काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १८ गते १४ औं र १५ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौंको नगाउँ दोबाटोस्थित बाघभैरव ब्याङक्वेटमा उक्त दिन बिहान ९ बजे सभा गर्न लागेको हो ।
सभाले प्रबन्धपत्रको दफा ६ को घ, ङ, च, छ संशोधन गर्ने, नियमावलीको नियम २७ को उपनियम ४ पछि ५ थप गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालन समितिलाई अख्तियारी दिने र संस्थापक समूहबाट ४ र सर्वसाधारण समूहबाट १ महिलासहित २ जना सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।