काठमाडौं भारत सरकारले उपलब्ध गराएको कोटाको चिनी आयात गर्न सरकार पटकपटक असफल हुँदा चाडपर्वको मुखमा चिनीको बजार भाउ बढ्न थालेको छ ।
उपभोक्ताले खुद्रा प्रतिकिलो ११० रुपैयाँमा किनिरहेको चिनीलाई मंगलवार (आज) देखि १२० रुपैयाँ तिर्नुपर्ने खुद्रा व्यापार संघले जानकारी दिएको छ । भारतले लामो समयदेखि चिनीको निर्यात रोकेको छ । तैपनि उसले गतवर्ष नेपाललाई २५ हजार मेट्रिक टन निर्यात गर्ने कोटा दिएको थियो । उक्त कोटाको सम्पूर्ण चिनी नेपालले गत साल आयात गर्न सकेन । यस वर्ष पनि कोटाको बाँकी चिनी आयात गर्न सक्ने/नसक्ने अन्योल छ ।
भारत सरकारले कोटामा उपलब्ध गराउने चिनी आयात गर्न सरकार असफल हुँदा र अनियन्त्रित बजारमूल्यमा हस्तक्षेप गर्न भूमिका खेल्ने सरकारी स्वामित्वका कम्पनीहरू साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग पर्याप्त मात्रामा चिनी मौज्दात नहुँदा बजारमा यसको भाउ आकाशिने संकेत देखिएको व्यापारी बताउँछन् ।
खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बजारमूल्यमा हस्तक्षेप गर्ने सरकारी निकायसँग चिनी नभएको र आयात गर्न सरकार असफल भएकाले ठूला व्यापारीको मिलेमतोमा अहिले मूल्य बढेको बताए ।
उनका अनुसार थोक व्यापारीले चिनीको मूल्य बढाएर पठाएका हुन् । ‘अहिले थोक व्यापारीबाट हामीले किन्दा नै किलोको ११५ रुपैयाँ घटीमा नआउने भयो । त्यसैले मंगलवारदेखि लागू हुने गरी उपभोक्ता मूल्य १२० रुपैयाँ तोकेका हौं,’ उनले आर्थिक अभियानसँग भने । चाडपर्वको बेला चिनी महँगिन नदिन ४/५ महीनाअघि नै आयात प्रक्रिया थाल्नुपर्नेमा सरकार यस विषयमा गम्भीर नहुँदा उपभोक्तासँग प्रत्यक्ष कारोबार गर्ने खुद्रा व्यापारीले नै सबै दोष खप्नुपर्ने अवस्था आउने गरेको उनले गुनासो गरे ।
अझै पनि सरकारले कुनै पहल नगरे दशैंतिहारको बेला गतवर्षकै अवस्था दोहोरिने र चिनीको मूल्य प्रतिकिलो १४५ रुपैयाँभन्दा माथि पुग्न सक्ने उनले बताए । गतवर्ष चाडपर्वको समयमा एक किलोे चिनीको मूल्य १५० रुपैयाँनजिक पुगेको थियो ।
साल्ट ट्रेडिङका सह–महाप्रबन्धक कुमार राजभण्डारीले अहिले कम्पनीसँग १८ सय मेट्रिक टन मात्रै चिनी मौज्दात भएको जानकारी दिए । खाद्यसँग त यतिबेला चिनी नै नभएको कम्पनीसम्बद्ध अधिकारीले बताएका छन् । चाडपर्वमा आवश्यक पर्ने चिनी आयातका लागि यी दुवै कम्पनीले अहिलेसम्म अनुमति पाएका छैनन् ।
चाडपर्वका बेला चिनीको चर्चा हुनु र भाउ महँगिनु पुरानै खेल भएको राजभण्डारी बताउँछन् । राज्य जिम्मेवार भएर नलाग्दा चाडपर्वका बेला उपभोक्ता महँगो मूल्यको मारमा पर्ने गरेको उनले बताए ।
भारतले गत साल दिएको २५ हजार मेट्रिक टन चिनी आयातको कोटामध्ये १९ हजार मेट्रिक टन आयातका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०८१ जेठ ३० मा उद्योग विभागलाई पत्र पठाएर निजीक्षेत्रका लागि प्रक्रिया बढाउन भनेको थियो । सोहीअनुरूप विभागले औद्योगिक कच्चा पदार्थका रुपमा चिनी प्रयोग गर्न इच्छुक उद्योगसँग आवेदन माग गर्यो । आवेदन दिनेमध्ये १० ओटा निजी कम्पनीले आयात अनुमति पाए पनि भन्सार छूटको सुविधा नहुँदा महँगो भएको भन्दै उनीहरूले चिनी ल्याउन मानेनन् ।
औद्योगिक प्रायेजनका लागि आयात गर्ने जिम्मा पाएका निजी कम्पनी एग्रो थाई फुड्स, गुडलाइफ बेभरेज, एशियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल, क्वालिटी फुड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि, क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन, शिवम् डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, केआर भेन्चर्स र सुजल फुड्सले आयात अनुमति पाए पनि महँगो पर्ने भएपछि हात झिकेका हुन् ।
यी निजी कम्पनीले हात झिकेसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोही १९ हजार टन चिनी उपभोक्तालाई विक्री गर्ने गरी आयात गर्न इच्छुक निजी फर्म/कम्पनीसँग आवेदन मागेको छ । विभागले साउन २३ मा सूचना जारी गर्दै ५ दिन म्याद दिएर निजीक्षेत्रसँग आवेदन माग गरेको थियो ।
अन्तिम मिति साउन २७ सम्म ७१ ओटा निजी फर्म/कम्पनीले आयातका लागि आवेदन पेश गरेको विभागका सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए ।
उनका अनुसार कोटाको चिनी आयात गर्न भारत सरकारले तोकेको मिति आगामी सेप्टेम्बर ३० मा सकिँदै छ । त्यसकारण जसरी पनि उक्त चिनी आयात गर्नैपर्ने बाध्यता सरकारलाई छ । ‘अहिले आवेदन दिनेमध्ये ७ ओटा कम्पनीले २६ सय मेट्रिक टनमा नघट्ने गरी आयात अनुमति पाउने छन् । निजी कम्पनीले आयात गरेको चिनी साल्ट ट्रेडिङले निर्धारण गरेको मूल्यको आधारमा उपभोक्तालाई विक्री गर्नुपर्ने छ,’ उनले भने ।
भारतको नेसनल कोअपरेटिभ एक्सपोर्ट प्रालिबाहेक अन्य कम्पनीबाट उक्त चिनी आयात गर्ने अनुमति नेपाललाई छैन । यसले गर्दा नेपाललाई चिनी महँगो पर्ने सरोकारवाला बताउँछन् ।
उक्त कम्पनीबाट चिनी खरीद गर्दा किलोकै भारू ५० पर्छ । भारतमा अहिले प्रतिकिलो चिनीको मूल्य ४० भारूको हाराहारीमा छ । उक्त कम्पनीबाट ल्याउँदा ढुवानी भाडालगायत सबै खर्च जोड्दा निकै महँगो पर्ने र यहाँ ल्याएर सरकारी स्वामित्वकै कम्पनीले तोकेको मूल्यमा बेच्नुपर्ने भएकाले पछिल्लोपटक आवेदन दिने कम्पनीहरूले समेत चिनी ल्याउनेमा सरकारी अधिकारीहरू सशंकित छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा नेपालमा उखु उत्पादन हुने क्षेत्रफल १५ सय २१ हेक्टरले घटेको छ । उत्पादन पनि ५३ हजार ८३४ मेट्रिक टनले घटेको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा ६४ हजार ३५४ हेक्टर क्षेत्रफलमा उखुखेती भएकोमा आव २०७९/८० मा आइपुग्दा उत्पादन हुने क्षेत्रफल घटेर ६२ हजार ८३३ हेक्टर कायम भएको छ । नेपालमा वार्षिक चिनी खपत २ लाख ५० हजार मेट्रिक टनसम्म रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बताएको छ ।