काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पाँचथर पावर कम्पनी लिमिटेड १२ करोड ५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ ।
गत असारमा आएको बाढीले कम्पनीले निर्माण गरेको विद्युत् आयोजनामा क्षति पुर्याएपछि अहिले आयोजनाको पुनः निर्माण तथा मर्मत भइरहेकाले विद्युत् विक्री आम्दानी हुन सकेको छैन । जसका कारण अघिल्लो त्रैमासको तुलनामा यो त्रैमासमा कम्पनीको नोक्सानी बढेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनी १० करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । गत वर्षको तेस्रो त्रैमाससम्म भने कम्पनी ८ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफामा थियो । यस वर्ष कम्पनीको वित्तीय खर्च बढेको छ । गत वर्ष ९ करोड ३४ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ११ करोड ९० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ छ । जगेडा कोष रकम भने कम्पनी खुद नोक्सानीमा गएसँगै १ करोड ७९ लाख रुपैयाँभन्दा बढी ऋणात्मक भएको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम १३ करोड ५६ लाख रुपैयाँभन्दा बढी थियो । दीर्घकालीन कर्जा ७७ करोड ८७ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने देखिएको छैन । तेस्रो त्रैमाससम्म १३ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ १३ पैसा छ ।