भारतको अयोध्यामा राम मन्दिर बन्यो । रामको मूर्तिमा प्राण प्रतिष्ठा पनि गरियो । यसले भारतीय गणतन्त्र अझ बलियो हुने दाबी यसका समर्थकहरूको रहेको छ । यता, नेपालमा ठोरीका रामको मूर्तिमा प्राण प्रतिष्ठा भोलि ओली सत्तामा आएपछि हुन्छ वा पहिल्यै भइसकेको छ, थाहा भएन । ठोरीको रामका बारेमा बार्दलीबाट पनि कुनै प्रतिक्रिया आएको छैन । तर राम मन्दिर बनेसँगै भारतमा भाजपा समर्थकहरूको स्वर झन् ठूलो हुन थालेको छ । त्यसैको प्रभावले हो कि के हो, नेपालमा पनि भाजपा नजिकका राजावादीहरूको स्वर सानै भए पनि मुखरित हुन थालेको छ ।
भिडियोमा हेर्नुहोस् ।
यस्तै लोकतन्त्र बचाऊ, गणतन्त्र बचाऊ भन्ने स्वरहरू पनि सुनिन थालेका छन् । यति धेरै विभिन्न कुरा बचाउनेहरू आइरहेका छन् कि अब लोकतन्त्रलाई बचाउन मुश्किलै पर्ला जस्तो पो छ । तर लोकतन्त्र बचाउनु भन्दा पहिले प्रश्न उठ्छ कि किन बचाउने र कसका लागि बचाउने ? लोकतन्त्र बाँचि त रह्यो, तर अहिलेजस्तै बेकार र ख्याउटे, उसैलाई पालिरहन खर्च गरिरहनुपर्ने तर सर्वसाधारणलाई केही नदिने खालको रहिरह्यो भने त यसको के मतलब भयो र ?
पहिला शिशु प्रजातन्त्र भन्दै कांग्रेसले कति वर्षसम्म सत्ताको जग बलियो बनायो । अहिले तीन ठूला दल नै लोकतन्त्र खतरामा पर्यो, बचाउनुपर्छ भन्दै कुर्लन थालेका छन् । त्यो पनि आआफ्नो सत्ताको जग बलियो बनाउने नै प्रयास होला । तर, लोकतन्त्र कसले खतरामा पार्यो ? जनताले कि नेताले ? सरकारले कि दरबारले ? आफ्नै काम गराइको तालले कि विरोधीको चालले ? खोइ, लोकतन्त्र र गणतन्त्रको विरोधमा त्यस्तो ठूलो जुलुस निक्लेको पनि त देखेको छैन । अनि यसलाई बचाउने चैं कसले ? लोकतन्त्रबाट केही नपाएका जनताले कि लोकतन्त्रका कारण रैतीबाट राजा बनेकाहरूले ? सरकारको कुशासनबाट चाउरिएका जनताले कि घुशासनबाट सुन्निएका नेताले ?
यदि लोकतन्त्र बाँचिरह्यो भने पनि यसको ‘तर’ खानेहरूको प्रतिस्पर्धा बढ्ने देखिन्छ । यसको ‘तर’ खानकै लागि आन्दोलन, लफडा, झगडा, छिनाझम्टी थप बलियो हुने देखिन्छ । लोकतन्त्र मरे फेरि ‘तर’ कसरी मार्नु ? त्यसैले, बचाउने हैन, यसलाई घिटिघिटी अवस्थामै राखेर आफ्नो लाज पचाउने र त्यसलाई मागिखाने भाँडो बनाएर आफ्नो दानापानी जोगाइराख्ने मेलो मात्र देखिन्छ ।
त्यसैले लोकतन्त्र अब कसरी बच्ला र खै ? कुन चैं इन्जेक्सनले जोगाउला त ? कोही भन्छन्– समाजवादले बचाउँछ लोकतन्त्र । कोही भन्छन्– समाजवादकै कारण लोकतन्त्र मर्छ । कोही भन्छन्– गरीबी, भ्रष्टाचार उन्मूलन नभएसम्म लोकतन्त्र बाँच्दैन । कोही भन्छन्– गरीबी हट्यो भने समाजवाद चैं बच्दैन । तपाईं नै भन्नुस् न अब कि लोकतन्त्र बच्छ चैं कसरी ?
अब पुरानाले लोकतन्त्रको हुर्मत लिए भनेर नयाँ नेता आका छन् । मिसन चौरासी भनेर गीत पनि गाका छन् । तर मिसन चौरासीको मर्म के हो थाहा छैन । यो भनेकोे चौरासी वर्षसम्म सत्तामा बसेर चौरासीको दान गरेपछि मात्र सत्ता छाड्ने भन्या हो ? युवाहरू चालीस कटेपछि मात्र रमाउने भएपछि नेताहरूले चौरासीसम्म कमाउने मिसन हो कि यो ? त्यसैले लोकतन्त्र बचाउन आफैै कम्मर कस्नुपर्छ जस्तो छ । तर बचाउने कसरी ? आन्दोलन–सान्दोलन गरेर कि आफै मरेर ?
पुरानाले लोकतन्त्रको हुर्मत लिए भनेर नयाँ नेता आका छन् । मिसन चौरासी भनेर गीत पनि गाका छन् । तर मिसन चौरासीको मर्म के हो थाहा छैन । यो भनेकोे चौरासी वर्षसम्म सत्तामा बसेर चौरासीको दान गरेपछि मात्र सत्ता छाड्ने भन्या हो ?
मलाई के लाग्न थालेको छ भने लोकतन्त्र बचाउन म पनि चौरासीको चुनाव चैं लड्नुपर्छ कि क्या हो ! जब लोकतन्त्रको खिचडी अझ राम्रोसँग पाक्छ, मेरो भागमा पनि एक–दुई डाडु त कसो नपर्ला ? ज–जसले लोकतन्त्रको खिचडी वर्षौंदेखि खाइरहेका छन्, भन्छन् कि ‘निकै स्वादिलो हुन्छ’ । लोकतन्त्रको खिचडीमा जुन ‘लोक’को दाल पनि अलिकति राखिएको हुन्छ, त्यसमा आदर्शका मरमसला र चुनावी आयोजना, कार्यक्रम आदिका नून छर्केपछि त्यसलाई चम्चाका सहायताले खाँदा निकै मज्जा आउँछ रे ।
यसो सोच्छु कि जब अमेरिकालगायत विदेशतिरबाट भागेर आएका नयाँ नयाँ जोगीहरूदेखि हप्ता उठाउने र बन्दुक–सन्दुक देखाउनेहरू समेत लोकतन्त्र बचाउन उद्यत छन् भने म पनि लोकतन्त्रलाई बचाउन किन नलागूँ ? अझ हिजो जसले बन्दुक बोकेर लोकतन्त्रको विचार मार्न खोजे, तिनैले यसलाई बचाउने भन्दै गुहार गुहार भनिराछन् भने म यसलाई बचाउन किन चुनाव नलड्ने ?
मेरो चुनाव लड्ने योजना सुनेर मेरा एक मित्रले मलाई सोधिहाले–
‘चुनाव लडेर के हुन्छ ?’
म – सांसद बन्छु ।
मित्र – सांसद बनेर के हुन्छ ?
म – मन्त्री बन्छु । मन्त्रीमा पनि अर्थमन्त्री वा गृहमन्त्री नै बन्छु ।
मित्र – अर्थमन्त्री वा गृहमन्त्री बनेर के हुन्छ ?
म – म प्रधानमन्त्री बन्छु ।
मित्र – प्रधानमन्त्री भएर पनि के हुन्छ ?
म – म गरीबी उन्मूलन गर्दिन्छु ।
मित्र – गरीबी उन्मूलन भएर के हुन्छ ?
म – जनता खुसी हुन्छन् ।
मित्र – तर यार, जनता खुसी भएर चैं के हुन्छ नि ?
म – लोकतन्त्र बलियो हुन्छ ।
मित्र – तर तँलाई टिकट चैं कल्ले दिन्छ र चुनाव लड्न ?
मसँग यसको जवाफ छैन । साथीले उल्टै सोध्यो तँसँग टिकट पाउन योग्यता छ ? अहिलेसम्म तैले कतिलाई ढाँटिस् र कति बेइमानीमा आफ्नो इमान साटिस् ? कतिलाई कुटिस् र कतिको दिमाग भुटिस् ? कति दिन जेलमा सुतिस् ? कतिको चन्दा असुलिस् ? कतिको कट्टु वा फरियाको फेर समातिस् ? पाइन्छ त्यसै टिकट ?
म झसंग भएँ । मलाई टिकट कल्ले देला त हँ ? एक मनले भन्छ, लोकतन्त्र बचाउन कि नयाँ पार्टी खोलूँ ? अर्को मनले भन्छ– कति दु:ख झेलूँ ? किन आगोसँग खेलूँ ? किन गुण्डा–बदमाससँग दुश्मनी मोलूँ ? कति जनासँग झुठ बोलूँ ? कति किर्ते गरूँ ? बरु सामान्य भएरै मरूँ । तर मन अझै मानिरहेको छैन । भन्छ– लोकतन्त्र त बचाउनैपर्छ । लौ न, लोकतन्त्र बचाउन म के गरूँ हँ ?