पोखरामा रहेका पर्यटन व्यवसायीहरूले पर्यटकीय क्षेत्र लेकसाइडको सुरक्षा व्यवस्थामा चासो देखाएका छन् । बुधवार पोखरामा सम्पन्न ‘लेकसाइडको समस्या’ विषयक अन्तरक्रियामा व्यवसायीहरूले लेकसाइडको सुरक्षा व्यवस्थामा कडाइ नभएको गुनासो गरे । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले प्रमुख पर्यटकीय गन्तव्य लेकसाइडका पर्यटन व्यवसायीहरू एकपछि अर्को समस्याका कारण पीडित भएको बताए ।
उनीहरूले लेकसाइड क्षेत्रमा विद्युत् र खानेपानीको विशेष व्यवस्था हुन नसकेकोप्रति दु:ख व्यक्त गरे । कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले लेकसाइड क्षेत्रको सुरक्षाका लागि प्रशासनले जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ‘तपाईंहरूलाई सुरक्षाको अभाव महसूस भए प्रशासनलाई जानकारी गराउनुहोस्,’ उनले भने, ‘कानूनबाहिर जाने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनेछौं ।’
प्रमुख पर्यटकीय गन्तव्य पोखराको पनि महत्त्वपूर्ण क्षेत्र लेकसाइड पर्यटकको सुरक्षाका लागि स्थानीय प्रशासन चनाखो हुनुपर्ने नेपाल पर्यटन बोर्डका सदस्य टीकाराम सापकोटाको भनाइ थियो । पश्चिमाञ्चल क्षेत्र होटल संघका अध्यक्ष हरि शर्मा गैरेले बारम्बार हुने लोडशेडिङले पर्यटन व्यवसायी मर्कामा परेको बताए ।
वर्ष ८, अंक १४५, सोमवार, २८ माघ, २०६९