काठमाडौं। जाइका नेपाल कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईले विद्यार्थीलाई अनुकूल सिकाइ वातावरण सृजना गर्न आकस्मिक विद्यालय पुनर्निर्माण परियोजनाद्वारा पुनर्निर्माण गरिएका २७४ विद्यालयका विद्यार्थीबीच चित्रकला प्रतियोगिता आयोजना गरेको छ । गत नोभेम्बर र डिसेम्बरमा ‘मेरो नयाँ विद्यालय : मेरो गौरव’ थिममा चित्रकला प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा १२० विद्यालयको आधारभूत र माध्यमिक तहका १ हजारभन्दा बढी विद्यार्थीको सहभागिता रहेको बताइएको छ । सहभागीबाट फाइनलमा पुगेका कलाकृतिलाई व्यावसायिक चित्रकार, परियोजना निर्देशक र जाइका नेपालका प्रमुख प्रतिनिधिले मूल्यांकन गरेका थिए । विभिन्न विधाका विजेतालाई काठमाडौंमा आयोजित औपचारिक कार्यक्रमका बीच सम्मान गरिएको छ ।