असार महीना, मानु रोपेर मुरी फलाउने समय मानिन्छ । कृषिप्रधान मुलुक नेपालमा रमाइलो गर्दै रोपाइँ गर्ने परम्परा रहँदै आएको छ । असार १५ दहीच्यूरा खाने सामाजिक पर्वसमेत हो तर सरकारले यो दिनलाई धान दिवस भनेर मनाउन थालेपछि भने यो मनोरञ्जन दिवस बन्दै गएको छ । जति नै आलोचना भए पनि रोपाइँको नाममा गरिने मनोरञ्जन र विकृतिमा कमी आएको छैन, बरु बढेको छ ।
सरकारले मनाउने धान दिवसको औपचारिक कार्यक्रम नै आलोचित हुँदै आएको छ । कहिले गमलामा धान रोपेर र त कहिले मन्त्रीले खेतमा गएर उपद्रो गर्ने प्रवृत्तिले गर्दा सरकारको आलोचना हुने गरेको हो । धान दिवस भनेर मनाइरहँदा सरकारले परम्परागत धानका प्रजातिको संरक्षणका कार्यक्रम ल्याउनुपर्ने हो, धान उत्पादन बढाउन किसानलाई सस्ता र साना हाते औजार सहज रूपमा उपलब्ध गराउनुपर्ने हो । त्यस्तै सिँचाइ, मल र उपयुक्त बीउका अभावमा धान खेतीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढाउने कार्यक्रम अपेक्षित मात्रामा ल्याउन सकिएको छैन । यी कार्यक्रममा समीक्षा गरी धान दिवसमा सरकारले नयाँ कार्यक्रम घोषणा गर्ने, धानखेतीमा विशेष योगदान दिने कृषक, जिल्ला आदिलाई पुरस्कृत गर्ने जस्ता कार्यक्रम अपेक्षित हुन्छ । तर, यस्तो अत्यावश्यक कार्यक्रमभन्दा राष्ट्रपतिले आफ्नो निवासमा धान रोप्ने र धेरैजसो नेता १ दिन खेतमा रमाइलो गर्न जाने र त्यसलाई सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेर धान दिवसको सार्थकता सिद्ध हुँदैन ।
धान दिवसको औपचारिकतामा धेरै नै विकृति जन्मिएको छ । यस्तो विकृतिले न धान उत्पादन र उत्पादकत्वमा सहयोग गर्छ न कृषि पेशालाई सम्मानित नै बनाउन सक्छ ।
सरकारले धान दिवस मनाउन थालेको २१ वर्ष भइसक्यो । यो २१ वर्षमा धानखेतीको क्षेत्रफल घटिरहेको छ । यसलाई व्यावसायिक बनाउन अझै सकिएको छैन । युवावर्गलाई खेतीमा आकर्षित गर्न सकिएको छैन । अझै धानको उत्पादन आकाश हेरेर अनुमान गर्नुपर्ने अवस्था छ । मलको आपूर्ति र वितरणको समस्या उस्तै छन् । धानमा लगायत अन्न बालीमा कृषिबीमा पनि खासै हुँदैन । २१ वर्षमा केके कार्यक्रम ल्याइयो, तिनबाट केके उपलब्धि प्राप्त भयो, केकस्ता कमजोरी रह्यो र अब कसरी तिनलाई सुधार्ने भन्नेमा सरकारको चासो र चिन्तन पर्याप्त देखिएको छैन ।
धान दिवसकै अवसर पारेर पर्यटक लोभ्याउन हिलोमा उनीहरूलाई खेलाउनु उपयुक्त नै हो । तर, लस्करै लागेर नेताहरू तथा युवाहरू हिलोमा लडिबुडी खेल्नु मनोरञ्जनका हिसाबले ठीक होला तर धान दिवसको औचित्य र सार्थकताका दृष्टिकोणले उपयुक्त मान्न सकिँदैन । अझ धानका बेर्नाको माला लगाउँदा, रोप्नुको सट्टा रोपेको नाटकमा खेर फाल्दामात्रै पनि धान उत्पादन घटाउन मद्दत गर्छ । यस्तो प्रचारबाजीको काम सरकारले नै शुरू गरेको हो र अहिले पनि निरन्तरता दिइरहेको छ । हो, धान रोप्ने नयाँ मेशिन बनेमा, हिल्याउने, सम्म्याउने नयाँ मेशिन बनेमा त्यसमा सरकारी अधिकारी जानु वा कार्यक्रम गर्नु केही हदसम्म उपयुक्त होला । त्यो पनि विकसित देशमा त्यस्तो चलन छैन । तर, धान दिवस भनेकै भरमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सरकारी अधिकारी, नेता सबैजनाले हिलोमा जानु भनेको कुनै पनि दृष्टिकोणबाट आवश्यक र तर्कसंगत देखिँदैन ।
अर्को, नेपालमा ३/४ हजार धानका प्रजाति रहेकामा अहिले हरित क्रान्तिका नाममा वा धान उत्पादन बढाउने नाममा अत्यधिक प्रजाति बलि चढिसकेका छन् । नेपाल कृषि अनुसन्धान परिषद्ले रैथाने धानका प्रजातिको संरक्षणमा पनि अनुसन्धान गरी तिनलाई जोगाउने कार्यक्रम गर्न आवश्यक छ । साथै, ती प्रजातिको खेतीको विस्तारको काम पनि गर्नु पनि उत्तिकै जरुरी छ । स्थानीय प्रजातिको धान कम फले पनि तिनले बढी मूल्य पाउने र तिनको बजार पनि रहेको तथ्य सरकारले बिर्सनु हुँदैन । बढी धान फलाउने लोभमा रैथानै प्रजाति नासिएपछि तिनलाई पुनर्जीवन दिन सकिँदैन ।
झिनुवा, अनदी, जेठोबूढो, घ्यूपुरी, कनकजिरा, जोगनी, सठिया, सत्तरीलगायतका रैथाने धानको बीउ जोगाउन कठिन भइसकेको छ । पोखराको पूर्वी भेग बेगनास आसपासमा मात्रै करीब ७० जातका धानका प्रजाति अनुसन्धाताहरूले भेट्टाएका थिए । तीमध्ये ४७ जात २० वर्षअघि नै संकटमा थिए । त्यसपछि कुनै अनुसन्धान भएको छैन । छोमरुङ धानलाई पोषक तत्त्वको मात्रा राम्रो भएको धान मानिन्छ । जर्नेली, रमनी, बिरमफुल, नालतुम्बे, मन्सरा, झौरी, तौली जातहरू भेट्टाउन मुश्किल छ । त्यस्तै औषधिजन्य आँगा, बयर्नी, समुद्रफिंजा, नाबो, बले, जिरासिरी, फल्याङकोटेलगायत नाम सुन्न अहिलेको पुस्तालाई मुश्किल भइसकेको छ । धानको गुणभन्दा पनि फल्ने मात्राको लेखाजोखामा किसान केन्द्रित हुँदा तथा कृषि अनुसन्धान केन्द्रले यी रैथाने जातका धानमा उचित ध्यान नदिँदा धेरै लोप भइसकेका छन् । सरकारले रैथाने जातलाई सुधार गरी बीउ उन्मोचन गर्नेतर्फ प्राथमिकता नदिँदा पनि धानका प्रजाति लोप हुने अवस्थामा पुगेका हुन् । सुनौलो सुगन्ध, पहिले लामे, जुँगे, एक्ले, मन्सारा, जर्नेली, काला नमक, काठे झिनुवा, पात्ले (मोटो), हंसराज जात अहिले पाइनै छाडेको छ ।
यी धानका प्रजातिको उत्पादन कम भए पनि तिनको स्वाद र पौष्टिकता समान हुँदैन भनिन्छ । धान नै भए पनि फरकफरक प्रजातिमा केही न केही विशेषता हुन्छ । हावापानी, माटो र मौसमले यस्ता उत्पादनको स्वाद, पौष्टिकता आदिमा फरक पार्ने तथ्य वैज्ञानिक रूपमा नै प्रमाणित भएको छ । बीउ बैंक स्थापना भए पनि तिनले यस्ता लोपोन्मुख धानको बीउ जोगाउन सकेको देखिँदैन ।
धान दिवसको औपचारिकतामा धेरै नै विकृति जन्मिएको छ । यस्तो विकृतिले न धान उत्पादन र उत्पादकत्वमा सहयोग गर्छ न कृषि पेशालाई सम्मानित नै बनाउन सक्छ । तिनलाई सुधार गरेर यसलाई सम्मानित कृषिकर्मसँग जोड्न सरकारले यो दिवसका स्वरूप नै परिवर्तन गर्न आवश्यक छ ।