काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित भएको छ ।
बैंकले दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले श्रीलंकाको कोलम्बोमा आयोजना गरेको बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२३ अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फ उक्त सम्मान हासिल गरेको हो ।
योसँगै बैंकले दोस्रो पटक उक्त सम्मान हासिल गरेको बैंकद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । बैंकले यसअघि सन् २०२१ को अवार्डस्मा पनि उक्त सम्मान पाएको थियो ।
साफाले विभिन्न विधामा बेस्ट प्रिजेन्टेड एनुअल अवार्ड प्रस्तुत गर्छ ।
दक्षिण एसियाली देशहरूबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरूलाई आधार मानेर उक्त अवार्डस् दिइने गरिएको छ । यसका लागि अवार्डस् छनोट समिति गठन गरिन्छ । यही समितिले गरेको मूल्याङ्कनको आधारमा अवार्डस् पाउने कम्पनी छनोट गरिन्छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले बैंकको वार्षिक प्रतिवेदन मूल्याङ्कनको लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियोे ।
उक्त अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए ।
वार्षिक प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई दिइने उक्त सम्मानलाई अति प्रतिष्ठित सम्मान मानिने गरिएको छ । अन्तरष्ट्रिय क्षेत्रमा समेत बैंक सम्मानित हुँदा बैंकमा कार्यरत कर्मचारीहरूलाई थप ऊर्जा मिल्ने बैंकले जनाएको छ ।
साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यही आउँदो मंसिर महीनाभित्र सार्वजनिक निष्कासनमार्फत् इकाईहरू विक्रीमा ल्याइने भएको छ । यस कोषको प्रवर्द्धक मुक्तिनाथ विकास बैंक छ भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल छ ।