कर्णाली क्षेत्र भन्नाले साधारणतया कर्णाली र महाकाली नदीको पानीढलो भएको क्षेत्रलाई मानिन्छ । वर्तमान संघीय व्यवस्थामा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई तथ्यांकको उपलब्धताका हिसाबले कर्णाली क्षेत्र मान्न सकिन्छ । नेपालको तीनओटा पानी ढलोमध्ये गण्डकी र कोशी क्षेत्रभन्दा शासन, सत्ता, कर्मचारीतन्त्र, साधनस्रोत र प्राथमिकता यी पाँचओटा क्षेत्रमा हुने पहुँचमा सदैव पछि रहेको कर्णाली पानीढलोले सिञ्चित क्षेत्र आर्थिक दृष्टिबाट धेरै पछाडि परेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको आर्थिक वर्ष २०७९/८०को नेपालको कुल गार्हस्थ्य उत्पादनलाई हेर्दा कर्णाली पानीढलोका अंश ११ प्रतिशत रहेको छ । भन्सार विभागबाट प्रकाशित नेपालको भन्सारगत तथ्यांकलाई दृष्टिगत गर्दा नेपालको कुल वैदेशिक व्यापारमा यस क्षेत्रमार्फत हुने वैदेशिक व्यापारमा आयाततर्फ कुल आयातमा १ दशमलव ७५ प्रतिशत हिस्सा रहेको छ भने निर्याततर्फ यो अंश शून्य दशमलव ५४ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार जनसंख्याका दृष्टिबाट हेर्दा कर्णाली पानीढलोमा नेपालको कुल जनसंख्याको करीब १५ प्रतिशत जनसंख्याको बसोवास रहेको छ । रिसर्चगेटका अनुसार क्षेत्रफलका दृष्टिबाट हेर्दा कर्णाली पानीढलोले ओगटेको क्षेत्रफल नेपालको कुल क्षेत्रफलको करीब २९ प्रतिशत रहन आउँछ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषिमा औसतमा १५ प्रतिशत अंश कर्णाली पानीढलोका योगदान रहे तापनि खनिज, तयारी मालवस्तु उत्पादन (म्यानुफ्याक्चरिङ क्षेत्र) मा यस क्षेत्रको योगदान क्रमश: ५ प्रतिशत र ६ प्रतिशत मात्र रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चरका अनुसार नेपालको कुल सडक सञ्जालमा कर्णाली पानीढलोको अंश करीब १३ प्रतिशत रहेको छ ।
भिजन, मिशन, लक्ष्य, उद्देश्य, नीति, रणनीति र कार्यक्रमहरूलाई आफ्नो मार्गदर्शन सिद्धान्तका रूपमा अंगीकार गरी कर्णाली पानीढलोको नेतृत्व र प्राज्ञिक समाज अघि बढ्ने हो भने यो पानीढलो नेपालको सबैभन्दा समृद्ध प्रदेशका रूपमा चिनिने निश्चित छ ।
राष्ट्रिय जनगणना २०२१को राष्ट्रिय जनगणना तथा पारिवारिक सर्वेमा उल्लेख भएका ३५ ओटा परिसूचकमध्ये ३४ ओटामा कर्णाली पानीढलो पुछारमा रहेको छ । यी सबै तथ्यतथ्यांकहरूले कर्णाली पानीढलो विकासका हरेक क्षेत्रमा कोशी र गण्डकी पानीढलो भन्दा धेरै नै पछाडि परेको छ । यसरी पछि परेको दूरी पार गर्दै कम्तीमा कोशी र गण्डकी पानीढलोको आसपासमा कर्णाली पानीढलोको आर्थिक विकासलाई पनि पुर्याउन कर्णाली पानीढलोको आर्थिक, पूर्वाधार र सामाजिक क्षेत्रको विकासमा अन्य पानीढलोको तुलनामा धेरै गुणा लगानी हुन आवश्यक हुन्छ । उपर्युक्त सैद्धान्तिक धरातलमा टेक्दै कर्णाली पानीढलोलाई कोशी र गण्डकी पानीढलोसरह मानव विकास र आर्थिक विकास सूचकांक पुर्याउन देहायका कार्यहरू गर्न जरुरी छ ।
पहिलो, कर्णाली पानीढलोबाट प्रतिनिधित्व गर्ने राजनीतिक व्यक्तित्वहरूमा केन्द्रबाट योजनाहरू माग्ने प्रवृत्ति हावी भएको छ । खुद्रा योजना, कार्यान्वयन हुन नसक्ने योजना र पर्याप्त बजेट विनाका झारा टार्ने योजनाहरूका लागि कर्णाली पानीढलोको नेतृत्व केन्द्रमा निरीहतायुक्त याचना गरिरहेको देखिन्छ । नेपालको भूगोलको करीब २९ प्रतिशत ओगट्ने कर्णाली पानीढलोको नेतृत्वमा रहेको यो निरीहता र अकर्मण्यता आफैमा उदेक लाग्दो छ । कर्णाली पानीढलोको विकासका लागि आवश्यकता, परियोजनाको स्वरूप र परियोजना विकास, परियोजनाको बजेटीकरणका प्रक्रिया तथा बजेट कार्यान्वयनमा रहेको ज्ञानका कमीका कारण यस क्षेत्रमा दशकौंदेखि विकास खोज्ने होइन कि विकास माग्ने क्षेत्रमा रूपमा परिचित रहेको छ । गेटा, राँझा र सुर्खेत विमानस्थलमा ओर्लेपछि यो क्षेत्रको याद आउने तर त्रिभुवन विमानस्थलमा ओर्लेपछि गण्डकी र कोशीको पानीढलोमा पौडिन रमाउने यहाँको राजनीतिक नेतृत्वका कारण यहाँको मानव विकास र आर्थिक विकास सूचकांकमा उल्लेख्य प्रगति आउने गरी कुनै ठूला अभियानहरू सञ्चालन हुन सकेका छैनन् ।
दोस्रो, कर्णाली पानीढलोको प्राज्ञिक नेतृत्वसँग पनि यहाँका लागि आर्थिक, सामाजिक र भौतिक विकासको मोडेल कुन हो भन्ने कार्यान्वयनमैत्री योजना छैन । जनताहरूमा पनि हामीलाई औसत नेपालीसरहको जीवनयापन र पहुँच चाहिन्छ भन्ने माग राख्ने उत्साह छैन । कर्णाली राजमार्गको दशा यसको ज्वलन्त उदाहरण हो । सारमा भन्नुपर्दा कर्णालीको समग्र विकासका लागि नेतृत्वलाई झक्झकाउँदै सहमत तुल्याउन सक्ने तार्किकता र विद्याको बल कर्णालीका पानीढलोको प्राज्ञिक नेतृत्वमा पनि छैन ।
उपर्युक्त निराशाका माझ आशाका किरणहरू पनि प्रशस्त छन् । कर्णाली पानीढलोलाई पश्चिमोत्तर भारत, पश्चिमी संसार र मध्यएशियासँग जोड्ने प्रवेशद्वारका रूपमा यसको आर्थिक विशेष महत्त्व रहेको छ । यी तीनओटा क्षेत्र लक्षित हुने गरी कर्णाली पानीढलोलाई पश्चिमोत्तर क्षेत्रको समृद्धिसँग जोड्न सकिने सम्भावना रहेको छ । कर्णाली पानीढलोको समग्र विकासका नीतिहरू यसैको वरिपरि परिभ्रमण गरिरहेका छन् जसको कार्यान्वयन आजको प्रमुख आवश्यकता हो । यस मूल आधारमा रही देहायका नीतिहरू कर्णाली पानीढलोको विकासका लागि अंगीकार गरिनु आवश्यक देखिन्छ ।
कर्णाली पानीढलो विकासका हरेक क्षेत्रमा कोशी र गण्डकी पानीढलोभन्दा धेरै नै पछाडि परेको छ । यसरी पछि परेको दूरी पार गर्दै कम्तीमा कोशी र गण्डकी पानीढलोको आसपासमा यहाँको आर्थिक विकासलाई पनि पुर्याउन र आर्थिक, पूर्वाधार र सामाजिक क्षेत्रको विकास गर्न अन्य पानीढलोको तुलनामा धेरै गुणा लगानी हुन आवश्यक छ ।
सर्वप्रथम, नेपालबाट पश्चिमोत्तर भारत, पश्चिमी संसार र मध्यएशियामा हुने व्यापारमा कर्णाली पानीढलोलाई हबका रूपमा विकास गर्नु जरूरी देखिन्छ । यसैगरी दक्षिण एशियालीलाई मध्यएशियासँग जोड्ने सबैभन्दा उपयुक्त प्रवेशमार्ग पनि कर्णाली पानीढलो नै रहने गरेको छ ।
कर्णाली पानीढलोको भौगोलिक अवस्थिति र भारत र चीनले विकास गरिरहेका कनेक्टिभीसम्बन्धी भौतिक पूर्वाधारको अवस्था र नेपालको भारत र चीनसँग सम्पन्न व्यापार र पारवहनसम्बन्धी सम्झौताका कारण पश्चिमोत्तर भारत, भारतको गुजरातस्थित मुन्द्रा बन्दरगाहमार्फत पश्चिमी संसारसँग छोटो मार्गको उपलब्धता तथा चीनको काशगार हुँदै मध्यएशिया र रूस जोड्ने सबैभन्दा छोटो मार्ग चीनको हाइवे नं २१९ जस्ता पूर्वाधारहरूसँग कर्णाली पानीढलोका पूर्वाधारसँग जोड्दै यस प्रदेशलाई विश्वका यी भागहरूको प्रवेशद्वारका रूपमा विकास गर्ने सम्भावना रहेको छ । यस्तै पश्चिमोत्तर भारतको बजारलक्षित नेपाली उत्पादनका लागि पनि सबैभन्दा पायक पर्ने विन्दु दोधारा चाँदनी नै हो । यस सन्दर्भमा दोधारा चाँदनीलाई विशेष आर्थिक क्षेत्रका रूपमा विकास गरी पश्चिमी देशहरू र पश्चिमोत्तर भारतसँगको व्यापार यहाँबाट गर्दा ढुवानी समय कोलकाताबाट हुने समयभन्दा कम्तीमा आधा बचत हुने जाने देखिन्छ ।
दोस्रो, नेपालबाट निकासी भइरहेका उत्पादनहरूलाई कर्णाली पानीढलोमा व्यापक रूपमा विस्तार गरी पश्चिमोत्तर भारत, पश्चिमी संसार र मध्य एशियाका आयातकर्ताहरूसँग ती वस्तु निर्यात हुने गरी वातावरण सृजना गर्नु पनि जरुरी रहेको छ । चीनले मध्यएशियासँग जोड्ने गरी काशगारलाई आर्थिक केन्द्रका रूपमा विकास गरिरहेको छ । काशगारलाई तिब्बतसँग जोड्ने सडक कर्णाली पानीढलोबाट सबैभन्दा नजिक पर्छन् । उक्त विन्दुलाई नेपालसँग सडक यातायातबाट जोड्न सकेको खण्डमा नेपालबाट मध्यएशियाली देशहरूसँग हुने व्यापार यही प्रवेशविन्दुबाट हुने र दक्षिण एशियालाई मध्यएशियासँग जोड्ने सबैभन्दा पायक र छाटो मार्गसमेत हुने हुँदा यो मार्ग नेपालका लागि मात्रै सिंगो दक्षिण एशिया र मध्यएशियासँगको वस्तु व्यापार र सेवा व्यापार (पर्यटन)को आदानप्रदानको हबका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।
तेस्रंो, स्थानीय रैथाने प्रजातिका कृषि, वनजन्य उत्पादनहरूको पहिचान तथा तिनको व्यावसायिक उत्पादन गरी भौगोलिक संकेतका आधारमा राष्ट्रिय र अन्तरराष्ट्रिय बजारमा स्थापित गर्ने नीतिलाई देशकै मूलनीतिमा समाहित हुने गरी अंगीकार गरिनु जरुरी छ । कर्णाली पानीढलोमा धेरै प्रजातिका रैथाने नश्लका कृषि र वन्यजन्य उत्पादनहरू उपलब्ध छन् । ती उत्पादनहरूलाई बजारको माग, उपभोक्ताको चाहना र स्थापित मापदण्डहरू अनुसार उत्पादन गर्न सकेको खण्डमा यस्तो रैथाने उत्पादनहरूले स्थानीय जनताको आर्थिक अवस्थामा गुणात्मक सुधार ल्याउन सक्ने अवस्था विद्यमान रहेको छ । चौथो, कर्णाली पानीढलोलाई आर्थिक गतिविधिको मूलधारमा समाहित गर्न उक्त क्षेत्रमा शीप विकास तथा निर्यातको क्षमता अभिवृद्धि (अन्तरराष्ट्रिय मापदण्डअनुसार, लेबलिङ, प्याकेजिङ, ब्रान्डिङका तालिम र अन्तरराष्ट्रिय बजारको सूचना प्रवाहसम्बन्धी कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्नु जरुरी देखिन्छ ।
कर्णाली पानीढलो अझै पनि नेपालको निर्यात क्षेत्रको मूलप्रवाहमा समाहित हुन सकेको छैन । यसका पछाडि वस्तु पहिचान, निकासीको विधि पद्धति र लाभका बारेमा जानकारीको कमी र निकासी व्यापारमा संलग्न हुने चाहिने शीप र दक्षताको कमी रहनु प्रमुख कारण रहेको छ । यस सन्दर्भमा यस क्षेत्रका प्रदेश सरकार र स्थानीय तहको समेत सहभागिता रहने र निजीक्षेत्रको सहकार्य रहने मोडलमा व्यापक रूपमा निर्यातसम्बद्ध क्षेत्रगत तालीमहरू सञ्चालन गर्न आवश्यक देखिन्छ । ताकि यस क्षेत्रमा निकासी व्यापारमा व्यवसायीहरूको आकर्षणयुक्त लगानी अभिवृद्धि हुन सकोस् ।
पाँचांै, उपर्युक्तबमोजिम कर्णाली पानीढलोलाई उत्पादन, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्ने गरी औद्योगिक हबका रूपमा विकास गर्न पहिलो चरणमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र निजीक्षेत्रहरूको संयुक्त लगानीका उद्योगहरू व्यापक रूपमा स्थापित गर्ने नीति अंगीकार गरिनु पनि त्यत्तिकै जरुरी देखिन्छ । यसका लागि नेपाली र बाह्य देशमा रहेका जनशक्तिलाई परिचालन गरी यस्ता परियोजनाको डीपीआरहरू बनाउँदै कार्यान्वयन गर्ने रणनीति अंगीकार गरिनु पनि त्यत्तिकै जरुरी छ ।
सुदूरपश्चिम उद्योग व्यवसायको क्षेत्रमा शैशवकालमा नै रहेको छ । यस अवस्था यस क्षेत्रमा विद्यमान सम्भावनाहरूलाई औद्याकिकीकरण गर्न संघ, प्रदेश र स्थानीय तह, स्थानीय जनता र इच्छुक व्यवसायीहरूको शेयर लगानीमा सार्वजनिक निजी साझेदारी अवधारणामा उद्योग स्थापना गरी सञ्चालन हुन आवश्यक छ । यसै गरी कर्णाली पानीढलोलाई आर्थिक गतिविधिको केन्द्रका रूपमा विकास गर्न तीनै तहका सरकारहरूले प्रशासनिक लगायतका खर्चहरूको कटौती गर्दै सम्पूर्ण साधनस्रोतहरू पूर्वाधारमा केन्द्रित गर्नु जरुरी छ । उपर्युक्त नीतिहरूलाई कार्यान्वयन गर्न दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको निर्माण सम्पन्न गर्ने तथा भारतीय बजारलक्षित अन्तरराष्ट्रिय प्रदर्शनी स्थलको निर्माण गर्ने, नेपालका निकासीकर्ताहरूका लागि वस्तुहरू अनुसारका सुविधासम्पन्न गोदाम, कोल्डस्टोर, सम्पर्क कार्यालयहरू खोल्न लिजमा नि:शुल्क जग्गा प्रदान गर्ने व्यवस्था गर्ने तथा बजारसम्बन्धी सूचना केन्द्रको स्थापना गरिनुपर्छ ।
यसैगरी कर्णाली पानीढलोलाई मध्यएशियासँग जोड्न बझाङ र हुम्लामा चीन जोड्ने गरी सुक्खा बन्दरगाहको निर्माण सम्पन्न गर्ने तथा मध्यएशियाकेन्द्रित सामग्रीहरू निर्यात गर्ने गरी सुविधासम्पन्न गोदाम, कोल्डस्टोर, सम्पर्क कार्यालयहरू खोल्न लिजमा नि:शुल्क जग्गा प्रदान गर्ने तथा बजारसम्बन्धी सूचना केन्द्र व्यवस्था गर्न पनि त्यत्तिकै जरुरी छ ।
नेपालबाट निकासी भइरहेका वस्तुहरूलाई पश्चिम भारत, पश्चिमी संसार र मध्यएशिया लक्षित गरी कफी, चिया, अलैंची, अदुवा, अम्रिसो, ऊनी गलैंचा, तयारी पोशाक, दुग्ध पदार्थ, धातुकला र काष्ठकलाका उत्पादन, रोजिन र रेजिन, प्राकृतिक रेशाका कपडाहरू, नेपाली हातेकागज, जडीबुटी खेती, गरगहना, छुर्पी, जुस, चाउचाउ, दालचिनी, बेसार, धनियाँ, मुसुरो, बास्मती चामलजस्ता उत्पादनहरूमा युद्धस्तरमा लगानी हुन जरुरी छ ।
स्थानीय रैथानै प्रजातिका कृषि, वनजन्य उत्पादनहरूको व्यावसायिक उत्पादन गर्न स्थानीय रैथाने उत्पादनको पहिचान, व्यावसायिक उत्पादन र बजारीकरणको परियोजना निर्माण, भौगोलिक संकेत प्रदान, वस्तुको इतिहास र विशेषताको वर्णन तथा अन्तरराष्ट्रिय मापदण्डअनुसार लेबलिङ र प्याकेजिङ, राष्ट्रिय र अन्तरराष्ट्रिय बजार पहुँचमा सहजीकरण, राष्ट्रिय र अन्तरराष्ट्रिय मेलाहरूमा नि:शुल्क सहभागिताको व्यवस्थाका लागि पनि पर्याप्त बजेटको व्यवस्था गर्न सिंगो कर्णाली पानीढलो एकीकृत भएर लाग्नु जरुरी देखिन्छ ।
यस्तै पब्लिक प्राइभेट पार्टनरशिपको ढाँचामा कर्णाली पानीढलोका एक एकओटा जिल्लामा नमुनाका रूपमा एउटा एउटा उद्योग स्थापना गर्दै यसलाई यस ढलोमा भएका सम्पूर्ण सम्भावित क्षेत्रमा विस्तार गर्नु जरुरी देखिन्छ । पहिलो चरणमा अल्लो कपडा उद्योग, हातेकागज उद्योग, ओलिभ तेल उद्योग, साबुन उद्योग, रिट्ठाको लुगा धुने पाउडर, बास्मती चामल उद्योग, रैथाने जातको घ्यू प्रशोधन उद्योग, जुस उद्योग, मह उद्योगजस्ता क्षेत्रमा सरकारी निजी साझेदारीमा उद्योगहरू स्थापना गरी आन्तरिक र बाह्य बजार दुवैमा प्रवेश गर्नेतर्फ अग्रसर हुन जरुरी छ ।
यसै गरी यस कर्णाली पानीढलोमा उत्तर दक्षिण राजमार्ग, दुर्गम क्षेत्रमा कच्चापदार्थ संकलन गर्न रज्जुमार्ग, कलेक्शन सेन्टर, कोल्डस्टोरेज, सुक्खा बन्दरगाह, व्यापारसम्बद्ध तालिम केन्द्र, ग्रामीण सडकहरूको स्तरोन्नति, व्यापारसम्बद्ध सूचना प्रवाह गर्न मोबाइल एप्सको विकास गरी ताजा सूचनाहरू प्रवाह, सीमावर्ती भन्सार विन्दुहरूको स्तरोन्नति तथा अन्तरराष्ट्रिय प्रदर्शनी स्थल निर्माणमा सबैको ध्यान आकर्षित हुनपर्छ । उपर्युक्त भिजन, मिशन, लक्ष्य, उद्देश्य, नीति, रणनीति र कार्यक्रमहरूलाई आफ्नो मार्गदर्शन सिद्धान्तका रूपमा अंगीकार गरी कर्णाली पानीढलोको नेतृत्व र प्राज्ञिक समाज अघि बढ्ने हो भने यो पानीढलो नेपालको सबैभन्दा समृद्ध प्रदेशका रूपमा चिनिने निश्चित छ ।
यसका लागि सर्वप्रथम कर्णाली पानीढलोका राजनीतिकर्मीहरू र प्राज्ञिक वर्गबीच अहंकाररहित अन्तरक्रियाको प्रारम्भ हुन जरुरी छ । २०६२/६३ सम्म शाही नातेदारहरूमार्फत काठमाडौंसँग रहेको कर्णाली पानीढलोको सुमधुर सम्बन्ध यसको अनुपस्थितिमा यस पानीढलोबाट प्रतिनिधित्व गर्ने राजनीतिकर्मी र प्राज्ञिक क्षेत्रको काँधमा आइपरेको छ जसको आधार कर्णाली पानीढलोलाई नेपालकै निर्यात हबका रूपमा विकास गर्ने गरी संघ, प्रदेश र स्थानीय तहको व्यापक र एकीकृत लगानी नै हो । विश्वको अर्थराजनीतिको सार पनि यही नै हो ।
लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।