काठमाडौं । मोही समुह पाटनले शनिबार अलपत्र (आश्रयविहीन) कुकुरहरूलाई सालको पातबाट बनेको परम्परागत दुना टपरी प्रयोग गरी खाना खुवाएको छ । सांस्कृतिक सम्पदालाई करुणाका कार्यहरूसँग मिसाउने उद्देश्यले युवाहरूको समुहले यस्तो कार्य गरेको हो ।
सामुदायिक स्तरमा सञ्चालित पहल, 'ग्रीन शनिबार' को रूपमा चिनिन्छ । उक्त कार्यक्रम परम्परागत अभ्यासलाई पुनरुत्थान गर्न र सामुदायिक संलग्नतालाई बढावा दिन समर्पित युवाहरूको समुह ‘मोही’द्वारा आयोजना गरिएको थियो ।
दिगो र पर्यावरण मैत्री प्रवर्द्धन गर्ने प्रयासको रूपमा सहभागीहरूले हातले टपरीहरू बनाएका थिए । कार्यक्रमका आयोजक मध्ये एक प्रशान्त ढकालले भने, 'हामीले कुकुरहरूलाई खुवाउन हातले यी टपरी थालहरू बनायौँ । यो प्राकृतिक, पर्यावरणमैत्री सामग्री प्रयोग गर्दै जनावरहरूको हेरचाह लाई पनि देखाउने प्रयास हो।'
चाडपर्व र साम्प्रदायिक जमघटहरूमा परम्परागत रूपमा प्रयोग हुने टपरीहरू पूर्णतया बायोडिग्रेडेबल हुन्छन् र नेपाली संस्कृतिमा दिगो जीवन शैली झल्काउँने आयोजकको विश्वास रहेको छ । युवाहरूले कुकुरका लागि खाना तयार पार्न जाँतो प्रयोग गरेका थिए ।
'खाना तयार पार्दा जाँतोको प्रयोगले हाम्रा पुर्खाहरूले कसरी काम गरे भन्ने दर्शाउनु थियो,' रेजिना बस्नेतले भनिन्, यसले धैर्यता र श्रमको मूल्य बुझ्न सहयोग गर्यो ।'
'ग्रीन शनिबार' कार्यक्रम परम्परा, वातावरणीय जिम्मेवारी, र करुणा संयोजन गर्ने उदेश्यले आयोजना गरिएको थियो । परम्परागत वस्तु तथा साधनको प्रयोगले आधुनिक समयमा परम्परागत अभ्यासहरूको सान्दर्भिकता, समुदाय र वातावरण दुवैको लागि कत्तिको फाइदा जनक थिए भन्ने जान्न सहयोगी हुने मोहीको विश्वास रहेको छ ।