पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । त्यसैले पोखरालाई २०८० चैत ४ गतेबाट नेपालकै पर्यटकीय राजधानी घोषणा गरिएको छ । पोखराको प्रमुख आकर्षण तथा गन्तव्यहरूमध्ये पश्चिम पोखरामा, फेवाताल (ताल वाराही मन्दिर, लेक साइड, रत्न मन्दिर, हेमागृह, वसुन्धरा पार्क), विश्व शान्ति स्तुप, साराङकोट, महेन्द्र गुफा, पातले झरना, गुप्तेश्वर गुफा, चमेरे गुफा, अन्तरराष्ट्रिय पर्वतीय संग्रहालय, अन्नपूर्ण पुतली संग्रहालय, विन्ध्यवासिनी मन्दिर, मट्टीखान भ्यूटावर, बन्जीजम्प हेम्जा, कोमागाने पार्क, सेतीबाँध, गोरखा संग्रहालय, पोखरा क्षेत्रीय संग्रहालय, भद्रकाली मन्दिर, केआईसिं पुल आदि छन् ।
पूर्वी पोखरामा बेगनास ताल (देउराली मन्दिर, पचभैयाकोट, गोरखनाथ मन्दिर, स्याङ्गखुदी वाटर फल्स, चक्रदेवी मन्दिर, लिवर्ड सीड सेन्टर, सुन्दरीडाँडा भ्यूटावर, मंगल धर्मचक्र बौद्ध गुम्बा, सीता गुफा, बेगनास ठूली पोखरी, रूपा ताल, मैदी ताल, दिपाङ ताल, रूपाकोट, चिसापानी देवी मन्दिर, पोखरा जुओजिकल पार्क, बृहत् शान्ति अन्तरराष्ट्रिय पार्क, बूढा महादेव मन्दिर आदि छन् ।
पोखराको मुटुचाहिँ फेवाताल हो । फेवाताल जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल सराङ्कोट तलबाट शुरू भएर ड्यामसाइड हुँदै पुम्दीभुम्दीको माथिल्लो क्षेत्रसम्म फैलिएको छ ।
पोखरा उपत्यकामा रहेको फेवा ताल आन्तरिक तथा बाह्य पर्यटकमाझ लोकप्रिय छ । फेवा गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो । यो तालमा माछापुच्छ्रे र अन्नपूर्ण हिमालको मनोरम प्रतिबिम्ब देख्न सकिन्छ । यी दृश्यले सबैको मनलाई आनन्द र हर्ष प्रदान गर्छ । घाम झुल्किँदा र अस्ताउँदाको दृश्य पनि एकदमै हर्षलाग्दो र मनलाई प्रफुल्लित बनाउने हुन्छ ।
यो शताब्दीको शुरूदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पूँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि प्राप्त गर्दै पर्यटकीय क्षेत्रबाट लाभ लिएको पाइन्छ ।
फेवा तालभन्दा ठूलो गण्डकीमा पर्ने बेगनास ताल हो । फेवा ताल समुद्रको सतहदेखि ७४२ मीटर (२४३४ फीट) को उचाइमा अवस्थित छ । यस तालको क्षेत्रफल ५ दशमलव ७६२ वर्ग कि.मी. अर्थात् ११ हजार २ सय ५५ रोपनी रहेको छ । यस तालको औसत गहिराइ ८ दशमलव ६ मीटर (२८ फीट) रहेको छ भने अधिकतम गहिराइ २४ मीटर (७९ फीट) रहेको छ । यस तालको अधिकतम जल क्षमता लगभग ४,३०,००,००० क्यूबिक मीटर रहेको छ ।
यस तालको उत्तर दिशामा अन्नपूर्ण शृंखला रहेको छ, जुन २८ किमीको दूरीमा छ । यो ताल माछापुच्छ्रे, अन्नपूर्ण र धवलागिरि तथा अन्य पर्वतको टाकुराको प्रतिबिम्बका लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ । फेवातालसँगै जोडिएको बसुन्धरा पार्क र कोमागाने पार्कले फेवातालको सुन्दरता थपेको छ । फेवाताल भक्तजनहरूका लागि धार्मिक स्थल पनि हो ।
फेवातालको बीचमा रहेको तालवाराही मन्दिर प्रसिद्ध धार्मिक स्थलका रूपमा परिचित छ । जहाँ दिनहुँ हजारौं भक्तजन पूजाआराधना गर्न आउने गर्छन् । त्यही मन्दिर परिसरमा बसेर फेवातालको चारैतिर दृश्यावलोकन गर्दै फेवा सुन्दरताको रसास्वादन गर्न सकिन्छ । उक्त तालवाराही मन्दिर दर्शनका लागि डुङ्गा शयर अनिवार्य छ । फेवातालको सुन्दरता सराङ्कोटबाट पनि अवलोकन गर्न सकिन्छ । प्याराग्लाइडिङ र अल्ट्रालाइट (पुतलीजहाज) बाट पनि फेवातालको दृश्यावलोकन गर्न सकिने भएकाले यसको मज्जा नै छुट्टै हुन्छ । हिजोआज साहसिक खेलको रूपमा पनि प्याराग्लाइडिङ र अल्ट्रालाइटबाट फेवाताल घुम्नेको भीड नै लाग्ने गर्छ ।
गण्डकी मौलिक कला, संस्कृतिले भरिपूर्ण प्रदेश हो । त्यहाँ रहेका ऐतिहासिक सम्पत्ति अमूल्य गहना हुन् । नेपालमा घुमफिरको संस्कृतिले व्यापकता पाउँदै आएको छ । यसरी घुमफिरको समूहको ठूलो संख्या गण्डकी प्रदेशका विभिन्न पर्यटकीय तथा धार्मिक स्थलको सर्किट नै बनाई अवलोकन गर्ने व्यवस्था मिलाउनुपर्छ ।
पर्यटकीय राजधानी पोखराबाहेक यस प्रदेशमा विभिन्न ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलहरू छन् त्यसमध्ये स्याङ्जाको सिरुबारी तथा आलमदेवी, तनहुँको बन्दीपुर, लमजुङको घलेगाउँ, मुस्ताङको मुक्तिनाथ, लोमान्थाङ क्षेत्र, गोरखाको मनकामना तथा गोरखा दरबार, म्याग्दीको पुनहिल, घोडेपानी, बागलुङको बागलुङ कालिका, मनाङको तिलिचो ताल, नवलपरासीको मौलाकालिका आदि मुख्य पर्यटकीय क्षेत्र हुन् ।
कास्कीको कास्कीकोट, स्यालुङकोट, अन्नपूर्ण बेसक्याम्प, रूपाकोट, मनाङको डोना ताल, गंगापूर्ण ताल, छो कर्णताल, मुस्ताङको गुम्बा ताललगायत विभिन्न गुफा, बागलुङको पञ्चकोट, घुम्टेको लेक, ढोरपाटन, म्याग्दीको गलेश्वर धाम, धवलागिरि बेसक्याम्प, रूपेश छहरा, तातोपानी र गुर्जा आदि सम्भावना बोकेका क्षेत्र हुन् । त्यस्तै पर्वतको जलजला, पञ्चधाम, पैयुँकोट, सेतीवेणी शालिग्राम शिला, स्याङ्जाको भालुपहाड, नुवाकोट कालभैरव मन्दिर, सातौं चण्डीथान, गह्रौंकालिका, अन्दाअन्दी, छाया क्षेत्र, राम्दीधाम, वराहकोट र कोल्माकोट पनि पर्यटकीय सम्भावना बोकेका क्षेत्र हुन् । लमजुङको लमजुङ दरबार, राइनासकोट, घनपोखरा, सिउरुङ गाउँ, कालेपानी गाउँ, इलिम पोखरी, दूधपोखरी, गोरखाको तल्लो मनासलु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेपोखरी, माडीक्षेत्र, दूधपोखरी, चेपेनदी, नारदपोखरी, मनासलु हिमाल, कोटमार्गको लिगलिग कोट, सिरानचोक कोट, अजिरकोट, सिम्जुङ कोट र अपुनकोट प्रसिद्ध छन् । नवलपुरमा देवचुली, त्रिवेणी गजेन्द्रमोक्ष धाम, शाश्वत धाम, तनहुँमा देवघाट धाम, ढोरवराही, छाब्दीवराही, घाँसी कुवा, तनहुँसुर कालिका तथा दरबार क्षेत्र, भानुभक्त जन्मस्थल, छिम्केश्वरी, वराही आदि छन् ।
पर्यटकीय राजधानी पोखरामा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन आउनु व्यक्ति, समुदाय, प्रदेश र राष्ट्रकै लागि गौरवपूर्ण बनी देश समृद्धिको यात्रामा अघि बढ्न सक्छ । त्यसका लागि प्रभावकारी रूपबाट अन्तरराष्ट्रिय उडान हुन आवश्यक छ । अनिमात्र नेपालकै पर्यटकीय राजधानी पोखराले सार्थकता पाउनेछ ।
विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पूँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूमा मूलत: प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पूँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको शुरूदेखि नै सूचनाप्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पूँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि प्राप्त गर्दै पर्यटकीय क्षेत्रबाट लाभ लिएको पाइन्छ ।
आआफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भूराजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि प्राप्त गर्नुपर्ने अवस्था छ ।
समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्र विन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सृजना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भूधरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचनाप्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु आजको आवश्यकता हो ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्त्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै गण्डकी प्रदेशका जनतालगायत देशका यस्ता अन्य क्षेत्रको प्रवर्द्धन गरी देशभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन अति आवश्यक छ । यस्ता क्षेत्रहरूमा पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक मुख्य उद्योगका रूपमा विकास गरी आर्थिक समृद्धि बढाउनु समयको माग हो ।
पोखराजस्तो अन्तरराष्ट्रियस्तरमा नै प्रख्यात पर्यटकीय हबबाट क्षेत्रीय तथा अन्तरराष्ट्रिय उडान प्रभावकारी रूपमा हुनसके साँच्चै नै पोखराको पर्यटन प्रवर्द्धनमा कोसेढुंगा हुने थियो । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थललाई मुख्य पर्यटकीय लाभका दृष्टिबाट प्रभावकारी रूपमा सञ्चालन गर्ने पक्ष महत्त्वपूर्ण छ । हाम्रो देशको पर्यटकीय राजधानी पोखरामा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन आउनु व्यक्ति, समुदाय, प्रदेश र राष्ट्रकै लागि गौरवपूर्ण बनी देश समृद्धिको यात्रामा अघि बढ्न सक्छ । त्यसका लागि माथि भनेजस्तै प्रभावकारी रूपबाट अन्तरराष्ट्रिय उडान हुन आवश्यक छ । अनिमात्र नेपालकै पर्यटकीय राजधानी पोखराले सार्थकता पाउनेछ ।
लेखक अधिकारी गुणस्तरीय जीवनसम्बन्धी विषयमा विद्यावारिधि प्राप्त व्यक्ति हुन् ।