महिला उद्यमशीलता प्रवर्द्धनका लागि आर्थिक अभियान दैनिकको प्रकाशक न्यू बिजनेश एजले आयोजना गरेको ‘न्यू बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२४’ को चौथो संस्करण शुक्रवार सम्पन्न भएको छ । कार्यक्रममा उद्यम तथा व्यवसाय गर्दै आएका महिलालाई विभिन्न ६ विधामा १२ जनालाई अवाडर््स वितरण गरिएको छ, जसमा सातै प्रदेशका एक–एक जनालाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ विधामा अवार्ड्स दिइएको छ । अवार्ड वितरणअघि ‘स्ट्रेन्दनिङ वुमन्स बिजनेश लिडरशीप’ थिममा प्यानल छलफल गरिएको थियो, जसमा उद्यम र व्यवसायका क्षेत्रमा महिला सहभागिता बढिरहे पनि अझै सुधारको आवश्यकता रहेकोमा चर्चा गरिएको थियो । यस्ता कार्यक्रमले महिलालाई उद्यमशील बन्न प्रेरित गर्ने भएकाले यस क्षेत्रमा नयाँ आशा पलाएको समेत देखिन्छ ।
नेपालको व्यावसायिक जगत्मा महिला सक्रियता बढ्दो छ । तर, यो पर्याप्त छैन । खासगरी गणतन्त्रात्मक संविधान पनि हरेक क्षेत्रमा महिला प्रतिनिधित्व गरिएकाले महिलाको उपस्थिति बढ्दो छ तर महिला आफै सक्रिय भएर अगाडि नआएसम्म कानूनी व्यवस्थाले मात्रै परिवर्तन ल्याउन कठिन हुने देखिन्छ किनभने कानूनी व्यवस्थालाई सकेसम्म छल्ने प्रवृत्ति पाइन्छ, जुन निर्वाचनका क्रममा राजनीतिक दलहरूले महिलालाई अवसर कम दिएर पुष्टि गरेका छन् ।
सरकारले उपलब्ध गराएका सबै सुविधा र सहुलियत सहज रूपमा पाउने वातावरण बनाउने काम सरकारले गर्नुपर्छ । अहिले महिला सशक्तीकरण हुँदै गएको र उद्यमी बनेर आर्थिक क्षेत्रको नेतृत्व गर्ने प्रयासमा रहेको पाइन्छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले पहिलोपटक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ ले महिला उद्यमीहरूको अवस्थाबारे केही प्रकाश पारेको छ । यसअनुसार नेपालमा सञ्चालित ९ लाख २३ हजार ३५६ औद्योगिक व्यावसायिक प्रतिष्ठानमध्ये महिला संस्थापक भएका प्रतिष्ठानहरूको संख्या २ लाख ४७ हजार ८८० अर्थात् २३ दशमलव ८५ प्रतिशत रहेको छ । यसबाट उनीहरूले करीब ५ लाखलाई रोजगारी प्रदान गरेको अनुमान छ । यसमा पनि सबैभन्दा बढी प्रतिष्ठान बाग्मती प्रदेशका रहेको पाइन्छ भने सबैभन्दा कम मधेश प्रदेशमा रहेको देखिन्छ । कुल प्रतिष्ठानमध्ये ५० प्रतिशतमात्रै दर्ता भएर सञ्चालन भएका पाइन्छन् जसमा महिला संस्थापक भएका प्रतिष्ठानहरू ८ दशमलव ७१ प्रतिशत मात्रै दर्ता भएर सञ्चालनमा आएको देखिन्छ । कुल प्रतिष्ठानमध्ये औद्योगिक वर्गीकरणअनुसार हेर्दा सबैभन्दा बढी थोक खुद्रा व्यापार तथा मोटर तथा मोटरसाइकल मर्मतसम्भार कार्यमा महिलाको अंश बढी रहेको देखिन्छ । त्यसपछि आवास तथा भोजनसम्बन्धी कार्यमा रहेको तथ्यांकले देखाएको छ । तेस्रोमा मात्रै औद्योगिक उत्पादन क्षेत्रमा महिलाको संख्या बढी देखिएको छ । महिला संस्थापक भएको प्रतिष्ठानमा प्राय: आफै मात्र एकल जनशक्तिका रूपमा कार्यरत भएको पाइन्छ । यी तथ्यांकले नेपालमा महिलालाई उद्यमशील नेतृत्वमा आउन अझै समय लाग्ने देखाउँछ ।
सरकारले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउन विभिन्न सुविधा, छूट र आरक्षणको समेत व्यवस्था गरेको छ । तर, व्यवहारत: ती कार्यान्वयनमा आउन विविध बाधा रहेका छन् । खासगरी बैंकिङ कर्जाको पहुँच चुनौतीपूर्ण देखिन्छ । महिलाहरू आफैले उद्यम गर्न चाहिने जानकारी लिनुपर्ने र कहाँ के सुविधा पाइन्छ, बजार कस्तो छ, अन्तरराष्ट्रिय बजारको अवस्था, पहुँच र प्रविधि के छ भनेर जान्नुपर्ने हुन्छ । जसले यी कुरामा आफै पहल लिएका छन् ती महिला उद्यमी आफ्नो व्यवसायलाई बलियो बनाउन र नेतृत्व दिनसमेत सक्षम रहेको देखिन्छ । त्यस्तै सरकारले उपलब्ध गराएका सबै सुविधा र सहुलियत सहज रूपमा पाउने वातावरण बनाउने काम सरकारले गर्नुपर्छ । अहिले महिला सशक्तीकरण हुँदै गएको र उद्यमी बनेर आर्थिक क्षेत्रको नेतृत्व गर्ने प्रयासमा रहेको पाइन्छ । आर्थिक रूपमा सक्षम भए मात्र समता, विकास गर्दै नेतृत्व र निर्णयमा समेत सहभागी हुन सकिने कुरा प्यानल छलफलका सहभागीले बताएका थिए ।
उद्यमशीलतामा लागेका सबै प्रदेशका उद्यमीलाई छानेर पुरस्कृत गर्दा त्यसले गाउँठाउँमा रहेका साना उद्यमीलाई समेत हौसला दिने सहभागीले बताएका थिए । आधाभन्दा बढी जनसंख्या महिला भएको हुँदा यस्तो सम्मान गर्ने परिपाटीले महिला उद्यमीलाई उद्यमको नेतृत्वमा ल्याउन सकिन्छ जसले आर्थिक रूपान्तरण ठूलो छलाङ मार्ने आशा गर्न सकिन्छ ।