वीरगञ्ज । मधेश प्रदेशको समग्र आर्थिक समुन्नतिमा बारा जिल्लाले विशिष्ट योगदान पुर्याउन सक्ने सरोकारवालाहरूले बताएका छन् । ‘मधेश समृद्धि शृङ्खला’ अन्तर्गत नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश, बारा उद्योग वाणिज्य संघ र न्यू बिजनेश एज प्रालिले केही दिनअघि बाराको कलैयामा गरेको अन्तरसंवादका सहभागीहरूले बारा जिल्ला कृषि, उद्योग र पर्यटनको उच्च सम्भावनायुक्त क्षेत्र भएको र यी सम्भावनाको उपयोग समग्र मधेशकै समृद्धि अभियानको आधार बन्न सक्ने बताए ।
उद्यमी, व्यापारी, स्थानीय सरकार, कर प्रशासन, सञ्चार क्षेत्र, कृषक, नागरिक अगुवा र प्राज्ञिक क्षेत्रका व्यक्तिहरूको सहभागितामा सम्पन्न भएको ‘बाराको अर्थसामाजिक रूपान्तरण’ विषयक अन्तरसंवादका सहभागीले बारा जिल्ला सम्भावनाको संगम भएकोमा मतैक्य प्रकट गरे । तर, यस्ता सम्भावनाको उपयोगमा सरकारी पक्ष आवश्यकजति गम्भीर नदेखिएको बुझाइ उनीहरूको छ ।
भ्रष्टाचार विकासको अवरोध भएको दाबी सहभागीहरूले गरेका छन् । प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई असहयोग गरेको र पर्याप्त बजेट नदिएको गुनासो स्थानीय सरकारका प्रमुखले गरिरहँदा उद्यमी, व्यापारी, नागरिक सरोकारका अगुवा र सञ्चारकर्मीहरूले तहगत सरकारमा भ्रष्टाचार मुख्य समस्याको रूपमा रहेको औंल्याए ।
बारा जिल्लालाई कृषिको मुख्य सम्भाव्य क्षेत्र भनिए पनि यहाँका किसानलाई खेतीको समयमा आवश्यकताअनुसार मलखाद, बीउ, सिँचाइ उपलब्ध नभएको र किसानको नाममा गैरकिसानले राज्यको अनुदान दुरुपयोग गरेको सहभागीहरूले बताए । त्यस्तै उद्योग, पर्यटन क्षेत्रको सम्भाव्यता उपयोगमा पनि सरकारी नीति र कार्यान्वयनमा पर्याप्त विरोधाभास रहेको सहभागीहरूको निष्कर्ष थियो । यस्ता समस्याहरूको निकास हुने हो भने मधेश प्रदेशको आर्थिक समुन्नतिमा बारा जिल्लाले विशिष्ट योगदान पुर्याउन सक्ने दाबी उनीहरूले गरेका छन् । प्रस्तुत छ, कार्यक्रमका सहभागीले व्यक्त गरेको धारणाको सम्पादित अंश :
मधेशको समृद्धिमा बाराको स्थान महत्त्वपूर्ण
अशोककुमार टेमानी
अध्यक्ष, नेपाल उद्योग वाणिज्य
महासंघ, मधेश प्रदेश
कृषिमा देशको करीब १९ प्रतिशत खेतीयोग्य भूभाग मधेश प्रदेशमा रहेको छ, जसमा करीब ३५ प्रतिशत अनाज उत्पादन हुन्छ । बारा कृषिको प्रचुर सम्भावना भएको जिल्ला हो । कृषि मधेश प्रदेशकै आर्थिक समृद्धिको मुख्य सम्भावनाको क्षेत्र भएकाले यसमा बाराको स्थान महत्त्वपूर्ण छ । कृषिबाट आर्थिक समृद्धिमा अघि बढ्न त्यसका पूर्वाधारहरूको पूर्णतामा गम्भीर हुन आवश्यक छ । कृषिका लागि खेतीको समयमा मल, बीउबिजन र सिँचाइको प्रबन्ध अनिवार्य आवश्यकता हो । यसको सहज प्रबन्ध नभई सम्भाव्यतालाई समृद्धिको उद्देश्यमा जोड्न कठिन हुन्छ । कृषिसँगै उद्योग र पर्यटन बाराका मुख्य सम्भावनाका क्षेत्र हुन् । मधेश प्रदेशका अधिकांश ठूला उद्योग बारामा छन् । उद्योग फस्टाउने वातावरण बनाउनु पर्दछ र यसको उपयोग गरिनु पर्दछ । बारामा औद्योगिक क्षेत्रको अत्यधिक आवश्यकता रहेको छ । बाराको जंगल र धार्मिक तथा ऐतिहासिक स्थानहरू पर्यटकीय स्थल बन्न सक्छन् । बाराका गढिमाई र सिम्रौनगढ प्रख्यात स्थानहरू हुन् । अन्य नयाँ क्षेत्रलाई पनि पर्यटकीय गन्तव्यको रूपमा अगाडि ल्याउन सकिन्छ ।
बाराको विशिष्टता मधेश समृद्धिको आधार
मदन लम्साल
अध्यक्ष, न्यू बिजनेश एज प्रालि
मधेश प्रदेशमा कृषिको अत्यधिक सम्भावना छ । मधेशको कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान ३५ प्रतिशत छ । राष्ट्रिय अर्थतन्त्रमा कृषिको औसत योगदान २४ प्रतिशतको हाराहारीमा रहेको अवस्थामा मधेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान औसतभन्दा अधिक हुनुले यसको महत्त्व उजागर गरिदिएको छ । बारा जिल्ला कृषिको क्षेत्र भएकाले कृषिको व्यावसायिकीकरण आर्थिक तथा सामाजिक रूपान्तरणको मुख्य आधार बन्ने देखिन्छ । बारामा रहेका गढिमाई, सिम्रौनगढजस्ता धार्मिक तथा ऐतिहासिक क्षेत्र र यहाँको पर्यावरणलाई आर्थिक रूपान्तरणको माध्यम बनाउन सकिन्छ । यी अवसरहरूको प्रवर्द्धन गर्न सकियो भने बाराको आर्थिक र सामाजिक संरचनामा कायापलट हुन समय लाग्दैन । बाराको यो विशिष्टता समग्र मधेश प्रदेशकै समृद्धिको आधार बन्न सक्दछ ।
बाराले अपेक्षाअनुसार लाभ लिन सकेन
राजकुमार साह
अध्यक्ष, बारा उद्योग वाणिज्य संघ
बारा जिल्लामा उद्योग, व्यापार, कृषि, पर्यटन सबै क्षेत्रको सम्भावना छ । तर, यति धेरै सम्भावना हुँदाहुँदै पनि यो जिल्ला विकासका अवसरहरूको लाभबाट वञ्चित नै छ । यस्ता सम्भाव्यताहरूबाट अपेक्षा गरेअनुसारको लाभ लिन पाइएको छैन । स्थानीय अवसरमा स्थानीयको अग्राधिकार चाहिन्छ । उद्योग, व्यापार, पर्यटनजस्ता सबै सरोकारमा यो आवश्यक छ । स्थानीय, प्रदेश र संघीय रूपमा काम गरिरहेका तहगत सरकारले यस्ता सम्भाव्यता दोहनका लागि समन्वयात्मक तरीकाले योजना ल्याउनु आवश्यक छ । यही समन्वयको कमी हाम्रो आर्थिक तथा सामाजिक रूपान्तरणको अवरोध बनिरहेको छ ।
प्रदेश र संघीय सरकारले सहयोग गरेनन्
विनोदप्रसाद साह
प्रमुख, कलैया उपमहानगरपालिका
बारा समृद्धिको सम्भावना भएको जिल्ला हो । तर, भ्रष्टाचार विकासको अवरोधको रूपमा रहेको छ । यहाँको सम्भावना उपयोगमा प्रदेश र संघीय सरकारले स्थानीय सरकारलाई असहयोग गरेका छन् । आवश्यकताजति बजेट दिएको छैन । बजेट ल्याउनकै लागि पनि घूस दिनुपर्ने अवस्था छ । कृषिको क्षेत्र भनिएको छ । तर, किसानलाई खेतीको समयमा पर्याप्त मलखाद उपलब्ध गराउन सकिएको छैन । भारतबाट ल्याउन खोज्दा प्रहरीले रोक्छ । यसबाट कृषि क्षेत्रको सम्भावना उपयोग हुन सकेकोे छैन । कृषि बजार बनाउने योजना प्रदेश र संघ सरकारको असहयोग तथा बहानाबाजीका कारण अघि बढ्न सकेको छैन । त्यसको डीपीआर बनायौं । तर अहिले तहगत माथिल्ला सरकारहरूले स्वामित्वको बखेडा झिकेर अवरोध गरिरहेका छन् । बारामा अपराधका घटना बढे भनेर सीसीटीभी क्यामेराका लागि प्रदेशसँग बजेट मागेकोमा ५० लाख रुपैयाँ दिने भनेको थियो । तर, अन्तिम समयमा त्यो रकम अन्तै गयो । कानूनी रूपमै स्थानीय सरकारकोे अधिकार कुण्ठित गर्ने काम भएको छ । बाराको समृद्धिका लागि सबैभन्दा पहिला यस्ता अन्तरविरोधहरूको समाधान आवश्यक छ ।
बारा विकासको मोडल बन्न सक्छ
हरि गौतम
वरिष्ठ उपाध्यक्ष, वीरगञ्ज उद्योग वाणिज्य संघ
बारा मधेशको समृद्धिमा ‘रोल मोडल’ जिल्ला बन्न सक्छ । निजगढबाट फास्ट ट्र्याक सञ्चालनमा आएपछि काठमाडौंबाट एक घण्टाको दूरीमा रहने यो जिल्लामा मिश्रित जनसंख्याको बसोवास छ । उब्जाउ खेती, सिँचाइको केही हदसम्मको व्यवस्था र नगदे बालीको प्रचुर सम्भावना छन् । ग्रामीण स्तरसम्म नै सडक यातायातको राम्रो सञ्जाल र अत्यन्त मेहनती मानिस यसका विशेषता हुन् । औद्योगिकीकरणको प्रचुर सम्भावना बोकेको यो जिल्ला भविष्यमा छोटो दूरीमा काठमाडौं उपत्यकालाई सामान आपूर्ति गर्ने प्रमुख माध्यम हुनेछ । काठमाडौंमा बढ्दो जनसंख्या बारामा स्थानान्तरण हुने सम्भावना छ । यस जिल्लालाई काठमाडौंको स्याटेलाइट सिटीको रूपमा विकास गर्न सकिन्छ । १० वर्षपछि यो जिल्लालाई कस्तो बनाउने भन्नेबारे विज्ञहरूसँग छलफल गरी योजना बनाउनुपर्दछ । यो अभियानको शुरुआत नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशले गरेको छ । यो मधेशको विकासमा पथ प्रदर्शक बन्ने अपेक्षा गर्न सकिन्छ ।
उद्योग क्षेत्र अघोषित लोडशेडिङको मारमा
दीपेश अग्रवाल
अध्यक्ष, उद्योग समिति, नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश
औद्योगिक केन्द्र भनिएको बारा–पर्सा कोरिडोर अहिले दैनिक १२ घण्टासम्म अघोषित लोडशेडिङको मारमा परेको छ । विद्युत् आपूर्तिमा देखिएको अनियमितताबाट उद्योग आहत बनेका छन् । महशुल तिरेपछि गुणस्तरीय आपूर्ति पाउनु ग्राहकको अधिकार हो । विनासूचना लाइन काट्दा उपकरण बिग्रिएका छन् । यसको क्षतिपूर्ति कहाँबाट हुने ? हामी आफ्नै देशका उद्योगमा नियमित आपूर्ति दिन सकिरहेका छैनौं, तर कुरा भने १० हजार मेगावाट विद्युत् निकासीको गरिरहेका छौं ।
उद्योगमा समस्या सृजना भइरहेको छ
शिवनाथ साह
पूर्वअध्यक्ष, बारा उद्योग वाणिज्य संघ
बाराका उद्योगमा स्थानीय बासिन्दाले अनावश्यक दबाब दिने काम गरेका छन् । स्थानीयले रोजगारीका लागि दबाब दिने र नदिए अनेक समस्या सृजना गर्ने काम भइरहेको छ । यसबाट औद्योगिक वातावरण बिग्रिइरहेको छ । रोजगारी नदिए बाटो भत्काइदिन्छौं भन्छन् । काम नदिए समस्या खडा गर्ने गरेको छ । उद्योग व्यापार क्षेत्र यस्तो भ्रष्टाचारबाट आजित भएको छ । कृषिमा सिँचाइको अभाव छ । मल बेलामा पाइँदैन । स्थानीय सरकार भ्रष्टाचारमा लिप्त छ । पैसा नलिई नागरिकका कुनै काम हुँदैनन् ।
भारतीय पर्यटकलाई असल व्यवहार गरिनुपर्दछ
अजयकुमार साह
कोषाध्यक्ष, बारा उद्योग वाणिज्य संघ
बारा जिल्ला भारतीय सिमानासित जोडिएकाले यहाँ भारतीय पर्यटकलाई भित्त्याउने पर्याप्त सम्भावना छ । यहाँका धार्मिक, ऐतिहासिक र पुरातात्त्िवक महत्त्वका स्थानमा भारतबाट पर्यटक ल्याउन सकिन्छ । तर, भारतीय पर्यटकलाई सिमानामा राम्रो व्यवहार भइरहेको छैन । भारतीय रुपैयाँ २५ हजारभन्दा बढी र १०० रुपैयाँभन्दा बढी दरका नोट लिएर आउने पर्यटकले सिमानामै अनेक हैरानी खेप्नुपरिरहेको छ । यसबाट राम्रो सन्देश गइरहेको छैन । पर्यटकलाई असल व्यवहार गरिनुपर्दछ ।
करको दायरा बढाउन आवश्यक छ
रोशनकुमार झा
कर अधिकृत, आन्तरिक राजस्व कार्यालय, बारा
करको दरभन्दा दायरा बढाउन आवश्यक छ । यही अनुसार काम भइरहेको पनि छ । करदातामा कर तिर्नेभन्दा पनि छल्ने प्रवृत्ति बढेको छ । यस्तो समस्या न्यूनीकरण गर्न असल करदातालाई सम्मान गर्ने परिपाटी बसालेका छौं । निजीक्षेत्रलाई सहभागी बनाएर कर सचेतनाका कार्यक्रम पनि गरिएको छ ।
कृषि र पर्यटन मुख्य सम्भावना
लालबाबु कुशवाह
अध्यक्ष, सिम्रौनगढ उद्योग वाणिज्य संघ
सिम्रौनगढ क्षेत्र पर्यटन र कृषिमा अगाडि रहेको छ । यो अवसरको उपयोगमा सरकारले ध्यान दिएको छैन । यहाँ भारतीय पर्यटकलाई सहजीकरण गर्नु पर्दछ । तर, पर्यटकले सिमानामा सास्ती खेपिरहेका छन् । हामीले यसबारे सरोकारका मन्त्रालयमा बारम्बार धाएर पनि ध्यानाकर्षण गरायौं । अहिलेसम्म केही सुनुवाइ भएन । सरकारहरू यो क्षेत्रको विकासका अवसर उपयोगमा गम्भीर देखिएनन् । यो ठाउँ माछा र तरकारी उत्पादनमा पनि अगाडि छ । यसका लागि कृषि बजारको खाँचो छ ।
गुनासो गर्ने प्रवृत्ति बढी भयो
प्रेमकुमार उपाध्याय
पूर्व प्रमुख, राजाराम बहुमुखी क्याम्पस
सरकारले तथ्यलाई स्वीकार गर्न नचाहेकाले विकास र समृद्धिका पक्षमा ठोस काम हुन सकेको छैन । हामी तथ्यांक र अनुसन्धानलाई मान्न चाहदैनौं । मधेशका ८ जिल्लामध्ये बाराको प्रतिव्यक्ति आय सबैभन्दा बढी छ । तर, गुनासो मात्र गर्ने, काम नगर्र्ने प्रवृत्तिका कारण अघि बढ्न नसकेका हौं । हामी आफूलाई हेर्दैनौं । विद्यार्थीहरू पढ्न भारतका विभिन्न शहरमा पुग्छन् । त्यहाँका शिक्षण संस्थासँगको सहकार्यमा त्यो शिक्षा हामी यही दिन सक्दछांै । त्यतापट्टि हामीले सोचेकै छैनौं किन ? शहरहरू वृद्धाश्रमजस्ता भएका छन् । स्रोत र साधनमात्र भयो, तर ट्यालेन्ट भएन भने पनि काम लाग्दैन । हरेक कुरा राजनीतिमा जोडिएको हुन्छ । बुद्धिविलासमात्र बढी भयो, त्यसलाई व्यवहार र काममा उतार्ने तत्परताको अभाव छ ।
जनशक्ति पलायनले मानव संसाधनमा समस्या
उपेन्द्र ठाकुर
पत्रकार
बारा जिल्ला कृषि र उद्योगको क्षेत्र भए पनि जनशक्ति पलायनले मानव संसाधनको समस्या उत्पन्न भइरहेको छ । कृषि मजदूर पाउन छोडिएको छ । बारा चिनी उत्पादनको क्षेत्र हो । चिनी उद्योगको विद्युत् उपयोगको नीति बनाउने हो भने चिनी र विद्युत् दुवैमा लाभ लिन सकिन्छ । चिनी उद्योगबाट विद्युत् उत्पादनको नीतिमा नेपाल विद्युत् प्राधिकरण उदार छैन । भारतबाट दूध भित्रिँदा यहाँका किसानले भाउ पाएका छैनन् । कृषिको अनुदान वास्तविक किसानको हातमा पुगेको छैन । यसमा सरोकारका सबै पक्षले सोच पुर्याउन आवश्यक छ ।
कृषि उत्पादनको बजारीकरण हुनु पर्दछ
रामजीवन ठाकुर
कृषि प्रसार अधिकृत, कृषि ज्ञान केन्द्र, बारा
मधेशको समृद्धिमा कृषिभन्दा सहज सम्भावना अरू छैन । कृषि नै समृद्धिको आधार हो । यसमा नीतिगत समस्या छन् । योजनामा तथ्यांकको उपयोग छैन, यस्ता समस्याको समाधान खोजिनु पर्दछ । तहगत सरकारबीच समन्वयको खाँचो छ । यसमा तहगत सरकारले सोच्नु पर्दछ । रासायनिक मलखादको विकल्पको रूपमा प्रांगारिक मल उपयोगमा ध्यान जान सकेको छैन । यसमा पालिकाहरूले योजना बनाएर आपूर्ति व्यवस्था बनाउन सक्छन् । कृषिलाई मर्यादित पेशाको रूपमा स्थापित गरिनु पर्दछ । कृषिको उत्पादनसँगै बजारीकरणको खाँचो छ । कृषिलाई औद्योगिकीकरणमा जोड्न आवश्यक छ । युवा आम्दानीको पेशामा जान्छन् । उद्यमशीलताका लागि पैसा कहाँबाट आउने ? अभिभावकले मोटरसाइकल किन्न पैसा दिन्छन्, तर भैसी किन्न दिँदैनन्, किन ? यो सोच परिवर्तन हुनुपर्दछ ।
सरकार भ्रष्टाचारमा लिप्त छ
उमेशलाल दास
नागरिक अगुवा
विकासको अवधारणा र योजना प्रभावकारी हुनु पर्दछ । योजना बनाएरमात्र हुँदैन, त्यसलाई स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने गरी कार्यान्वयनमा लैजानु मुख्य कुरा हो । अहिलेका नागरिक कर तिर्नेमात्र भए, कर तिरेबापत कुनै सेवा सुविधामा पहुँच हुन सकेको छैन । मधेश विद्रोह खासमा आर्थिक रूपान्तरणका लागि भएको विद्रोह थियो । सरकार भ्रष्टाचारमा लिप्त छ । नागरिकमा व्यापक असन्तोष छ ।
उखु उधारो बाली भइसक्यो
मुकेशप्रसाद कुशवाहा
अगुवा कृषक
उखुलाई नगदे बाली भनिन्छ । तर, यो उधारो बाली भइसक्यो । किसानले उखुको भुक्तानी समयमा पाउन सकेको छैन । आफैले बेचेको उखुको पैसा पाउन आन्दोलन गर्नुपर्ने अवस्था छ । उखुको पैसा पाउन ज्यान गुमाउनुपर्ने स्थिति छ । यस्तोमा कृषिप्रति आकर्षण कसरी हुन्छ ?
बारा जिल्लाको वस्तुस्थिति
बारा जिल्लाको नामकरण : एक समय जिल्लाको उत्तर–पूर्वी भेगमा पर्ने गढी गौडा (बारा गढिमाई) र बारागढी भन्ने स्थानको नामबाट यस जिल्लाको नाम बारा रहेको भनाइ छ ।
सिमाना : पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतको विहार राज्य पर्छ ।
जिल्लामा १६ ओटा पालिका छन् ।
तीमध्ये सदरमुकाम कलैयासहित दुई उपमहानगरपालिका, पाँच नगरपालिका र ९ ओटा गाउँपालिका छन् ।
कलैयाबाट करीब ७ किलोमिटर पूर्वमा पर्ने गढिमाई मन्दिरको पञ्चवर्षीय मेला सबैभन्दा बढी बलि चढाइने मेलाको रूपमा चर्चित छ ।
ऐतिहासिक पृष्ठभूमिमा बारा
- मल्लकालीन डोय राज्यको राजधानी सिम्रौनगढ बारामा पर्दछ ।
- प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको मृत्यु बाराको पत्थरहट्टीमा बाघको शिकार खेल्न आउँदा भएको इतिहास छ ।
- राणा प्रधानमन्त्री चन्द्रशम्शेरले दासप्रथा उन्मूलन गरी दासहरूलाई अमलेख गरी बसालेको अमलेखगञ्ज बारामा पर्छ ।
- प्रमुख नदीहरू : अरुवा, लालवकैया, पसाहा, जमुनी, तीयर, दुधौरा, बंगरी, थल्ही
- प्रमुख तालहरू : हलखोरिया दह, झरोखर पोखरी, शिव सरोवर, इटाही पोखरी, कवही पोखरी, सन्तगज पोखरी देवापुर पोखरी इत्यादि ।
- प्रमुख धार्मिक स्थलहरू : गढिमाई मन्दिर, कंकाली मन्दिर, चुरियामाई मन्दिर, जितपुर गढिमाई मन्दिर, सनुखिया माई मन्दिर, ऐतिहासिक हलखोरिया दह, रनिवास मन्दिर, सहजनाथ महादेव मन्दिर, ऐतिहासिक सिद्धेश्वर महादेव मन्दिर ।
- मुख्य बजारहरू : कलैया, सिम्रौनगढ, कचोर्वा, पिप्राढी, वरियारपुर, बेलहिया, प्रस्टोका, गञ्जभवानीपुर, फेटा, प्रसौनी, परवानीपुर, चैनपुर, जीतपुर, सिमरा, डुमरवाना, अमलेखगञ्ज, निजगढ, कोल्भी, कवहीगोठ, रतनपुरी ।
- देशकै ठूलो औद्योगिक कोरिडोर वीरगञ्ज–पथलैयाको मुख्य क्षेत्र र ठूला औद्योगिक प्रतिष्ठान यसै जिल्लामा अवस्थित छन् ।
- विशेष आर्थिक क्षेत्र (सेज), काठमाडौं–तराई द्रुतमार्ग, प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल आर्थिक सम्भाव्यताका पूर्वाधार बारामा पर्दछन् ।
- आर्थिक राजधानी मानिएको वीरगञ्जलाई संघीय राजधानीसँग जोड्ने सिमरा विमानस्थल बारामा छ ।