काठमाडौं । विद्युतीय भुक्तानी बढाउन भन्दै मोबाइल वालेटमार्फत हुने कारोबारमा लचिलो नीति लिएको नेपाल राष्ट्र बैंकले अब यसमा कडाइ गर्ने भएको छ । वालेटमार्फत हुने कारोबारमा जोखिम बढ्दै गएपछि केन्द्रीय बैंकले आफ्नो नीति पुनरवलोकन गरी कसिलो बनाउन लागेको हो ।
‘विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न वालेट कम्पनीका लागि कारोबार सीमा बढाउनुका साथै विप्रेषण भुक्तानीमा समेत सहुलियत दिइएको छ,’ राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका एक अधिकारीले भने, ‘त्यो सुविधा अवैध भुक्तानीका लागि दुरुपयोग भएको भेटिएपछि त्यसमा पुनरवलोकन गर्ने पक्षमा छौं ।’
प्रहरीको अनुसन्धानका आधारमा राष्ट्र बैंक आफैले पनि वालेट कम्पनीहरूको कारोबार विश्लेषण गरिरहेको छ । त्यसका आधारमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही सम्बोधन हुने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले सुन तस्करीको अनुसन्धानका क्रममा अवैध भुक्तानीका लागि विद्युतीय वालेट प्रयोग भएको पत्ता लगाएको छ । राष्ट्र बैंकले हाल मोबाइल वालेटमार्फत दैनिक २ लाख र प्रतिमहीना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने गरी सीमा निर्धारण गरेको छ । तर, वालेट कम्पनीले विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी विप्रेषण भित्त्याउन सक्ने र यसका लागि रकमको सीमा लागू नहुने व्यवस्था गरेको छ ।
प्रहरीको अनुसन्धानमा वालेट कम्पनीहरू पेवेल र सजिलो पेले विप्रेषण कारोबारमा दिएको सुविधा अवैध रकम भुक्तानीका लागि प्रयोग गरेको भेटिएको छ । दुवै कम्पनीले अस्ट्रेलियाबाट सेन्ड मनी नेपाल र नमस्ते रेमिट्यान्सबाट विप्रेषण प्राप्त भएको भन्दै उक्त रकम भुक्तानी प्रयोजन देखाएर वालेटमार्फत कारोबार भएको छ । दुवै कम्पनीले राष्ट्र बैंकबाट विप्रेषण कारोबारको स्वीकृति नलिएको र रकम हुन्डीबाट आएको तथा भुक्तानीका लागि वालेट प्रयोग भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) ले सुन तस्करीको अनुसन्धानका क्रममा अवैध भुक्तानीका लागि विद्युतीय वालेट प्रयोग भएको पत्ता लगाएको छ ।
यसैगरी प्रहरी अनुसन्धानमा वालेट कम्पनीहरूले बैंक खातामा रहेको मौज्दातभन्दा बढी ई–मनी जारी गरेको र राष्ट्र बैंकमा दैनिक रूपमा पठाउने विवरण पनि सही नहुने गरेको खुलेको छ । राष्ट्र बैंकका अनुसार हाल नौओटा भुक्तानी प्रणाली सञ्चालक र २६ ओटा भुक्तानी सेवाप्रदायकले सेवा सञ्चालन गरिरहेका छन् । यसैगरी २० ओटा वाणिज्य बैंक, १६ ओटा विकास बैंक, १५ फाइनान्स कम्पनी तथा सातओटा लघुवित्त वित्तीय संस्थाले विद्युतिय भुक्तानी सेवा सञ्चालनका लागि अनुमति लिएका छन् । राष्ट्र बैंकले गतवर्ष गरेको अनुगमनमा पनि वालेट कम्पनीका एजेन्टले तोकेको सीमाभन्दा धेरै पैसा झिकेको, ग्राहकको विवरण अद्यावधिक नराखेको जस्ता कैफियत भेटिएको थियो । भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवाप्रदायक (पीएसपी) कम्पनीहरूले पर्याप्त मात्रामा भौतिक तथा प्राविधिक पूर्वाधार बनाउन नसकेको र सुशासनको अवस्थामा पनि कमजोर रहेको भुक्तानी प्रणाली विभागले प्रकाशित गरेको वार्षिक अनुगमन प्रतिवेदनमा उल्लेख छ । विभागले गत आर्थिक वर्ष (आव) मा तीनओटा पीएसओ र १२ ओटा पीएसपी गरी डेढ दर्जन कम्पनीहरूको स्थलगत अनुगमन गरेको थियो । यसैगरी ६ ओटा पीएसओ र २१ ओटा पीएसपी गरी २७ कम्पनीको गैरस्थलगत अनुगमन गरेको थियो । अनुगमनमा कैफियत भेटिएका कम्पनीलाई सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले बताएको छ ।