नेपालमा प्रमुख खाद्य बाली लगाउने बेला सधैं किसानले मलको अभाव झेल्नु परिरहेको छ । कृषि प्रधान मुलुक र खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै हरेक सरकारले कार्यक्रममा र बजेटमा उल्लेख गरे पनि उत्पादकत्व वृद्धिका लागि मलको आपूर्ति सहज बनाउन भने कुनै चासो दिने गरेको छैन । त्यसैले समस्या आपूर्तिभन्दा पनि सोचमा देखिन्छ । मलको गम्भीरतालाई सरकारी कर्मचारी र मन्त्रीले कहिल्यै वास्ता नगर्नु तर आफन्तलाई ठेक्कापट्टा मिलाउनुजस्ता गतिविधिकै कारण चाहिएका बेला किसानले मल पाउन नसकेका हुन् ।
नेपालमा सधैं मलको हाहाकार हुने गरेको छ । विगतमा मल आयातको ठेक्का लगाउँदा नै चलखेल हुने गथ्र्यो । ठेक्का पाएको कम्पनीले समयमा नै आपूर्ति गर्न सक्दैनथ्यो र मलको हाहाकार हुन्थ्यो । अनुदानको मल आयात गर्न सरकारले सरकारी कम्पनीलाई जिम्मेवारी दिने गरेको छ । यसरी आयात भएको मल सहकारी संस्थाहरूबाट किसानलाई विक्री वितरण गर्ने गरिएको छ । सहकारीले सही ढंगले वितरण नगर्दा किसानले मल पाउन समस्या हुने गरेको छ । सहकारीहरूलाई पर्याप्त मात्रामा मल नदिँदा किसानलाई थोरै मल दिनुपर्ने अवस्था छ । दुईचार किलो मल लिएर किसानले के गर्नु ? त्यसैले मल वितरणको प्रणालीमै समस्या छ भन्ने देखिन्छ ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत प्रदेश सरकार र स्थानीय तहलाई वितरणको अधिकार दिए पनि स्थानीय स्तरमा किसानले मल नपाएको गुनासो बारम्बार आउने गरेको छ । त्यसकारण ऐन संशोधन गरेर भए पनि विक्रीवितरण सहज बनाउन आवश्यक छ । अनुदानको मल वितरण निर्देशिका, २०७७ नै संशोधन गर्न सरकारले समिति गठन गरेको छ । विगतमा मलकै हाहाकार हुन्थ्यो तर अहिले मलको अभावभन्दा पनि वितरण प्रणालीको कमजोरीका कारण किसानले मल नपाएको अवस्था छ ।
सरकारले कृषि उत्पादन र उत्पादकत्व बढाई कृषिमा आत्मनिर्भर मात्र होइन, निर्यात पनि गर्ने लक्ष्यसहित कृषि दशक मनाउने घोषणा गरेको छ । जेजस्तो कार्यक्रम बनाए पनि किसानले समयमा मल र बीउ पाउँदैनन् भने तिनको कुनै अर्थ हुन्न । सरकारले मलको आपूर्तिको व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा सबैभन्दा पहिले मलको सहज आपूर्ति व्यवस्था मिलाउन आवश्यक देखिन्छ ।
मलको आयातमा समस्या हुँदा विगतमा भारत र चीन सरकारसँग विशेष अनुरोध नै गर्न परेको थियो तर अहिले त्यस्तो अवस्था छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार वर्षेबालीका लागि करीब साढे २ लाख मेट्रिक टन मल आवश्यक पर्छ । सरकारको गोदाममा यतिबेला ९४ हजार ५०० मेट्रिक टन मल मौज्दात छ । थप १ लाख ३१ हजार मेट्रिक टन मल आयातको क्रममा रहेको छ । ७५ हजार टनभन्दा बढी रासायनिक मल असार पहिलो साताभित्र नेपाल आइपुग्ने गरी तथा थप २५ हजार टन मल असार पहिलो साता चीनबाट ढुवानी शुरू हुने मन्त्रालयको भनाइ छ । यस हिसाबले धान रोपिसक्ने बेलासम्म रासायनिक मल पर्याप्त उपलब्ध हुने देखिन्छ । मल पर्याप्त हुँदा पनि आपूर्ति व्यवस्था सहज बनाउन नसक्नु सरकारकै कमजोरी हो । अहिले मलको विक्रीवितरणका लागि स्थानीय सरकारलाई जिम्मेवारी दिने गरी समितिले अध्ययन गरिरहेको बताइन्छ । तर, यसले पनि समस्याको समाधान दिने देखिँदैन ।
यसपटक मलको मूल्य निकै घटेको छ र आपूर्ति पनि सजिलै भएको छ । त्यसो हुँदा पनि किसानले विनामल धान रोप्न बाध्य हुनुको कारण सरकारी अकर्मण्यता नै हो । आफूले विक्रीवितरण गर्न नसक्ने अनि सहकारीलाई जिम्मा लगाउने अनि सहकारीले उचित तरीकाले मल वितरण गर्न नसक्ने अवस्था दोहोरिइरहेको छ । यसको समाधान गर्न मल आयातको जिम्मा पनि निजीक्षेत्रलाई नै दिनुपर्छ र विक्रीवितरणको जिम्मा पनि निजीक्षेत्रलाई नै दिनुपर्छ । सरकारले दिने अनुदान व्यवसायीलाई दिनुपर्छ जसले गर्दा मलको लागत कम हुन्छ । मलको सहज आपूर्तिले कृषि उत्पादन र उत्पादत्व बढाउने हुँदा यसमा सरकार गम्भीर हुनैपर्छ ।