विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले आयोजना गरेको कृषि एक्स्पो सम्पन्न भएको छ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेन सिंह हाङगामले आइतवार यसको समापन गरेका हुन् । मेला १ लाखभन्दा बढीले अवलोकन गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक तरकारी बजार केन्द्रको परिसरमा एक्स्पो आयोजना गरेको थियो । भदौ २७ देखि ३० गतेसम्म सञ्चालित मेला कोशी र मधेश प्रदेशसहित भारतका कृषिविज्ञ र किसानले अवलोकन गरेका थिए ।
महासंघ, कोशी प्रदेश समितिका अध्यक्ष एवं उद्योगी राजेन्द्र राउतले चारदिने कृषि एक्स्पोमा किसान, सर्वसाधारण उपभोक्ता, कृषिविज्ञ एवं कृषि क्षेत्रका अन्य सरोकारवाला आएको बताए । कोशी प्रदेशका विभिन्न जिल्लाबाट आठ सयभन्दा बढी किसान समूहले मेला अवलोकन गरेको अध्यक्ष राउतले बताए ।
नेपालका दुई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पुष्पकमल दाहालले मेला अवलोकन गरेका थिए । कोशी प्रदेशका दुई पूर्व मुख्यमन्त्री राजेन्द्र राई र केदार कार्कीले पनि मेला अवलोकन गरे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र संघीय सरकारका कृषिमन्त्री रामनाथ अधिकारीले मेलाको उद्घाटन गरेका थिए ।
मेलामा नेपाल र भारतका गरी १ सय ३० भन्दा बढी स्टल रहेका थिए । समापन समारोहमा महासंघले मेलामा सहभागी उत्कृष्ट कृषि स्टललाई प्रशंसापत्र प्रदान गरेको छ ।