नेपालको एकमात्र सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमले जहाज खरीदका लागि लिएको ऋणको साँवाब्याजमध्ये हालसम्म ५ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी गरेको छ । १५ वर्षमा ऋण भुक्तानी गर्ने गरी सरकारको जमानीमा निगमले कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब गरी ३४ अर्ब ऋण लिएको थियो । सोही ऋणमध्ये उसले केही ऋण तिरेको हो । निगम विमानविहीन अवस्थामा पुगिसकेकाले यसलाई जसरी पनि सञ्चालन गर्नुपर्छ भन्ने सोचका साथ दुईओटा न्यारोबडी र दुईओटा वाइडबडी विमान खरीद गरिएको थियो । यो खरीद प्रक्रिया शुरूदेखि नै विवादित रहँदै आएको थियो भने हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको छ । कुनै बेला नेपालको आन्तरिक र बाह्य उडानमा एकलौटी जस्तै गर्न पाएको निगमले अहिले वायुसेवाको निकै सानो अंशमात्रै ओगटेको छ । यसो हुनुको कारण निगमको अव्यवस्थापन र भ्रष्टाचार हो ।
वायुसेवाको व्यवसाय निकै चुनौतीपूर्ण हुन्छ । सानो निर्णयले पनि कुनै कम्पनी उचाइमा पुग्छ भने कुनै कम्पनी टाट पल्टन्छ । वायुसेवाको व्यवस्थापन पक्ष पनि विशेष खालको हुन्छ । त्यस्तो व्यवस्थापन नहुँदा पनि यसको व्यवसाय डाँवाडोल हुन पुग्छ । भारतको किङफिसरदेखि नेपालकै नेकोन एयर यसका उदाहरण हुन् । ती निजी कम्पनी भएकाले व्यवसाय गर्न नसकेपछि बन्द भएका हुन् तर नेपाल वायुसेवा निगम भने सरकारी भएकाले यो न बन्द हुन सकेको छ न त राम्ररी सञ्चालन नै । तैपनि निगमलाई जोगाइराख्न पाए दलहरूका लागि भ्रष्टाचार गर्न दुहुनो गाईसरह साबित हुने भएकाले यसलाई निजीकरण गर्न तयार देखिएका छैनन् । राम्रो होइन, हाम्रो मान्छे नियुक्त गर्ने गरिएकाले यसको नेतृत्व मन्त्रीसँगै फेरिने गरेको छ र कुनै पनि सुधारका कार्यक्रम अघि बढ्न सकेका छैनन् ।
सरकारले निगम सुधारकै लागि नौओटा अध्ययन समिति बनायो । अध्ययन समितिहरूले दिएका सुझाव अध्ययन गर्ने समितिसमेत बनाएको पाइन्छ । सबैजसो समितिले निगमलाई सार्वजनिक निजी साझेदारीको अवधारणमा सञ्चालन गर्ने वा कुनै न कुनै रूपमा निजीक्षेत्रलाई प्रवेश गराउने सुझाव दिए पनि त्यसलाई कुनै पनि सरकारले कार्यान्वयन गर्न चासो दिएनन् । खासमा सरकार निगमलाई सुधार गर्नै चाहँदैन, यस्तै अव्यवस्थामा चलिरहे भ्रष्टाचार गर्न र आफन्तलाई नियुक्ति दिन सजिलो हुन्छ भन्ने सोचेरै यसो भएको हो भन्ने धेरैको भनाइ पाइन्छ ।
पछिल्लो समय १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए र त्यसबाट विदेशी वायुसेवा कम्पनीले प्रशस्त कमाए । वायुसेवा निगमले भने व्यवसाय गर्न नसकेर ऋणको साँवा र ब्याज भुक्तानी गर्न सकेको छैन ।
निगम नेपालमा भएका सबैभन्दा ठूला भ्रष्टाचारको स्रोत हो । धमिजा काण्ड, चेज एयर काण्ड, लाउडा काण्ड यसका प्रमुख काण्ड हुन् । टिकट एजेन्ट नियुक्तिदेखि विमान खरीद वा भाडामा लिनेसम्मका काममा सर्वत्र भ्रष्टाचार गरेर निगमलाई उठ्नै नसक्ने पारिएको छ । कर्मचारीले गर्ने सानोतिनो भ्रष्टाचारको त गणना नै छैन । पछिल्लो समय भने न्यारोबडी र वाइडबडी विमान खरीदमा भएको भ्रष्टाचारमा अख्तियारले मुद्दा दायर गरिरहेको छ । यसमा तोकिएको स्पेशिफिकेशनभन्दा कमजोर क्षमताको विमान आयात भएको र त्यस्तो जान्दाजान्दै आयातको रकम भुक्तानीका लागि अनुमति दिएको आधारमा पूर्वपर्यटन मन्त्री जीवनबहादुर शाहीसहित ३२ जनालाई भ्रष्टाचारको अभियोग लगाइएको छ । निगम सुधारका लागि मन्त्रीहरूले प्रयास नगरेका होइनन् तर मन्त्री नै धेरै नटिकेपछि तिनको काम त्यतिकै रोकिने र नयाँ मन्त्रीले तिनलाई निरन्तरता नदिने गरिएको छ । यसो गर्नुको कारण पनि भ्रष्टाचार नै हो भन्ने देखिन्छ ।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख माध्यम पर्यटन हो । पछिल्लो समय १० लाखभन्दा बढी पर्यटक नेपाल भित्रिए र त्यसबाट विदेशी वायुसेवा कम्पनीले प्रशस्त कमाए । वायुसेवा निगमले भने व्यवसाय गर्न नसकेर ऋणको साँवा र ब्याज भुक्तानी गर्न सकेको छैन । यसो हुनुको प्रमुख कारण भ्रष्टाचार नै हो । त्यसैले अब निगमलाई पूर्ण व्यावसायिक बनाइनुपर्छ । त्यसका लागि निजीकरण नै सबैभन्दा उत्तम विकल्प हो । यसको मोडालिटी विभिन्न हुन सक्छन् । यसो गर्न नसके विदेशी रणनीतिक साझेदार ल्याउनेलगायत विकल्पमा जान ढिला गर्नु हुँदैन ।