काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक सामान्य अंक घटेको छ । परिसूचक शून्य दशमलव ३६ प्रतिशतले घटेर १ हजार ९९८ दशमलव ९६ विन्दुमा कायम भएको हो ।
पछिल्लो समय लगानीकर्ता सेक्टर परिवर्तन गर्दै लगानी गरिरहेका छन् । यसअघि वित्त र विकास बैंक समूहको शेयरबाट प्रोफिट बुक गरेका लगानीकर्ता आज लघुवित्त समूहका कम्पनीको शेयरमा आकर्षित भएका छन् । यही कारण अधिकांश लघुवित्त कम्पनीको शेयर मूल्य उच्च दरमा वृद्धि भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४१ प्रतिशत, फ्लोट इ्रन्डेक्स शून्य दशमलव ४५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ४३ प्रतिशत घटेको छ । कारोबारमा आएका ३०८ धितोपत्रको ९४ लाख ९८ हजार २९८ कित्ता शेयर ६४ हजार १८१ पटकमा रू. ४ अर्ब १३ करोड बराबरको कारोबार भएको छ ।
यस दिन कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । समता घरेलु लघुवित्तको शेयर मूल्य रू. ८०३, इन्फिनिटी लघुवित्तको रू. १ हजार १८६ दशमलव ९० र साधना लघुवित्तको रू. ८०३ पुगेको छ ।
बिहीवार सबैभन्दा बढी पिपुल्स पावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ८ दशमलव २१ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६१५ मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा ग्रीन डेभलपमेन्ट बैंक छ । बैंकको शेयर मूल्य ५ दशमलव १० प्रतिशत घटेर रू. ४३३ दशमलव ७० कायम भएको छ ।
यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको रू. २८ करोड ७७ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७० कायम भएको छ । यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर कारोबार भएको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुल ३४ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा पोखरा फाइनान्सको रू. २१ करोड ७८ लाख बराबरको भएको छ ।
यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये दुई समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ । लघुवित्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव ४५ वृद्धि भएको छ भने विकास बैंक समूहको सूचक सबैभन्दा बढी २ दशमलव ०३ प्रतिशत घटेको छ ।