काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरूको निरन्तर तीन वर्ष हात खाली हुने भएको छ ।
आर्थिक वर्ष ०७७/७८ पछि लाभांश वितरण नगरेको कम्पनीले यस वर्ष पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८०/८१ को लागि कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू आगामी वार्षिक साधारण सभाबाट पारित गर्नका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृति लिने निर्णय पनि सोही बैठकले गरेको छ ।
कम्पनीले हालसम्म तीन आर्थिक वर्ष लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष ०७४/७५ मा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश, आर्थिक वर्ष ०७५/७६ मा १० प्रतिशत बोनस शेयर र आर्थिक वर्ष ०७७/७८ मा २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश वितरण गरेको तथ्याङ्क छ ।