काठमाडौं । कृषि विकास बैंक लिमिटेडले लहान शाखामा तालाबन्दी–ढुंगामुडाको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकको शाखा कार्यालय लहानका प्रबन्धक लगायतका कर्मचारीहरूलाई जोडेर सामाजिक सञ्जालमा स्टाटस र विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएका थिए । साथै बैंकको शाखामा बैंकिङ सेवा नै ठप्प हुने गरी तालाबन्दी, ढुंगामुडा र होहल्ला भएको थियो ।
बैंकको केन्द्रीय कार्यालयले बिहीवार (आज) प्रेस विज्ञप्ति जारी गरी यी घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ । बैंकले लहानका प्रबन्धक लगायतका कर्मचारीहरूलाई जोडेर सामाजिक सञ्जालमा लेखिएका स्टाटस र सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार भ्रमपूर्ण र कपोलकल्पित भएको बताएको छ ।
‘सत्यतथ्य भन्दा बाहिर गई वास्तविकता भन्दा फरक ढंगले सम्प्रेषित समाचार तथा अराजक गतिविधिले यस बैंकका ग्राहक, सरोकारवाला एवं सर्वसाधारणमा भ्रम श्रृजना भएको तथा बैंकको सेवा प्रवाह अवरुद्ध भएको छ । यस खालका अमर्यादित एवं अवाञ्छित व्यवहार गरी बैंकजस्तो संवेदनशिल स्थानमा हुलहुज्जत भएको घटनाको सम्बन्धमा सत्य तथ्य विवरण सरोकारवाला सबैको जानकारीको लागि सम्प्रेषण गर्न आवश्यक देखिएकोले यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ बैंकले भनेको छ ।
बैंकको लहान शाखाबाट सरल कृषि कर्जा लिएका सिराहाको लहान नगरपालिका–२ का रामचन्द्र यादवलगायतले बैंकमा तालाबन्दी, ढुंगामुडा गरेको, नियमित काममा बाधा पुर्याएको, कर्मचारीमाथि गालीगलोचसँगै धम्की दिएको, सञ्चारमाध्यममा कपोलकल्पित समाचार लेख्न लगाएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पटक–पटक मौखिक एवं लिखित पत्राचार गरी ताकेता गर्दा पनि यादवले कर्जा भुक्तान नगरेपछि बैंकले प्रक्रियाअनुसार उनको धितोको लिलामी प्रक्रिया अघि बढाएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
‘निज ऋणी लगायत आन्दोलन र धर्ना दिने व्यक्तिहरू कानूनी उपचार खोज्नुभन्दा पनि बैंकको बदनाम तथा विरोध गर्ने र अफवाह फैलाउने, बैंकको भौतिक सम्पत्तिको क्षति गराउने, बैंक कर्मचारीहरूको मनोवल गिराउने तथा समग्र बैंकिङ सेवा अवरुद्ध गराउनेतर्फ उद्यत देखिएकोले यस्ता खालको गैर कानूनी अवाञ्छित गतिविधिप्रति घोर भत्र्सना गर्दै आपत्तिसहित बैंकले खेद प्रकट गरेको छ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यसरी गरिएको लिलाम प्रक्रिया चित्त नबुझेको खण्डमा कर्जा ग्राहक नियमानुसार कानूनी प्रकृयामा जानसक्ने अवस्था हुँदाहुँदै बैंकजस्तो सम्वेदनशील संस्थाको सेवा नै अवरुद्ध हुने गरी बाधा व्यवधान सिर्जना गर्नु कदापी उचित नहुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।