काठमाडौं । नेपालसँग सुरूङमार्ग सञ्चालनको अनुभव नभएको भन्दै सरकार नागढुंगा सुरूङमार्ग सञ्चालनका लागि विदेशी कम्पनी ल्याउने प्रयासमा लागेको छ ।
सडक विभागले देशकै पहिलो यो सुरूङमार्ग आयोजनाको सबै काम २०८२ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ । त्यसअघि विदेशी कम्पनीमार्फत उक्त सडक खण्ड सञ्चालन गर्न आवश्यक तयारीमा विभाग लागेको हो ।
‘सुरूङमार्ग सम्पन्न गरेसँगै यसका सुरक्षाका विषय, ट्राफिक व्यवस्थापन, अग्नि नियन्त्रण, सुरूङमार्ग प्रयोगकर्ताबाट उठाउने टोल (शुल्क), मर्मतसम्भारजस्ता कुराहरू एकैपटक व्यवस्थापन गर्नुपर्छ । यसका लागि सडक विभागसँग अनुभव छैन,’ आयोजनाका एक अधिकारीले आर्थिक अभियानसँग भने, ‘त्यसकारण यो सुरूङमार्ग सञ्चालनका लागि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर अनुभवी विदेशी कम्पनी ल्याउने योजनामा हामी छौं ।’
- सुरूङमार्ग सञ्चालन र टोल संकलनका लागि कार्यविधि बनाइँदै
- नेपालसँग सुरूङमार्ग सञ्चालनको अनुभव नभएकाले विदेशी ल्याउने तयारी
- सुरूङमार्ग २०८२ असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य
उनका अनुसार ठेक्का प्रक्रियाबाट योग्य कम्पनीलाई सञ्चालनको जिम्मा दिइनेछ । त्यस्तो कम्पनीले सुरूङमार्ग सञ्चालन र मर्मत दुवैथरी काम गर्नेछ । ती अधिकारीका अनुसार सुरूङमार्ग सञ्चालनका साथै टोल संकलनका लागि छुट्टै परामर्शदाता खोजिने छैन ।
जापानको सहुलियतपूर्ण ऋण सहयोग रहेको उक्त सुरूङमार्ग जापानी कम्पनी हाज्मा/आन्दो कर्पाेरेशनले नै बनाउँदै छ । उक्त कम्पनीको कामलाई अनुगमन, नियमन र गुणस्तर परीक्षण गर्ने परामर्शदाता कम्पनीले नै कति टोल शुल्क लिने, मर्मतसम्भारलगायत सञ्चालनका लागि सुझाव दिने भएकाले छुट्टै परामर्शदाता नियुक्त गर्न नपर्ने विभागका अधिकारीले बताए । नियमन, अनुगमन तथा गुणस्तर परीक्षणको काम हालको परामर्शदाताले नै गर्नेछ । परामर्शदाताका रूपमा नेपाली कम्पनी पनि संलग्न छ ।
मुख्य सुरूङ छेडिसकेको यो आयोजनामा अहिले सुरूङभित्र ‘फिनिसिङ’को काम भइरहेको छ । दुई लेनको हुने उक्त सुरूङमार्गभित्रको सडक ढलान (कंक्रिट सडक) हुने आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर (सीडीई) गोविन्द दुमरूले जानकारी दिए । उनका अनुसार हाल आयोजनामा लाइटिङ, आगलागी भए नियन्त्रण गर्ने, कालोपत्रे (ढलान) जस्ता काम भइरहेको छ । सुरूङमार्गबाट आवतजावत गर्ने सवारीसाधनबाट उठाउने शुल्क पनि निर्धारण गर्नुपर्ने हुन्छ । ‘सुरूङमार्ग सञ्चालनको कार्यविधि बनाउनुका अतिरिक्त टोल कति हुन्छ र कसले उठाउने भन्ने विषयमा कार्यविधि बनाउने क्रममा छौं,’ दुमरूले भने ।
यो आयोजना ४२ महीनामा सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते शिलान्यास भएको थियो । सुरूङमार्गको मुख्य शुरूङ २०८१ वैशाख ३ गते छिचोलिएको थियो । २ दशमलव ५ किलोमीटरको उक्त शुरूङ सन् २०२३ को अप्रिलमा सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा/आन्दोसँग सम्झौता भएको थियो । कोरोना महामारी र स्थानीयको विवादले पटकपटक सुरूङमार्ग निर्माण अवरुद्ध भएपछि म्याद थपिएर काम सम्पन्न गर्ने समय २०२५ अक्टोबरसम्म पुगेको छ ।
नेपाल सरकार र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)बीच यो सुरूङमार्ग बनाउन सन् २०१६ मा सम्झौता भएको थियो । त्यसअनुसार उक्त ऋण तिर्ने अवधि ४० वर्षको हुनेछ । नेपालले जाइकाबाट १६ अर्ब रुपैयाँ बराबर ऋण लिएको छ । यो परियोजनामा नेपाल सरकारले ६ अर्ब रुपैयाँ बेहोर्नेछ । यो सुरूङमार्गको कुल लागत २२ अर्ब रुपैयाँ रहेको छ ।