसैगरी स्थलगत निरीक्षणको क्रममा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पूँजीकोष तथा जोखिमभार, ब्याजदर एवं संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशन पालना गरेको नपाइएकाले परिपालना गर्न एवं सुधारको कार्ययोजना बनाई लागू गर्नसमेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।