काठमाडौं। दूरसञ्चार सेवाप्रदायक एनसेललाई इन्टरनेट ब्यान्डविथ सेवा आपूर्ति गर्दै आएको टाटा कम्युनिकेशन इन्टरनेशनल प्रालि (सिंगापुर) ले ब्यान्डविथ दिन बन्द गरेपछि एनसेलको इन्टरनेट सेवाको गुणस्तरमा असर गर्न सक्ने देखिएको छ ।
तोकिएअनुसार फ्रिक्वेन्सी दस्तुर नतिरेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विगत ६ महीनादेखि एनसेल र सरकारको बहुमत स्वामित्व रहेको नेपाल टेलिकमलाई विदेशी मुद्राको सटही सुविधाबाट वञ्चित गरेको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।
तोकेअनुसार उक्त शुल्क तिर्नुपर्ने कि नपर्ने भन्नेमा सेवाप्रदायकहरू र नियामक निकायबीच विवाद छ । एनसेलले सर्वोच्च अदालतमा मुद्दा पनि हालेको छ । तर, उक्त शुल्क नतिरेसम्म विदेशी मुद्रा सटही सुविधाका लागि सिफारिश नगर्ने प्राधिकरणले अडान लिएपछि एनसेलले टाटा कम्युनिकेशन इन्टरनेशनललाई ब्यान्डविथबापतको रकम भुक्तानी गर्न नसकेको हो । ‘त्यसैले असार ३ गतेदेखि टाटाले ब्यान्डविथ दिन बन्द गरेको छ,’ एक एनसेल स्रोतले भन्यो, ‘हामीले प्राधिकरणलाई समस्याको जानकारी दिएर सटही सुविधाका लागि अनुरोध गरी चिठी पनि लेखेका छौं ।’
उनका अनुसार टाटा सिंगापुरलाई एनसेलले करीब ४ मिलियन अमेरिकी डलर (करीब ५४ करोड रुपैयाँ) तिर्नु छ । ‘टाटाले भुक्तानी नदिए कानूनी कारबाहीमा जाने भन्दै लिगल नोटिस पनि पठाइसकेको छ,’ स्रोतले भन्यो, ‘हामी भुक्तानी दिन तयार भए पनि सटही सुविधा नपाउँदा भुक्तानी गर्न पाइएको छैन ।’
करीब ६ महीनादेखि विदेशी मुद्राको सटही सुविधा नपाउँदा टाटालाई तिर्नुपर्ने रकम मात्र होइन, सेवामा सुधार गर्न ल्याउनुपर्ने उपकरण पनि आयात गर्न नपाएको एनसेल स्रोतले बतायो । ‘त्यसैगरी विदेशीसँग परामर्श सेवा लिएबापतको भुक्तानी पनि गर्न पाइएको छैन,’ स्रोतले भन्यो ।
सरकारको बहुमत स्वामित्व रहेको नेपाल टेलिकम र एनसेलबीच हाल बजारमा प्रतिस्पर्धा छ । तर, इन्टरनेट ब्यान्डविथ, उपकरण तथा परामर्श सेवाका लागि भुक्तानी गर्न नसकेपछि सेवा नै प्रभावित हुने र नेपाल टेलिकमसँगको प्रतिस्पर्धामा पछि परिने चिन्ता पनि एनसेलका अधिकारीहरूलाई छ ।
अहिले टाटाले ब्यान्डविथ दिन बन्द गरेको छ भने सटही सुविधाबाट निरन्तर वञ्चित रहेकै कारण अन्य कम्पनीहरूले पनि ब्यान्डविथ दिन बन्द गरेमा एनसेलको इन्टरनेट सेवा प्रभावित हुनेछ । एनसेलका अनुसार उसको जम्मा ब्यान्डविथ खरीदमा टाटाको योगदान ३० प्रतिशतभन्दा बढी छ । ‘टाटाले ब्यान्डविथ नदिए पनि हामीले विभिन्न उपाय अपनाई सेवाको गुणस्तरमा ह्रास आउन दिएका छैनौं तर अन्य कम्पनीहरूले पनि दिन बन्द गरेमा सेवा प्रभावित हुनेछ,’ स्रोतले भन्यो ।
गत वैशाख २० गते भारतीय कम्पनी एअरटेलले यसरी नै विभिन्न इन्टरनेट सेवाप्रदायकहरूलाई ब्यान्डविथ दिन बन्द गर्दा इन्टरनेट सेवा प्रभावित भएको थियो । केही घण्टा इन्टरनेटको गति निकै मन्द भएको थियो ।
प्राधिकरण र इन्टरनेट सेवाप्रदायक (आईएसपी) बीच ग्रामीण दूरसञ्चार कोषको रकम र रोयल्टी रकमको विषयमा विवादमा प्राधिकरणले उनीहरूलाई विदेशी मुद्रा सटही सुविधाबाट वञ्चित गरेको थियो । पछि सरकारी पहलमा इन्टरनेट ब्यान्डविथ दिन एअरटेल सहमत भएको थियो । हालै सर्वोच्च अदालतले यस मुद्दामा प्राधिकरणलाई जिताइदिएको थियो ।
प्राधिकरण र दुईओटा दूरसञ्चार सेवाप्रदायकबीच पनि फ्रिक्वेन्सी शुल्कको विषयमा विवाद छ । थ्रीजी सेवा विस्तारका लागि सन् २०१९ मा २१ सय ब्यान्डविथ अक्शनमा राखिएको थियो र बोलकबोलबाट फ्रिक्वेन्सीको मूल्य तय भएको थियो । तर, प्राधिकरणले उक्त फ्रिक्वेन्सी सेवाप्रदायकहरूलाई पहिलेदेखि निश्चित न्यूनतम रकम लिएर प्रयोग गर्न दिएको थियो । प्राधिकरणका अनुसार प्रतिमेगाहर्ज २४ करोड रुपैयाँ तोकिएको थियो ।
अक्शन प्रक्रियाबाट फ्रिक्वेन्सीको मूल्य बढी निर्धारण भएपछि प्राधिकरणले दुईओटा दूरसञ्चार सेवाप्रदायकलाई नयाँ कायम भएको मूल्यअनुसार पहिले प्रयोग गरेको समयको पनि शुल्क तिर्न भनेपछि विवाद भएको हो । यो मुद्दामा एनसेल अदालत गएको छ । उसले सर्वाेच्च अदालतमा रिट दिएको छ ।
‘पहिला फ्रिन्वेन्सी लिँदाका बेला पछि बोलकबोलबाट तय हुने मूल्यअनुसार सबै अवधिको शुल्क तिर्नुपर्ने शर्त थियो,’ नेपाल दूरसञ्चार प्राधिकरणका सहायक प्रवक्ता तथा उपनिर्देशक प्रदीप पौड्यालले भने, ‘उक्त शर्तअनुसार दूरसञ्चार सेवाप्रदायकले शुल्क नतिरेपछि विदेशी मुद्रा सटही सुविधा नदिइएको हो ।’
तर, एनसेल स्रोतले भने त्यस्तो शर्त नभएको र अन्यायपूर्ण ढंगले प्राधिकरणले शुल्क लिन खोजेपछि अदालत गएको बतायो । प्राधिकरणका अनुसार दुई सेवाप्रदायकसँग करीब २ अर्ब रुपैयाँ असुल्न बाँकी छ । प्राधिकरण गुणस्तरीय सेवा प्रवाह गर्न सघाउने संस्था रहेको भन्दै पौड्यालले सरकारलाई तिर्नुपर्ने दायित्वबाट सेवाप्रदायक कम्पनी पन्छिन नमिल्ने बताए ।
- टाटा कम्युनिकेशन इन्टरनेशनल प्रालि (सिंगापुर) ले एनसेललाई दिँदै आएको इन्टरनेट ब्यान्डविथ रोक्यो
- ब्यान्डविथ, उपकरण आयात र विदेशी परामर्श सेवाका लागि विदेशी मुद्रा नपाउँदा सेवाको गुणस्तर बिग्रने एनसेलको भनाइ
- नेपाल टेलिकम र एनसेलले तिनुपर्ने झन्डै २ अर्ब रुपैयाँको दायित्व बुझाए मात्रै सटही सुविधा खुलाउने प्राधिकरणको भनाइ
- नेपाल टेलिकम भन्छ– हामीलाई विदेशी मुद्रा सटहीमा कुनै समस्या छैन
बुझाउनुपर्ने दायित्व फरफारक पारेपछि प्राधिकरणले दिने सेवासुविधा पुन: खुला गर्ने उनको भनाइ छ । २/३ वर्षदेखिको दायित्व उनीहरूले प्राधिकरणलाई तिरेका छैनन् । सेवाप्रदायक कम्पनीले दायित्व भुक्तानीमा विलम्ब गर्दै जाने हो भने सरकारको कानूनअनुसार थप दस्तुर पनि लाग्ने भएकाले यो व्ययभार बढ्नेछ ।
लामो समयसम्म पनि फ्रिक्वेन्सी दस्तुर नतिरेपछि विकल्प नभएको भन्दै सेवा कटौती गरिएको पौड्यालको भनाइ छ । तर, सेवाप्रदायकहरूले मुद्दा अदालतमा विचाराधीन रहेकाले प्राधिकरणले विदेशी मुद्रा सटही सुविधाबाट वञ्चित गर्न नहुने बताइरहेका छन् । पौड्यालले अदालतले शुल्क नलिन अन्तरिम आदेश नदिएकाले शुल्क उठाउने अडानमा प्राधिकरण रहेको बताए । ‘अदालतमा गइसकेको विषय भनिएको छ, जानु पाउनु उहाँहरूको अधिकार हो र यो अन्यथा पनि होइन,’ उनले भने, ‘अदालत गए पनि अदालतको आदेश आएको छैन भने किन शुल्क नलिने ?’
प्राधिकरणले एनसेल र नेपाल टेलिकम दुवैलाई सटही सुविधाबाट वञ्चित गरे पनि नेपाल टेलिकमले भने हालसम्म विदेशी मुद्रा भुक्तानीमा समस्या नबेहोरेको दाबी गरेको छ ।
नेपाल टेलिकमका कार्यवाहक प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले अहिले विदेशी विनियम सटही सुविधाको कुनै समस्या नरहेको दाबी गरिन् । नेपाल टेलिकमले विदेशी कम्पनीहरूबाट लिएको सेवाबापतको रकम बुझाइसकेको उनको दाबी छ । ‘अहिले प्राधिकरणलाई बुझाउने दस्तुर पनि तिरिसकेका छौं,’ पहाडीले भनिन् ।