लगातार पाँच कारोबार दिन बढ्यो नेप्से, दुई कारोबार दिनयता दिनहुँ ६ अर्बभन्दा बढीको कारोबार

Share News

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचक १ प्रतिशत बढेर बन्द भएको छ । यससँगै नेप्से परिसूचक २ हजार १४० दशमलव ९७ विन्दुमा पुगेको हो । आजसँगै नेप्से लगातार पाँच कारोबार दिन बढेको छ ।

समग्रमा हेर्दा बजारले विस्तारै लय समाउन थालेको देखिन्छ । पछिल्ला दुई दिनको कारोबार रकम हेर्दा पनि यो कुरा पुष्टि हुन्छ । पछिल्ला दुई कारोबार दिनयता कारोबार रकम रू. ६ अर्बमाथि छ । 

साउनमा आउने मौद्रिक नीतिले समस्या सम्बोधन गर्ने आम लगानीकर्ताको विश्वास छ । सोही कारण पनि लगानीकर्ता सकारात्मक भएको जानकार बताउँछन् । 

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९३ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत वृद्धि भएको छ । 

आज ३२५ धितोपत्रको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता शेयर ८० हजार ८३८ पटक कारोबार भएको छ  । कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ५ दशमलव २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७८ दशमलव ८० पुगेको हो । शेयर मूल्य सर्वाधिक बढ्ने सूचीमा दोस्रोमा नेशनल लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ०९ प्रतिशत बढेर रू. १ हजार ३६० पुगेको छ । 

आइतवार सबैभन्दा बढी मैलुङ्ग खोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६६१ दशलमव ५० मा झरेको छ ।

शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा गुडवील फाइनान्स छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ६२ प्रतिशत घटेर रू. ६३३  कायम भएको छ । 

शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ओगटेको छ । यस कम्पनीको रू. २१ करोड ७१ लाख बराबरको कारोबार भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७४२ पुगेको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हिमालयन रिइन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. १५ करोड ५० लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये होटल तथा पर्यटन समूहको सूचक सबैभन्दा बढी २ दशलमव ९६ प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक सबैभन्दा बढी २ दशलमव २३ प्रतिशत घटेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।