काठमाडौं । आइतवार (आज) कारोबारमा आएका ३०८ धितोपत्रमध्ये पोखरा फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी (प्रतिशतका आधारमा) ९ दशमलव ०२ प्रतिशत वृद्धि भएको छ ।
यस दिन शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा प्रोग्रेशिभ फाइनान्स छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ६२ प्रतिशत बढेको छ । त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी र वेष्ट फाइनान्स कम्पनीको शेयर मूल्य समान ६ दशमलव ८० प्रतिशत बढेको छ । यी सबै वित्त समूहका कम्पनी हुन् ।
अघिल्लो कारोबार दिन (गत बिहीवार) पनि वित्त कम्पनीका शेयर मूल्यमा उच्च वृद्धि भएको थियो । उक्त दिन कारोबारमा आएका धितोपत्रमध्ये मल्टीपर्पस फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी (प्रतिशतका आधारमा) ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको थियो । शेयर मूल्य सर्वाधिक बढ्ने (प्रतिशतका आधारमा) सूचीमा दोस्रोमा पोखरा फाइनान्स थियो । उक्त कम्पनीको शेयर मूल्य ७ दशमलव ८९ प्रतिशत बढेको थियो ।
पछिल्लो केही दिनयता वित्त समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भइरहेको छ । वैशाख २ गतेयताको यस समूहको सूचकले पनि यो पुष्टि गर्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार वैशाख २ गतेयता वित्त समूहको सूचक करीब १०० अंकले बढिसकेको छ । यही वैशाख २ गते यस समूहको सूचक २ हजार ३६ दशमलव ०७ विन्दुमा रहेको १६ गते (आज) बढेर २ हजार १३६ दशमलव ०४ विन्दुमा पुगेको छ । आज मात्रै यस समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ९८ प्रतिशत बढेको छ ।
घाटामा रहेका कम्पनीको किन उच्च दरले बढ्दैछ शेयर मूल्य ?
पछिल्लो केही दिनयता घाटामा रहेका वित्त समूहका कम्पनीको शेयर मूल्य उच्च दरमा बढेको देखिएको छ ।
नेप्सेको अघिल्लो कारोबार दिन र आजको तथ्यांकमा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घाटामा रहेका वित्त समूहका कम्पनी भिडाउँदा यो देखाउँछ, जसअनुसार आज पोखरा फाइनान्स र प्रोगेशिभ फाइनान्सको शेयर मूल्य उच्च दरमा बढेको छ । अघिल्लो कारोबार दिन भने पोखरा फाइनान्सको शेयर मूल्य उच्च दरमा बढेको थियो ।
आज मात्रै पोखरा फाइनान्सको शेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँ बढिसकेको छ । नेप्सेका अनुसार अघिल्लो कारोबार दिन बजार बन्द हुँदा कम्पनीको शेयर मूल्य ६१० रुपैयाँ कायम थियो । आज बजार बन्द हुँदा कम्पनीको शेयर मूल्य ६६५ रुपैयाँ कायम भएको छ ।
कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार नेप्सेमा सूचीकृत वित्त समूहका १५ कम्पनीमध्ये ८ ओटा घाटामा छन्, जसमा पोखरा फाइनान्स, जानकी फाइनान्स, गुडविल फाइनान्स र रिलायन्स फाइनान्स छन् । यस्तै, सेन्ट्रल फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स, समृद्धि फाइनान्स र प्रोग्रेशिभ फाइनान्सले पनि नोक्सानी व्यहोरेका छन् ।
वित्तिय अवस्था सबल भएका कतिपय कम्पनीको शेयर मूल्य ओरालो लाग्दा घाटामा रहेका कतिपय कम्पनीको शेयर मूल्य किन उच्च दरमा बढिरहेको छ त ?
जानकार भन्छन्– यस समूहका कम्पनीको शेयर संख्या कम हुँदा आपूर्ति पनि कम भएकाले मूल्य बढिरहेको छ । कम्पनीको अवस्था अध्ययन नगरी शेयर मूल्यको वृद्धि मात्रै हेरेर लगानी नगर्न उनीहरूको सुझाव छ ।