पूँजीबजारका लगानीकर्ताले जेठमा सरकारलाई बुझाए ७० करोडभन्दा बढी कर, वैशाखको तुलनामा ३४ करोड बढ्यो

Share News

काठमाडौं । पूँजीबजारका लगानीकर्ताबाट जेठ महीनामा मात्र सरकारले ७० करोड ४२ लाख ५२ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ । सरकारले पूँजीबजारका व्यक्तिगत लगानीकर्ता र संस्थागत लगानीकर्ताबाट उक्त पूँजीगत लाभकर संकलन गरेको हो । 

पूँजीबजारको कारोबार राफसाफकर्ता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जेठमा वैशाखको तुलनामा पूँजीगत लाभकर बढेको बताएको छ । सिडिएससीका सूचना अधिकारी सुरेश न्यौपानेले वैशाखमा ३६ करोड २७ लाख ४२ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएकोमा जेठमा ३४ करोड १५ लाख ९ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी दिए । उनका अनुसार जेठमा अल्पकालीन लगानीकर्ताबाट सबैभन्दा बढी ३८ करोड ५५ लाख ९८ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर जेठमा संकलन भएको छ । 

त्यस्तै दीर्घकालीन लगानीकर्ताबाट २३ करोड ३७ लाख ४८ हजार रुपैयाँभन्दा बढी र संस्थागत लगानीकर्ताबाट ८ करोड ४९ लाख ४ हजार रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन भएको जानकारी सूचना अधिकारी न्यौपानेले दिएका छन् ।

पूँजीबजारका लगानीकर्ताले जेठमा भएको नाफाको कारोबारबापत सरकारलाई उक्त रकम बराबरको कर बुझाएका हुन् । 

पूँजीबजारका लगानीकर्ताबाट २०८१ वैशाख र जेठमा संकलन भएको कर 

मिति दीर्घकालीन लगानीकर्ताबाट अल्पकालीन लगानीकर्ताबाट संस्थागत लगानीकर्ताबाट कुल पूँजीगत लाभकर संलकन
 २०८१ वैशाख  114,371,236.64 184,361,966.91 64,009,724.71 362,742,928.26
 २०८१ जेठ 233,748,904.78 385,598,239.85 84,904,900.77 704,252,045.40
वृद्धिको अवस्था  119,377,668.14 201,236,272.94 20,895,176.06 341,509,117.14

स्रोत : सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ।

अर्थतन्त्रको ऐनाको रूपमा हेर्ने गरिएको पूँजीबजारबाट सरकारले महीनामै करिब १ अर्ब कर संकलन भएकाले लगानीकर्ताले पनि यो बजारबाट राम्रै आम्दानी गरिरहेको अनुमान लगाउन सकिन्छ । बजारमा अल्पकालीन लगानीकर्ताको हाबी रहेको पूँजीगत लाभकर संकलनको अवस्थाले नै पुष्टि गर्छ । पूँजीबजारको दीर्घकालीन विकासका लागि संस्थागत लगानीकर्ताको आवश्यकतालाई प्रमुख प्राथमिकतामा राखिए पनि सोचेअनुसारको संख्या बढाउन सकेको अवस्था छैन । 

नेपालमा पूँजीबजारको कारोबारबाट प्राप्त हुने पूँजीगत लाभमा कर लाग्ने व्यवस्था २०५८ साउन १ गतेदेखि लागू भएको पाइन्छ । आयकर ऐन–२०५८ को दफा ८९ (क) अनुसार सूचीकृत कम्पनीहरूको धितोपत्र कारोबारमा सरकारले २०५८ साउन १ गतेअघि खरीद गर्ने खरीदकर्ताहरूले उक्त मितिको अन्तिम मूल्यलाई खरीद मूल्य मानेर आफ्नो लगानी विक्रीवाट प्राप्त लाभमा अग्रिम पूँजीगत लाभकर कट्टा गर्ने व्यवस्था गरेको थियो । 

हाल अर्थमन्त्रालयसँग आम लगानीकर्ताहरूले पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति गरेका छन् । हालको व्यवस्थामा लगानीकर्ताहरूले भारित औसत लागतका आधारमा पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । 

हालको व्यवस्था अनुसार धितोपत्र दोस्रो बजारका लगानीकर्ताहरूले नाफा कमाएको खण्डमा अधिकतम १० प्रतिशतसम्म पूँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ भने व्यक्तिगत लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ । एक वर्षभन्दा बढी धितोपत्र कायम गर्ने लगानीकर्ताहरूलाई दीर्घकालीन र एक वर्षभन्दा कम धितोपत्र कायम गर्ने लगानीकर्ताहरूलाई अल्पकालीन लगानीकर्ताको रूपमा विभाजन गर्दै सरकारले अल्पकालीन लगानीकर्ताका लागि ७ दशमलव ५ प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशत पूँजीगत लाभकरको व्यवस्था गरेको हो ।

जेठमा नेप्सेसँगै बढेको थियो कारोबार रकम 

वैशाख महीनाको तुलनामा जेठमा पूँजीबजार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढेकाले सरकारी कर संकलन पनि बढेको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार वैशाखको अन्तिम कारोबार दिन १ हजार ९९८ दशमलव ८९ विन्दुमा रहेको नेप्से परिसूचक जेठको अन्तिम कारोबार दिन २ हजार ११२ दशमलव २९ विन्दुमा पुगेर बन्द भएको थियो । 

वैशाखको अन्तिम दिनको तुलनामा जेठको अन्तिम दिनको परिसूचकलाई तुलना गर्दा ११३ दशमलव ४ विन्दुले नेप्से माथि उक्लिएको देखिन्छ । जेठमा पूँजीबजारको पूँजीकरण १ खर्ब ७९ अर्ब ९९ करोड रुपैयाँभन्दा बढीले वृद्धि भएको अवस्था छ । 

कारोबार रकम वैशाखको भन्दा जेठमा ४० अर्ब ५९ करोड रुपैयाँभन्दा बढी भएको नेप्सेको तथ्याङ्कले देखाउँछ । वैशाखमा ५९ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको १३ करोड ९१ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा जेठमा १ खर्ब ५१ करोड रुपैयाँभन्दा बढीको २२ करोड ७५ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । 

२०८१ वैशाख र जेठमा नेप्से परिसूचक र धितोपत्र कारोबारको अवस्था

विवरण  जेठ अन्तिमसम्म  वैशाख अन्तिमसम्म  वृद्धिको अवस्था 
नेप्से परिसूचक (अंक)  2,112.29 1,998.89 113.4
कारोबार रकम (रू. दश लाखमा)  100,511 54,914 45,597
कारोबार कित्ता (हजारमा)  227,554 139,173 88,381
कुल बजार पूँजीकरण (रू. दश लाखमा)  3,349,475.46 3,169,484.29 179,991.17

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

नेप्सेको सकारात्मक अवस्थासँगै जेठमा सरकारको आम्दानी पनि सकारात्मक देखिएको छ । पूँजीबजार सकारात्मक गतिमा अघि बढ्दा अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गरी सरकारले कर संकलन गरिरहेको तथ्याङ्क देखिन्छ । यो अवस्थामा सरकारले यो क्षेत्रको विकास र विस्तारलाई प्राथमिकतामा राख्नुपर्नेमा सरोकारवालाहरूले जोड दिइरहेका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।