काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार (आज) नेप्से परिसूचक १ दशमलव १७ प्रतिशत बढेर बन्द भएको छ । यस दिन नेप्से २ हजार ९५७ दशमलव ७५ विन्दुमा पुगेको हो । मंगलवारको सामान्य करेक्सनपछि बुधवार 'इन्ट्राडे'मा नेप्से २ हजार ८८३ दशमलव ८१ विन्दुसम्म झरेको थियो ।
बजार घटेको समयमा खरीदकर्ता आकर्षित भएसँगै बजार बढिरहेको छ । यसो त नेप्सेमा सूचीकृत कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएसँगै लगानीकर्ता थप आकर्षित भएका छन् ।
बजार बढ्दै जादा नयाँ लगानीकर्ता थपिन थालेका छन् भने पुराना लगानीकर्ताले लगानी बढाएका छन् । नयाँ सरकार गठन हुनु, चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिमार्फत संस्थागत शेयर धितो कर्जामा २० करोड सीमा हटाउनु लगायत कारणले लगानीकर्ताको मनोबल उच्च हुँदै गएको छ । यस कारण पनि शेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् ।
बुधवार फ्लोट इन्डेक्स १ दशलमव २८ प्रतशित, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ । ३३२ धितोपत्रको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता शेयर २ लाख ४४ हजार १९ पटकमा रू. २३ अर्ब ४३ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये नौ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।
सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, माउण्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इङ्वा हाइड्रोपावर र अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको हो ।
आज मन्दाकिनी हाइड्रोपावर कम्पनीका शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९७२ मा झरेको छ । त्यस्तै विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ८ दशमलव ०७ प्रतिशत घटेर रू. ७५९ दशमलव ९० कायम भएको छ ।
यस्तै, शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा हिमालयन रिइन्स्योरेन्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. ८६ करोड ५८ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार १९ कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा शिवम सिमेन्ट्स छ । कम्पनीको रू. ८२ करोड २९ लाख बराबरको कारोबार भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकीको सूचक बढेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ७ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ भने म्युचुअल फण्डको सूचक सबैभन्दा बढी शून्य दशमलव ९० प्रतिशत घटेको छ ।