काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचकसँगै कारोबार रकममा वृद्धि भएको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ३३ प्रतिशत बढेर २ हजार ९२ विन्दुमा पुगेको हो । इन्ट्राडेमा परिसूचक २१ सय विन्दुमाथि पुगेको छ । कारोबार रकममा पनि आइतवार रू. ५ अर्ब २५ करोड रहेकोमा आज रू. ५ अर्ब ८५ करोडभन्दा बढीको भएको छ ।
नेपाल राष्ट्र बैंकले तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामार्फत बैंकको धितोपत्रसम्बन्धी नयाँ नीति लिएसँगै शेयर बजारमा सकारात्मक प्रभाव परेको जानकार बताउँछन् । गत शुक्रवार राष्ट्र बैंकले तेस्रो त्रैमासिक मौद्रिक नीतिको समीक्षामार्फत बैंकले लगानी गरेका धितोपत्र एक वर्ष पुगेपछि २० प्रतिशतसम्म विक्री गर्न दिने नीति लिएको हो ।
सस्तो मूल्यमा शेयर खरीद गरेर १ वर्षपछि मुनाफा लिएर विक्री गर्दा बैंकहरूको मुनाफा वृद्धिमा सहयोग पुग्ने अवस्था देखिन्छ । त्यस्तै लगातार बजार घट्दा बैंकको शेयर मूल्य निकै तल्लो विन्दुमा आएको थियो । यी कारणले गर्दा लगानीकर्ता बैंकको शेयरतर्फ आकर्षित भएको जानकार बताउँछन् ।
सोमवार सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ९९ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ५० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशलमव ३३ प्रतिशत वृद्धि भएको छ । यस दिन ३१५ धितोपत्रको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता शेयर ८० हजार ९८२ पटकमा रू. ५ अर्ब ८५ करोड बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी र भगवती हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सामुदायिक लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ६९ दशमलव ५०, बुद्धभूमि नेपाल हाइड्रोपावरको रू. ६०१ दशमलव ७० र भगवती हाइड्रोपावरको रू. ७२९ दशमलव ३० पुगेको छ ।
सोमवार सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ७ दशमलव ४० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ८५२ कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्नेमा दोस्रोमा श्रृजनशिल लघुवित्त वित्तीय संस्था छ । कम्पनीको शेयर मूल्य ६ दशमलव ३५ प्रतिशत घटेर रू. १ हजार ७२६ मा झरेको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा पोखरा फाइनान्सले ओगटेको छ । यस कम्पनीको रू. १९ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६९३ दशमलव ६० कायम भएको छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा रहेको सिइडिबी हाइड्रोपावरको रू. १८ करोड ८९ लाख बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये बैंकिङ्ग समूहको सूचक सबैभन्दा बढी ४ दशमलव १८ प्रतिशत वृद्धि भएको छ । यस्तै लघुवित्त समूहको सूचक शून्य दशमलव ६५ प्रतिशत घटेको छ ।