आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको तयारीमा जुटेको नेपाल राष्ट्र बैंकले अहिले जुनजुन कारणले अर्थतन्त्रको गाँठो कसिलो बनेको छ तिनलाई खुकुलो पार्ने गरी नीति लिन्छ भन्ने धेरैको अपेक्षा रहेको छ । हुन पनि अहिले जसरी अर्थतन्त्र गतिहीन अवस्थामा अड्किएको छ त्यसलाई गति दिन केही न केही ऊर्जा आवश्यक पर्छ । त्यो ऊर्जा भनेको निर्माण क्षेत्रलाई चलायमान बन्न सहयोग पुग्ने खालको मौद्रिक नीति हो । सरकारले बजेटमार्फत ल्याएको वित्तनीति परम्परागत खालको छ । संकटको निकास निकाल्न जस्तो खालको बजेट आवश्यक हुन्छ त्यस्तो कुनै छनक यो बजेटले दिन सकेको छैन । यस्तोमा मौद्रिक नीतिबाट अर्थतन्त्रलाई गति दिने नयाँ खालको कार्यक्रम आउन झनै आवश्यक देखिएको छ ।
अर्थतन्त्र चलायमान बनाउन उद्योगी तथा व्यवसायीले चालू पूँजीका साथै शेयरबजार, घरजग्गा, अटोलगायत क्षेत्रको कर्जानीतिमा लचिलो हुन माग गरिरहेका छन् । तर, मंगलवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘प्रि–मनिटरी पोलिसी’ कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले त्यो केहीको व्यक्तिगत समस्या मात्र भएको र त्यसलाई सामान्यीकरण गरेर मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने चाहेको बताए । अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमा छन् भनेर त्यस्तो माग सम्बोधन नहुने संकेत गरेका छन् । उनको भनाइ हेर्दा घरजग्गा र व्यवसायलाई सहज बनाउन मौद्रिक नीति खुकुलो नबनाउने उनको संकेत हो कि भन्ने देखिन्छ । सामान्यतया केन्द्रीय बैंकका गभर्नरले यसरी सार्वजनिक रूपमा भाषण गरेर नीतिका कुरा गर्नु हुँदैन । तर, पर्याप्त छलफल चलाएर त्यसको निष्कर्षलाई नीतिमा समेट्न भने आवश्यक हुन्छ ।
बैंकिङ प्रणालीमा ६ खर्ब रूपैयाँभन्दा बढी लगानीयोग्य रकम रहेको छ तर बजारमा कर्जाको माग छैन । राष्ट्र बैंकले तरलता प्रशोचन गरिरहेको छ तर यसरी सधैं तरलता प्रशोचन गरेर अधिक तरलताको समाधान हुँदैन । त्यसैले यतिबेला अर्थतन्त्रको प्रमुख माग पूँजी परिचालन गर्नु हो । यसका लागि आगामी मौद्रिक नीति त्यसतर्फ केन्द्रित हुन आवश्यक छ । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नहोस् र अर्थतन्त्रमा सुन्निने रोग नलागोस् भनेर संकुचनकारी नीति लिएको छ । तर, नसुन्नियोस् भनेर लिएको नीतिले अर्थतन्त्रलाई सुकेनास लागेको देखिँदै छ । उत्पादनशील क्षेत्रको नाममा प्रवाह गरिएको कर्जा शेयर र घरजग्गामा जाँदा समस्या आएको साँचो हो । तर, यसलाई रोेकेको लामो समय हुँदा पनि अपेक्षित परिणाम नआएको हुँदा यसको विकल्प खोज्ने बेला आइसकेको छ । लामो समयसम्म अर्थतन्त्रमा जडता रहिरह्यो भने त्यो मन्दीजस्तै खराब नहोला भन्न सकिन्छ ।
हो, घरजग्गा र शेयरबजारलाई अनुत्पादक क्षेत्र मान्न सकिन्छ तर यी तत्त्व उत्पादनका लागि अनिवार्य हुन् । त्यस्तै घरजग्गा क्षेत्र चलायमान हुँदा निर्माण उद्योगले गति लिन्छ । निर्माण उद्योग चल्न थालेपछि त्यसले अन्य क्षेत्रलाई पनि चलायमान बनाउँछ । त्यसले बैंकको कर्जा उठ्न सहयोग गर्छ र सहकारीको समस्या पनि सम्बोधन हुन थाल्छ । यसो भन्दैमा विगतमा जस्तो घरजग्गा र शेयरबजारको मूल्य अचाक्लीसँग उकालिने र लगानी सबै एकोहोरिने अवस्था आउन दिनु हुन्न, लगाम आवश्यक छ ।
बैंकिङ क्षेत्र समस्यामा पर्नु भनेको समग्र अर्थतन्त्र नै समस्यामा पर्नु हो भन्ने कुरा पनि बिर्सनु हुँदैन । चाहे २००८ को विश्व मन्दी होस् चाहै केही समयअघि देखिएको विश्व आर्थिक संकट होस् तिनमा पहिलो समस्या बैंकमा नै आएको हो । बैंक टाट पल्टिएपछि अन्य क्षेत्रका रोजगारी पनि गुम्ने अवस्था आउँछ । त्यसैले बैंकिङ क्षेत्रको समस्यालाई गम्भीर रूपमा लिइनुपर्छ । बैंकहरूको साँवाब्याज उठ्न सकेको छैन । बैंकहरूले अर्बौंमा नाफा कमाए जस्तो देखिए पनि उनीहरूको पूँजीमा प्रतिफलदर घट्दो क्रममा रहेको छ । १० भन्दा बढी वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । यिनलाई कसरी व्यवस्थापन र नियमन गर्ने हो, राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गर्नुपर्ने हुन्छ ।