काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । यस्तो मल महानगरले वृक्षरोपण गरेका रूखहरूमा हाल्ने र बढी भएमा स्थानीयलाई दिने महानगरको भनाइ छ । महानगरको यो निर्णय सकारात्मक छ । तर, कार्यान्वयन हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन । फोहोर व्यवस्थापन राम्ररी गर्न नसके बञ्चरेडाँडाको फोहोर विसर्जन केन्द्रले केही वर्षमात्रै धान्ने देखिन्छ । अझ फोहोरका कारण स्थानीय बासिन्दाले अनेक समस्या भोग्नुपरेकाले उनीहरूले सरकारसँग विभिन्न मागसमेत राखेका छन् । त्यसैले बञ्चरेडाँडा भरिएपछिको विकल्पबारे सरकार तयार भएको देखिँदैन ।
संवैधानिक प्रावधानअनुसार फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको हो । तर, नेपालका अत्यधिक स्थानीय तहले यसलाई आफ्नो महत्त्वपूर्ण कार्यका रूपमा लिएको पाइँदैन । त्यही भएर जनतासमेत जागरुक देखिएका छैनन् । बञ्चरेडाँडाको स्थानीयले विरोध गरेर त्यहाँ फोहोर फाल्न नदिएपछि बेलाबेलामा फोहोरको समस्या झनै समस्यापूर्ण बनेको छ । त्यति बेला स्थानीय सरकारका प्रतिनिधि, संघीय सरकार र केन्द्रबाट पीडित स्थानीयबीच सहमति भई फोहोर फाल्न थालिएको थियो । तर, दुर्भाग्य फोहोर व्यवस्थापनका लागि उल्लेख्य काम भएको छैन । संसारभरि नै फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण रहँदै आएको छ । कतिपय देशले फोहोरबाट बिजुली निकालिरहेका छन् । नेपालले पनि त्यस्तै गर्नुपर्ने आवाज उठे पनि स्थानीय र संघीय सरकार दुवैले फोहोर व्यवस्थापनलाई गम्भीरताका साथ नलिएको हो कि भन्ने देखिएको छ । अहिले मल प्रशोधन केन्द्र बनाउने तयारी महानगरले गरेको छ जुन स्वागतयोग्य कुरा हो ।
दैनिक हजारौं टन उत्सर्जन हुने फोहोर कुनै एक ठाउँमा लामो समयसम्म विसर्जन गर्न सकिँदैन । त्यसले विविध समस्या ल्याउने भएकाले काठमाडौं महानगरले प्रभावकारी कदम चालोस् र फोहोरलाई मोहोर बनाउने अभियान सफल बनोस् ।
फोहोरबाट मल बनाउनु एउटा विकल्प भए पनि यो कत्तिको प्रभावकारी हुन्छ भन्ने कुरा केही वर्ष प्रयोगमा आएपछि मात्रै भन्न सकिन्छ । शहरमा जम्मा हुने फोहोर विभिन्न किसिमका हुन्छन् । फोहोरको प्रकृति हेरी कुनै फोहोरबाट ऊर्जा उत्पादन गर्न सकिन्छ भने कुनै फोहोरबाट मल उत्पादन गर्न सकिन्छ । तर, यसतर्फ महानगरको ध्यान गएको छैन । बञ्चरेडाँडामा फोहोर फाल्न दिएपछि आफैले गरेको हस्ताक्षरको बुँदासमेत कार्यान्वयन भइरहेको छैन । फोहोरको पहिलो व्यवस्थापन भनेको स्रोतमै फोहोरको वर्गीकरण हो । त्यसैले कुहिने र नकुहिने फोहोर अलगअलग दिन उठाउने वा वर्गीकरण गरेर उठाउने निर्णय गरिएको तर यो निर्णय भने लागू भएन । अहिले पनि फोहोर संकलन गर्दा केही वडामा बाहेक अन्यत्र यो निर्णय लागू भएको पाइँदैन । फोहोर संकलन गर्दा नै यसलाई वर्गीकरण गरिएन भने फोहोर व्यवस्थापन झनै चुनौतीपूर्ण हुने देखिन्छ ।
एक निजी कम्पनीले फोहोरलाई मोहर बनाउँm भन्ने अभियान चलाए पनि कम्पनीले काम गर्न पाएन । महानगर आफैले फोहोरबाट मल आदि निकाल्नुभन्दा कुनै एक कम्पनीलाई करारमा दिनु उपयुक्त हुन सक्छ । स्रोतमै वर्गीकरण गर्दा फोहोर पुन:प्रयोग हुने वा नहुने आदि छुट्याउन सजिलो हुन्छ । त्यसैले मल वा ऊर्जा क्षेत्रमा फोहोर उपयोग गर्न वर्गीकरण आवश्यक पर्छ । त्यसो गर्न सके फोहोरबाट मोहर फल्न सक्छ ।
काठमाडौं महानगरपालिकाको टेकुमा फोहोरबाट बिजुली उत्पादन गर्न सकिने मेशिन ल्याए पनि त्यो विगतदेखि नै प्रयोगमा ल्याइएको छैन । यस्तोमा बञ्चरेडाँडामा गाडीमा फोहोर लगेर विसर्जन गर्न ठूलै कम्पनी चाहिने देखिन्छ । विश्वभरि नै आफ्नो शहरमा जम्मा भएको फोहोरको सही विसर्जनका अनेक अभ्यास र मोडल छन् । कामपासँग पर्याप्त स्रोत भएकाले छरितो मोडल अपनाउन ढिला गर्नु हुँदैन । काठमाडौंका वर्तमान मेयर पेशाले इन्जिनीयर भएकाले यो समस्याको निकासका लागि ठोस कदम चालिने अपेक्षा गरे पनि त्यो अपेक्षा अझै पूरा भएको छैन ।
दैनिक हजारौं टन उत्सर्जन हुने फोहोर कुनै एक ठाउँमा लामो समयसम्म विसर्जन गर्न सकिँदैन । त्यसले विविध समस्या ल्याउने भएकाले काठमाडौं महानगरले प्रभावकारी कदम चालोस् र फोहोरलाई मोहोर बनाउने अभियान सफल बनोस् ।