काठमाडौं । अधिकांश निर्जीवन बीमा कम्पनीले नियामक निकायले तोकेअनुसार चुक्ता पूँजी पुर्याउन सकेका छैनन् । प्राधिकरणले पूँजी वृद्धि गर्ने म्याद पटकपटक थपे पनि अधिकांश निर्जीवन बीमा कम्पनीले तोकिएको पूँजी पुर्याउन नसकेका हुन् ।
नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) ले २०७८ चैतमा जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । शुरूमा प्राधिकरणले २०७९ चैतभित्रै उक्त चुक्ता पूँजी कायम गर्न भनेको थियो । पछि प्राधिकरणले तोकिएको पूँजी कायम गर्ने म्याद बढाएर २०८० असार मसान्तसम्म पुर्यायो । अहिले फेरि थपेर आगामी असार मसान्तसम्म पुर्याएको छ ।
चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीमध्ये पाँचओटाले मात्रै तोकिएको चुक्ता पूँजी कायम गरिसकेको देखिन्छ ।
तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार हिमालयन एभरेष्ट, सगरमाथा लुम्बिनी, शिखर, आइजीआई प्रुडेन्सियल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नियामक निकायले तोकेबमोजिमको चुक्ता पूँजी कायम गरिसकेका छन् ।
बीमा कम्पनीहरूको कारोबार बढ्दै गएको सन्दर्भमा पूँजीका हिसाबमा तिनलाई बलियो बनाउन पूँजी वृद्धि गर्न निर्देशन दिइएको प्राधिकरणको भनाइ छ ।
नेपाल बीमा प्राधिकरणका कानून विभाग प्रमुख साम्भराज लामिछानेले पूँजी वृद्धिका लागि तोकिएको समयसीमा सकिएसँगै धेरैपटक कम्पनीहरूलाई पूँजी पुर्याउन प्राधिकरणबाट दबाबस्वरूप निर्देशन दिएको बताए । पछिल्लो समय पूँजी नपुर्याएका कम्पनीहरूलाई आगामी असार मसान्तसम्म अन्तिम समयसीमा तोकेर निर्देशन दिइएको समेत उनले जानकारी गराए ।
लामिछानेका अनुसार तोकिएको म्यादभित्र पूँजी वृद्धि गर्न कम्पनीहरू चुके पनि हालसम्म कसैलाई कारबाही भने गरिएको छैन । ‘आगामी असार मसान्तसम्म पनि पूँजी नपुर्याएको खण्डमा बीमा ऐनबमोजिम कारबाही गर्ने चेतावनी बीमा कम्पनीहरूलाई दिइसकिएको छ,’ उनले भने ।
कतिपय निर्जीवन बीमा कम्पनीले हकप्रर्द शेयरलाई पूँजी वृद्धि गर्ने माध्यम बनाएकाले आगामी असार मसान्तसम्म पनि तोकिएको चुक्ता पूँजी कायम हुने सम्भावना कम देखिन्छ । हकप्रद शेयर निष्कासनका लागि अनुमति दिने नियामक निकाय नेपाल धितोपत्र बोर्ड हाल नेतृत्वविहीन अवस्थामा छ । गत पुस १९ गतेपछि सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया रोकिएको छ । बजेटअघि बोर्ड अध्यक्ष नियुक्त नहुने तर्क सम्बद्ध निकायले गरिरहँदा हकप्रद निष्कासनका लागि आवेदन दिएका दुई निर्जीवन कम्पनीले असारभित्र हकप्रद विक्री गरी पूँजी कायम गर्ने सम्भावना कम छ ।
गत कात्तिक २ गते एनएजली इन्स्योरेन्सले ६६ प्रतिशत र चैत ६ गते नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएका थिए । प्रारम्भिक चरणमै रहेको यी कम्पनीको आवेदन स्वीकृति प्रक्रिया केही समय लम्बिने देखिन्छ ।
यीबाहेक नेपाल, सानिमा जिआईसी, प्रभु, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीले हालसम्म तोकेबमोजिमको चुक्ता पूँजी कायम गर्न सकेका छैनन् । विदेशी कम्पनीका रूपमा सञ्चालित नेशनल र ओरिएण्टल इन्स्योरेन्सको केन्द्रीय कार्यालयले नेपालमा भएको दायित्व रकम भुक्तानी गर्ने ग्यारेन्टी पत्र प्राधिकरणमा पेश गरेको र सोही बराबरको पूँजी कोषमार्फत कायम गरिएको प्राधिकरणका कानून विभाग प्रमुख लामिछानेले जानकारी दिए ।
विदेशी कम्पनीबाहेक पूँजी पुर्याउन बाँकी ७ कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीलाई सबैभन्दा धेरै पूँजी आवश्यक पर्छ । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ मात्र छ । हाल कायम चुक्ता पूँजीको आधारमा कम्पनीलाई थप २ अर्ब २३ करोड ३३ लाख ६१ हजार रुपैयाँ पूँजी आवश्यक छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवहरि श्रेष्ठले नियामक निकायले तोकेबमोजिमको पूँजी कायम गर्न कम्पनी तयारी अवस्थामा रहेको बताए ।
३ अर्ब ७७ करोड रुपैयाँ वितरणयोग्य रकम रहेको यस कम्पनीले उक्त रकमलाई पूँजीकरण गरेर आगामी दिनमा नियामक निकायले तोकेबमोजिमको पूँजी कायम गर्ने श्रेष्ठले बताए ।
यो कम्पनी नेपाल सरकारको स्वामित्वमा रहेको एक्लो निर्जीवन बीमा कम्पनी हो । राष्ट्रिय बीमा संस्थानबाट अलग भएर २०७१ साल साउन १८ गतेदेखि निर्जीवन बीमा व्यवसाय गर्दै आएको यो कम्पनीले पछिल्लो आवको वित्तीय विवरण स्वीकृत गर्न नसक्दा लाभांश वितरणमा रोक लाग्दै आएको छ ।