मीटरब्याजका उजुरी फछ्र्यौटमा पर्सा मधेशमै अग्रणी, ३४ करोडको दाबी २० करोडमा टुंगियो

गत वर्ष काठमाडौं राजधानीको रत्नपार्कलाई आश्रयस्थल बनाएर बसेका पीडितलाई हटाएपछि 'खोइ घरजग्गा मीटरब्याजीले लुट्यो, खोइ ग्यास सीलिन्डर प्रहरीले चोर्यो' जस्ता पम्प्लेट टाँसेर आन्दोलनमा उत्रिएका थिए, फाइल तस्वीर ।

Share News

वीरगञ्ज । पर्सा अनुचित लेनदेन (मिटरब्याज) का विवाद मिलाउने मधेशमै अग्रणी जिल्ला बनेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले हालसम्म अनुचित लेनदेनका १ हजार १ सय ८१ ओटा उजुरी फछ्र्यौट गरिएको जनाएको छ । 

स्थानीय जिल्ला प्रशासन कार्यालयबाट कारवाहीका लागि पठाइएका र प्रहरीमा परेका उजुरीहरूको छानविन गरी टुंगो लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नावय उपरिक्षक दीपक भारतीले बताए । प्रहरी नायव उपरीक्षक भारतीका अनुसार यही असोज १६ गतेसम्ममा २ हजार २०७ ओटा उजुरी दर्ता भएका थिए । तीमध्ये अधिकांश जिल्ला प्रशासन कार्यालयमार्फत कारवाहीका लागि पठाइएका छन् । प्रशासनबाट आएका उजुरीको संख्या १ हजार ६६२ हुँदा प्रहरीमा सोझै दर्ता हुन आएका संख्या ५४५ रहेको छ । 

अनुचित लेनदेनका उजुरी फछ्र्यौट संख्याका आधारमा पर्सा जिल्ला मधेशमै अग्रस्थानमा रहेको भारतीले दाबी गरे । ‘अनुचित लेनदेनको विवाद मेधशका ८ जिल्लामा बढी देखिएको छ । पर्सा जिल्ला दर्ता भएका उजुरी फछ्र्यौटमा अग्रस्थानमा रहेको छ,’ आएका उजुरीलाई सकभर आधार प्रमाणका मेलमिलापमा टुंगो लगाउने प्रयास गरिएको पनि उनले बताए । 

फछ्र्यौटमेलमिलाप गराइएकामा ३४ करोड ११ लाख रुपैयाँबराबरको दाबी गरिएकोमा २० करोड ९३ लाख रुपैयाँमा टुंगो लगााइएको भारतीले जानकारी दिए । साहुहरूले माग दाबी गरेको रकमको छानविन गरी आधार प्रमाणका आधारमा मेलमिलापमार्फत फछ्र्यौट भएको प्रहरी नावय उपरिक्षक भारतीको भनाइ छ । यी उजुरी फछ्र्यौट गराउँदा २५ बिघा १ कठ्ठा ६ कनवा जग्गा र ती जग्गामा बनेका घर फिर्ता गराएको पनि प्रहरीको अनुचित लेनदेनसम्बन्धी उजुरी हेर्ने शाखाले दिएको तथ्यांकमा उल्लेख छ । 

मेलमिलाप हुन नसकेकालाई भने मुद्दाको प्रक्रियामा लगिएको प्रहरीले जनाएको छ । हालसम्म १५ ओटा मुद्दा दर्ता भएको र यसक्रममा १३ जनालाई पक्राउ गरिएको पनि जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले देखाएको छ । सरकारले हालै अनुचित लेनदेनसम्बन्धी कानून ल्याएपछि यो कसुरमा मुद्दा चलाउने बाटो खुलेको हो । 

गत साउन १२  गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी मुलुकी देवानी संहिता, मुलुकी अपराध संहिता र मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन गरेको थियो । यी कानूनको संशोधनपछि अनुचित लेनदेनसम्बन्धी कार्यलाई कसुर कायम गरेर कारवाही चलाउने बाटो खुलेको हो ।यसअघि सरकारले अनुचित लेनदेनसम्बन्धी उजुरी लिने र मेलमिलाप गराउने जिम्मा स्थानीय प्रशासनलाई दिएको थियो । अहिले पनि यो प्रयोजनका अनुचित लेनदेनसम्बन्धी सहायता कक्षमा उजुरी आउनेक्रम जारी नै रहेको प्रशासन जनाएको छ । 

सरकारले अनुचित लेनदेनसम्बन्धी विवादमा उजुरी लिन थालेपछि बिक्री गरिसकेको जग्गामा समेत अनुचित लेनदेनको विवाद आउन थालेको पनि प्रहरीले बताएको छ । ‘कति त १५÷२० वर्ष पहिला बेचिसकेको जग्गामा समेत अनुचित लेनदेन भयो भनेर उजुरी आएको देखियो । यस्ता विवादमा आधार प्रमाण हेरेरमात्रै अघि बढाउने गरिएको छ,’ सूचना अधिकारी भारतीले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।