काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा बिहीवार (भोलि) हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ ।
कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ । बोनस शेयरपछि पूँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।
यस्तै, सभाले चुक्ता पूँजी २ अर्ब ५० करोड पुर्याउन हकप्रद शेयर निष्कासन गर्ने वा अन्य विकल्प भए सोहीबमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख ६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।