हेलसिन्की (फिनल्यान्ड) । फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले तेस्रो त्रैमासिकमा खुद नाफामा ३२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।
कम्पनीका अनुसार तेस्रो त्रैमासिकमा ४.३ अर्ब युरो (४.७ अर्ब डलर)को कारोबार भएको छ, जुन एक वर्षअघिको तुलनामा आठ प्रतिशत कम हो । यो ब्लूमबर्गको सर्वेक्षणले गरेको अनुमानभन्दा पनि कम हो।
कम्पनीले क्लाउड र नेटवर्क सेवाहरूमा भएको लगानीले विक्रीलाई प्रभावित गरेको जनाएको छ ।
नोकियाका प्रमुख कार्यकारी पेक्का लुन्डमार्कले भने, ‘सुधारिएको उत्पादनसँगै उत्पादन लागत घटाउँदा मुनाफा ३२ प्रतिशतले बढेर १७ करोड ५० लाख युरो पुगेको छ।’
उनका अनुसार कम्पनीले आफ्नो सञ्चालन मुनाफा २.३ अर्बदेखि २.९ अर्ब युरोको बीचमा राखेको छ। यद्यपि खुद विक्रीको रिकभरी अपेक्षा गरेभन्दा ढिलो भइरहेको उनले बताए ।
फिनल्यान्डको बजार अनुसन्धान फर्म टेन्डर्सका विश्लेषक अट्टे रिकोलाले एएफपीलाई बताएअनुसार नोकियाको आम्दानीको विकास केही अपवादबाहेक अपेक्षाअनुरूप नै भएको छ । रिकोलाले भने, ‘नोकियाको खुद विक्री एक वर्षदेखि घट्दै गएपनि अहिले भने सामान्य सुधारको अपेक्षा गरिएको छ । खुद विक्री अझै घटेको छ किनभने बजारमा सुधार अपेक्षित रूपमा छिटो हुन सकेको छैन ।’
रिकोलाले नेटवर्क व्यवसायमा चुनौती रहेको भन्दै नोकियाका लागि अर्को एक वर्ष कठिन हुने अपेक्षा गरिएको बताए । उनले भने, ‘अर्को वर्ष आम्दानी नबढ्ने अनुमान गरिएको छ ।’
नोकिया, स्वीडेनको एरिक्सन र चीनको हुवावेजस्ता प्रमुख दूरसञ्चार उपकरण निर्माताहरूले आफ्ना ग्राहकहरू अर्थात् टेलिकम अपरेटरहरूको लगानीमा मन्दी र भारतमा सुस्त वृद्धिको सामना गरेका छन्।
रिकोलाले भने, ‘अझै धेरै वर्षसम्म बजार वृद्धि कायम राख्न कठिन हुनेछ।’
एरिक्सन र नोकियाले फाइभजी उपकरणको माग कम हुँदै गएपछि लागत र रोजगारी कटौती गरिरहेका छन् । नोकियाले गत वर्ष अक्टोबरमा ८६ हजार कर्मचारीमध्ये १४ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको थियो ।
एरिक्सनले यस साताको तेस्रो त्रैमासिकमा विक्रीमा चार प्रतिशतले गिरावट आएको जनाएको छ । रासस/एएफपी