काठमाडौं ।‘न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२४’को चौथो संस्करण आज (शुक्रवार) सम्पन्न भएको छ ।
न्यू बिजनेश एजको आयोजनामा भएको कार्यक्रमअन्तर्गत उद्यम तथा व्यवसाय गर्दै आएका महिलालाई विभिन्न ६ विधामा १२ जनालाई अवार्डस् वितरण गरिएको छ, जसमा सातै प्रदेशका एक-एक जनालाई ‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ विधामा अवार्ड्स दिइएको छ ।
यस्तै, ‘प्रोफेसन वुमन अफ एक्सलेन्स’, ‘पायोनियर सोसियल आन्त्रपे्रनर अफ दि इयर’, ‘वुमन इन टेक’ र ‘दि बेस्ट वुमन आन्त्रप्रेनर’ विधामा देशभरबाट एक-एक जनालाई अवार्ड दिइएको छ, जसमा ‘प्रोफेसन वुमन अफ एक्सलेन्स’ विधाको अवार्ड इनड्राइभकी निर्देशक रिता पोखरेलले पाएकी छन् ।
यसैगरी, ‘पायोनियर सोसियल आन्त्रप्रेनर अफ दि इयर’ विधामा इडुकेशकी सहसंस्थापक वेदिका मुरारकाले अवार्ड पाउँदा ‘वुमन इन टेक’को अवार्ड अलोईकी सहसंस्थापक सोनिका मानन्धरले जितेकी छन् । ‘दि बेस्ट वुमन आन्त्रप्रेनर’ विधाको अवार्ड भने श्री किशान इन्नोभेसन हबकी मौसुमी श्रेष्ठले पाएकी छन् ।
‘इमर्जिङ इन्टरप्राइजिङ वुमन अफ दि इयर’ विधामा कोशी प्रदेशबाट ताप्लेजुङस्थित चन्दन फाइबर उद्योगकी माया गुरुङ, मधेशबाट धनुषास्थित सुनैना आर्टस्की सुनैना ठाकुर, बाग्मतीबाट काठमाडौंस्थित बेल्ला कासाकी सपना सापकोटा र गण्डकीबाट कास्कीस्थित कर्णाली गार्मेन्ट उद्योगीकी गीता नाथ छन् ।
यस्तै, लुम्बिनीबाट बाँकेस्थित बाँके पोल्ट्री फर्मकी गीता कुमारी कोइरी मौर्य, कर्णालीबाट सुर्खेतस्थित श्रमजीवी मसला उद्योगकी भूमिसरा टोमटा र सुदूरपश्चिमबाट डडेलधुरास्थित ग्रिन माउन्टेन कृषि विकास फर्मकी सावित्री ओझाले उक्त अवार्ड पाएकी छन् ।
अवार्ड्सअन्तर्गत हस्तकला उद्यमी श्यामवदन श्रेष्ठ ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड इन वुमन आन्त्रप्रेनरशीप’बाट सम्मानित गरिएको छ ।
यसरी छानिए बिजेता
कार्यक्रममा स्वतन्त्र निर्णायक मण्डलले विभिन्न विधामा उत्कृष्ट महिला उद्यमीहरूलाई छनोट गरेको थियो । निर्णायकले विभिन्न विधाको अवार्ड विजेता छान्न चार आधार तय गरेको थियो, जसमा नियमनको अनुपालना अर्थात् फर्म दर्ता कर नियमको पालना, सामाजिक प्रभाव/अर्थतन्त्रमा योगदान, उद्यमीको पृष्ठभूमि र सामाजिक प्रतिष्ठा तथा नवप्रवर्तन र प्रविधिको प्रयोग छन् ।
‘स्ट्रेन्दनिङ वुमन्स बिजनेश लिडरशीप’थिममा प्यानल छलफल
अवार्ड वितरणअघि ‘स्ट्रेन्दनिङ वुमन्स बिजनेश लिडरशीप’थिममा प्यानल छलफल गरिएको थियो, जसमा वक्ताको रूपमा राष्ट्रिय योजना आयोगको आर्थिक व्यवस्थापन माहाशाखाका प्रमुख एवं सहसचिव महेश भट्टराई, टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्वस्तिका श्रेष्ठ र इम्प्याक्ट हब, काठमाडौंकी कार्यकारी निर्देशक पद्माक्षी राणा थिए ।
उक्त छलफलमा स्टार्टअप डिस्कभरी एशियाकी सहसंस्थापक एवं कार्यक्रम प्रमुख समानता थापाले सहजकर्ताको भूमिका निर्वाह गरेकी थिइन् ।
न्यू बिजनेश एजले आयोजना गरेको उक्त कार्यक्रमको उद्घाटन गभर्नर महाप्रसाद अधिकारीले गरेका थिए ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक (नेपाल) लिमिटेड प्रायोजक रहेको उक्त कार्यक्रमको अन्य प्रायोजकमा साल्ट ट्रेडिङ कर्पोरेशन, डोभ, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालय एयरलाइन्स, कजरिया, एनएलजी इन्स्योरेन्स कम्पनी, ओमोडा ईभी, रिलायबल लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक र कृषि विकास बैंक छन् । यस्तै जीवन बीमा पार्टनरको रूपमा आईएमई लाइफ इन्स्योरेन्स रहेको छ ।
कार्यक्रमअन्तर्गत उद्यम तथा व्यवसाय गर्दै आएका सातओटै प्रदेश, महिला उद्यमशीलता र सशक्तीकरणमा लामो समय बिताएमध्ये एक जना महिला र उद्यमको क्षेत्रगत विधामा योगदान दिएका महिलालाई प्रोत्साहन गर्न न्यू बिजनेश एजले सन् २०२१ देखि यो कार्यक्रम गर्दै आएको छ ।
न्यू बिजनेश एजले यो लगायत अन्य विभिन्न कार्यक्रम पनि गर्दै आएको छ ।