तीन शहर उहिल्यैदेखि सबैको रहर बन्ने गरेको छ । चिसो चुल्हो पनि भन्छन् यस खाल्डोलाई । तर पनि यहाँ आगो माग्न आउनेको कमी छैन । हेर्नुस् त अर्थ मन्त्रालयमा बजेट माग्ने भीडको गिडगिडाहाट । भीड रोक्न संघीयता ल्याइयो, सिंहदरबार गाउँतिर पठाइयो । यो पाँच वर्षको अवधिमा मात्रै सात प्रदेशले २४ जना प्रदेश प्रमुख, १६ मुख्यमन्त्री र दुई सय ३० मन्त्री पायो । तर भीड चाहिँ संघीय मन्त्रालयतिरै बढ्दो छ । बजेट माग्नेदेखि थाङ्नेहरूसम्म, उखुको भुक्तानी लिनेदेखि ऋण तिर्न नसकेका डुकुहरू सबै यतै भेटिन्छन् । पाउ मलेर आफ्ना मनका घाउमा मल्हम लगाउन जान्नेले राजधानी धाउनै पर्छ । भोकको जोहो गर्नेदेखि शोकको पोको खोल्नेसम्मले राजधानीमा जोतिनैपर्छ । सपना रोप्नेदेखि विपनाको बाली टिप्ने मौका छोप्ने सबैलाई एक टुक्रा काठमाडौं चाहिएको छ । प्रत्येकको भित्र राजधानी जाने, बस्ने र छाउने रहर मात्र नभई कहर नै हुने गरेको छ ।
हरेक नेपालीको राजधानीमा महत्त्वाकांक्षाको एउटा एउटा धरहरा बन्ने गरेको छ, माथि माथि चढ्नका लागि । उसको चारधाम, तीर्थ भनौं वा जीवनको परम लक्ष्य राजधानी नै बन्ने गरेको छ । प्रजातन्त्रको चौतारी, जीवनको बाँकी लक्ष्य पूरा गर्ने कल्पवृक्षको बगैंचा, खुट्टा तान्ने खेल र जालझेल, जहाँ पद, पुरस्कार, चुनावमा टिकट रूखमा झुन्डिरहेको हुन्छ । दाइका राइँदाइँ, भाउजूका पाउजु आलाकमान सबै त्यहीँ भेटिन्छन्, सबै राहतका पोका र आश्वासनका फोका बाँड्ने लाइनमा । जहाँ संगठनका भोजनालय खुलै छन्, तिकडमबाजहरूका लागि । जो स्थायी छत हो ती परेवाका, जो उडिरहन चाहन्छन् आफ्नै ढंगले, आफ्नै रंगले, देशको राजनीतिक, सांस्कृतिक आकाशमाथि ।
सबैको मन, मस्तिष्कमा राजधानी घुसेको छ । पूरै देशको पर्याय लाग्न थालेकोे छ राजधानी । जुम्लामा सिटामोल नपुगोस् केही छैन, तर राजधानी जोड्न चारैतिर बाटो चाहिएको छ । देशमा अन्यत्र महामारी होस् केही छैन, राजधानीको चैनमा बाधा पुग्नु हुन्न । हरेक व्यक्ति ऊ आफ्नो गाउँ ठाउँ, शहर, स्वदेश, विदेश जहाँ बसे पनि विस्तारै विस्तारै एक टुक्रा राजधानी आफ्ना पिठ्युँमा बोकेर घुम्न थालेको छ । जहाँ रहे पनि, उसको आत्मा काठमाडौं राजधानी खाल्डोमै बस्छ । उसको सपनाको लकर बनेको छ राजधानी खाल्डो ।
जसले हिजो राजधानीको विरोध गरे, सुकिला मुकिलाको शहर भनेर युद्ध छेडे, मानिसहरूको प्रगतिको बाटो छेके र विनाकाठमाडौं नै काम चलाउने भनेर भाषण ठोके, क्रान्ति गर्ने भन्दै राजधानी पसे, काठमाडौंका विरोधी अन्तत: काठमाडौंकै कुर्सीमा बुट बजारेर, खुट्टा पसारेर बसे । त्यसैले त प्रदेशमा बसेर प्रदेशकै लागि काम गर्नुपर्ने सातै प्रदेशका मुख्यमन्त्रीहरूका लागि समेत काठमाडौंमा महल ठड्याउनुपरेको देख्नुभएकै छ ।
देशको सबैभन्दा आकर्षक कुर्सी भएको स्थान सिंहदरबारको जस्तै कुर्सी हरेक प्रदेशमा, हरेक वडामा बन्यो । र, प्रत्येक स्थानीय जो त्यो सिंहदरबारको बाटो हिँड्यो, उसले पनि त्यो कुर्सीमा पुग्ने सपना देख्न थाल्यो । अनि त सबै बस र सबै जहाजहरूको अन्तिम स्टेशन बन्यो राजधानी । गाउँको खेतमा जुन बाली अंकुरित र पल्लवित हुन्छ, ती बढेपछि सुकेर राजधानीमा टिपिन्छन् । कुनै गाउँबाट कुनै प्रतिभा उदाएको छ भने उसको पनि अन्तिम ‘एकल प्रदर्शनी’ राजधानीमै हुन्छ । आफ्नो गाउँमा हिट हुन नपाउँदै कुनै पनि कलाकार राजधानीमा फिट हुनुपर्छ । यसरी सबैको भाग्य तय गर्ने लय छ काठमाडौंमा । त्यसैले हाम्रा बाउबाजेले आफ्नो सन्तानको नाइटो काठमाडौंमा गाड्न ल्याउँथे, हामी आकांक्षाको घैंटो भर्न यहीँ गाडिएका छौं ।
हाम्रो जन्मपत्री अर्थात् चिनोको लगनमा घुसेरै बसेको छ, आफ्नो शनि, मंगल र राहु केतुहरूका साथमा राजधानी काठमाडौं । जन्मिनु, हुर्किनु, जहाँसुकै होस्, तर बिस्तरा त राजधानीमै लाग्छ । कलेज पढ्नेदेखि यत्तिकै सड्नेसम्म राजधानीमै हुर्रिन्छन् । व्यवसाय गर्नदेखि विदेशमा छिर्नसम्म राजधानी नपुगी धरैै छैन । काठमाडौं एक ग्रन्थि हो, एक ज्ञान हो र एउटा मनोविज्ञान हो । काठमाडौं–भुसको लड्डु, जसलाई तपाईं न खान सक्नुहुन्छ न छाड्न नै । तपाईंमा अल्झिएको, तपाईंसँग अकारण फसेको । हिजोआजको सिरकजस्तै तपाईंलाई छोड्न नमानिरहेको, तपाईंसँग लुटुपटिएको, लपेटिएको काठमाडौं ।
तमाम इच्छा–आकांक्षा बान्ता गर्नका लागि एक स्थायी वास–मशिन हो काठमाडौं । आत्मामा शरीर, शरीरमा दौरा–सुरुवाल ओढेको काठमाडौं । आशा राख्ने ठाउँ काठमाडौं । आक्रोश पोख्ने ठाउँ काठमाडौं । विद्रोहीलाई दमन र देशद्रोहीलाई नमन गर्ने काठमाडौं । फोस्रा क्रान्तिकारीलाई च्यादर ओडाउने र लासहरूलाई तक्मा बोकाउने काठमाडौं । सम्झौताहरूको स्टक एक्सचेञ्ज काठमाडांै । जनभावनाहरूको दलालका विराट गहना पसल हो काठमाडौं । देशको एउटै मात्र काउण्टर, जहाँ मानिस आफ्ना आवेग डिपोजिट गरेर सुविधाहरू ड्र गर्छन् । आवेश जम्मा गरेर निवेशका रूपमा आर्थिक सहायता प्राप्त गर्छन । काठमाडौं जहाँ देशको हरेक गाउँको युवा जो आफ्नो सम्पूर्ण जीवन धरापमा धितो राखेरै भए पनि दुई छाक खानका लागि, परिवारलाई भोलि सुख दिने उधारो भरोसाका लागि लाइनमा खडा छ ।
तर काठमाडौं यथास्थितिको गौरीशंकर हो, जसमाथि चढ्न कोशिस गर्ने प्र्रत्येक पर्वतारोही जीवनभरि जुत्ताका तुना बाँध्दै तल तल चिप्लिरहन्छ । देशमा कहीँ पनि, केही टाँग्नु छ, अड्याउनु छ भने किला ठोक्ने ठाउँ चैं काठमाडौं नै हो ।
आफ्नो पिँजडाभित्र बसेको हरेक सुगा काठमाडौंको हरियो खुर्सानी टोक्ने सपना देख्छ । आफ्नो जरा, धरा वा आफ्नो जमीनलाई चटक्क छाडेर हरेक गाउँबस्तीले आफ्ना हुनेखाने, जान्नेसुन्ने, अगुवा वा सफल व्यक्तिहरूलाई काठमाडौं खाल्डोमा होमिदिएको छ । काठमाडौं पहिले ताल अर्थात् एक ठूलो कुण्ड थियो रे । अहिले केवल एक विशाल घमण्ड बनेको छ । तर काठमाडौं तिम्रो वा मेरो होइन । यो त केवल उनीहरूको हो, जो यसलाई चलाउँछन् ।
काठमाडौं केवल एउटा भूगोल होइन, यो एउटा प्रतीक हो । नेवाहरू त काठमाडौंलाई एउटा राज्य नै मान्छन् । जय–पराजय, मान–अपमान, आशा निराशा हरहालतमा हरेक नेपाली काठमाडौंसँग टाँसिइरहेका छन् । काठमाडौंको कुर्सीलाई अन्तिम बिस्तरा बनाउन जोड तोडसँग लागिरहेकै छन् । हो, देशमा अहिले कोही पनि आफ्नो गाउँमुखी वा आफ्नो जन्ममुखी छैनन् । उनीहरू सबै काठमाडौंमुखी छन् । मानिसको अन्तिम यात्रा त घाट हो । तर त्यसअघि सुत्नैपर्ने चाहिँ काठमाडौंकै खाट बनेको छ । विदेशीका लागि हेर्न मन लाग्ने शहर, गरीबका लागि कहर, प्रदूषित हावाको जहर काठमाडौं । रहरहरूले डामेको, अभावहरूले छामेको । हाय रे काठमाडौं !
कवि भूपी शेरचनले काठमाडौंलाई चिसो एस्टे्र भन्दै उतिबेलैै लेखेका थिए–
‘...यहाँ जो आउँछन्
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर आउँछन् ...
र यहाँबाट जो जान्छन्
पोल्टाभरि निभेका विश्वास र ठुटा सपनाहरू सोहोरेर जान्छन्
यस्तो छ यो चार भन्ज्याङ खाल्डो...’
आउनोस् तपाईंलार्ई पनि स्वागत छ यो जादू–नगरी काठमाडौं नामधारी खाल्डोमा । आगो बनेर आउनुस् र चिसो खरानी भएर बस्नुस् ।